
व्यास–२, दमौली
तमु ल्होसार तमु (गुरुङ) समुदायले नयाँ वर्षका रुपमा मनाउने एक महत्वपूर्ण पर्व हो । तमु (गुरुङ) भाषामा “ल्हो” ले वर्ग अथावा वर्ष र “सार” ले नयाँ/सर्नु भन्ने जनाउने हुदा ल्होसारलाई नयाँ वर्षका रुपामा मनाउन थालिएको हो । तमु (गुरुङ) समुदायले लगभग २६०७ वर्ष अगाडि देखि ल्होसार पर्व मान्दै आएको दावी गरेता पनि यो पर्व कहिले देखि मनाउन थालिएको हो भन्ने यकिन इतिहास छैन ।
तमु (गुरुङ) समुदायले प्रयोग गर्ने तमु पात्रो अनुसार हरेक वर्ष पुष १५ मा वर्ग फेरीने हुँदा यस दिनलाई नयाँ वर्गको सुरुवात एवं नयाँ वर्षको सुरुवात हुने दिनका रुपमा मनाउन थालिएको हो। तमु पात्रो अनुसार ल्हो (वर्ग) १२ वटा हुन्छन् । ती सबै वर्गहरु विभिन्न पशुपक्षीहरुको नाम बाट राखिएको पाइन्छ ः–
१. च्यु – ल्हो ( मुसा वर्ग)
२. ल्वौ – ल्हो (गाई वर्ग)
३. तो ल्हो (बाघ वर्ग)
४. हि ल्हो ( विराले वर्ग)
५. मिहि–ल्हो(गिद्ध वर्ग)
६.सप्ड्रि–ल्हो (सर्प वर्ग)
७. त ल्हो (घोडा वर्ग)
८. ल्हु–ल्हो (भेडा वर्ग)
९. प्र ल्हो (बाँदर वर्ग)
१०.च्हया ल्हो (चरा वर्ग) ११.खि–ल्हो (कुकुर वर्ग)
१२.फो–ल्हो (मृग वर्ग)
हरेक वर्ष पुष १५ बाट वर्ग फेरीने र हरेक १२ वर्ष पछि सुरुकै वर्ग आउने हुँदा यस दिनलाई विशेष मानिएको हो । हरेका शुभ, अशुभ कार्य गर्दा वर्ग हेरेर मात्र गर्ने हुँदा यसको विशेष महत्व
छ । यस वर्ष सप्ड्रि–ल्हो (सर्प वर्ग) को विदाई र त–ल्हो (घोडा वर्ग) को स्वागत गरी तमु ल्होसार मनाइदैछ । यस वर्ष पुष १५ गते पछि जन्मने बालबालिकाहरु त–ल्हो (घोडा वर्ग) हुनेछन् भने पहिले त ल्हो (घोडा वर्ग) हुदा जन्मेका व्यक्ति १२, २४, ३६…….वर्ष पुग्नेछन् ।
ल्होसार पर्वलाई मूख्य तया कृषि सँग पनि जोडिएको पाइन्छ । तिब्बतमा इसापूर्वको सातौँ शताब्दीतिर भिन्न रुपमा ल्होसार मनाउने गरेको इतिहास पाइन्छ । तिब्बतमा किसानहरुले वर्षे बाली स्याहार्ने बेला कृषि बाली पर्व
(हार्भेस्ट फेस्टिभल) मनाउने
गर्थे । पछि त्यही पर्वलाई ल्होसारका रुपमा रुपान्तरण गरिएको पाइन्छ ।
नेपालमा पनि पुष १५ मा तामु ल्होसार मनाउने हुदा खेतीबाली थन्काई सके पछि वर्ष भरिको थकाइ र कामलाई विर्सन एकदिन दाजुभाई, छोरी चेली, इष्टमित्र, छरछिमेक, साथीभाई सबै एकै ठाउँमा भेला भई यो पर्व मनाइन्छ । यस दिन विवाहित चेलिबेटी बोलाएर खानपिन गराउने र रमाइलो गर्ने हुदा यस दिनले माइती र चेली साथै आफन्तहरु सँगको सम्बन्ध मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको छ ।
तमु ल्होसारका दिन तमु (गुरुङ) समुदायका मानिसहरु आफ्नो जातिय पोसाकमा सजिएर हिड्ने हुदा यस पर्वले संस्कृति, सभ्यता र समग्र पहिचान समेत झल्काउने गर्दछ । ल्होसारको उपलक्ष्यमा सबै गुरुङ समुदायका दाजुभाई दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना ।
