हरेक वर्ष अंग्रेजी महिनाको मार्च २१ मा संसारभर संगै नेपालमा पनि अन्तर्राष्ट्रिय जातिय विभेद उन्मूलन दिवस मनाउने गरिन्छ । संसारका विभिन्न देश, राज्य, समाज र समुदायमा रहेको जातिय विभेदरुपि २१ औं शताबदीको कलंकलाई नामेट गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो । अझ भनौं संसारमा कुनै न कुनै रुपमा रहेको जातिय विभेदलाई अन्त्य गर्दै समतामूलक समाज निर्माणमा योगदान पुगोस भनेर यो दिवस मनाउने गरिएको हो ।
विकसित भनिएको पश्चिमा समाज होस् वा प्राचिन सभ्यताको उद्गम थलो भनिएको हाम्रो पूर्विय समाज जताततै जातिय विभेद कायमै छ । पश्चिममा काला र गोरा जातिकाबीचमा विभेद छ भने हामी कहाँ कामका आधारमा बनको जात व्यवस्था अन्ततः विभेदको कारक बन्दै समाजमा गहिरोसंग जरा गाडेर बसेको
छ । पश्चिमा समाजमा गोरा जातिले काला जातिलाई गर्ने विभेद विकसित भनिने उक्त समाजका लागि नसुहाउँदो कुरा हो र हामी कहाँ भएको जातका आधारमा गरिने विभेद पनि अत्यन्त नसुहाउने कुरा हो । जो जहाँसुकै र जो कसैको कोखमा जन्मेको किन नहोस्, सबैको नशामा बग्ने रगत रातो नै
हुन्छ । सबैको मन आफुलाई कसैले विभेद गर्दा दुख्छ, अनि सम्मान गर्दा खुसीले फुरुङ्ग हुन्छ । कसैले माया गर्दा हरेक मानवलाई पनि खुसी लाग्छ अनि विभेद र घृणाले उसको पनि मन अमिलो हुन्छ । हरेकलाई बसन्त ऋतु रमाइलो लाग्छ, अनि हरेकको शरिरलाई पानीले भिजाउँछ र घामले न्यानो नै दिन्छ । आफन्तसंगको उठवसमा हरेकलाई रमाइलो अनुभूति हुन्छ अनि तिनीहरुसंग विछोडिनु पर्दा उस्तै गरी मन अमिलो भएर आउँछ । प्रकृतिले मानव जातिलाई कुनैपनि आधारमा विभेद गरेको छैन । जब प्रकृतिले भनौं वा भगवानले मानिसका बीचमा विभेद गरेको छैन भने दुइ दिनको पाहुनाका रुपमा यस धरतीमा आएका हामीले किन आफु जस्तै अर्काे मानिसलाई विभेद गर्ने , किन उँच र निचको भावनाले हेर्ने ? सर्वश्रेष्ठ अनि चेतनशिल प्राणी भनिएका हामी मानिव जातिका लागि यो सुहाउने कुरा भयो र ?
सम्मान पूर्वक बाँच्न पाउने मानिसको अधिकारको सम्मान गर्दै जातका आधारमा हुने विभेदको अन्त्य गर्न सक्दामात्र हामीले परिकल्पना गरेको सम्मुन्नत समाजको निर्माण हुन सक्छ । कानुनले जातका आधारमा गरिने विभेदलाई दण्डनिय भनेको अवस्थामा फेरी उही पुरातन विचारको संवाहक बन्दै जातका आधारमा गरिने विभेदको पक्ष पोषण हुने खालका काम गर्न बन्द गरौं । ज्ञान र सभ्यताका दृष्टिले उर्वर र अग्रणी मानिने हाम्रो पूर्विय समाजका लागि त झन यो अत्यन्त अशोभनिय काम हो । त्यसैले आउनुहोस्,सबै मिली समतामूलक समाज निर्माणमा सघाउन आजैबाट जातका आधारमा हुने सबैखालका विभेद अन्त्यको प्रण गरौं । विभेदरहित समाजको विकास र समृद्धि विभेद सहितको समाजको तुलनामा कयौं गुणा छिटो हुन्छ । जुन हाम्रो कामना र चाहना दुबै हो । विभेद त्याग्न सक्दा हाम्रो समाज सभ्य पनि कहलिन्छ ।
त्यागौं जातिय विभेद
previous post