दमौली÷ जिल्ला प्रशासन कार्यालय तनहुँले वैशाख २२ गते बुधबार राती १२ बजे देखि सोही ३१ गते राती १२ बजे सम्म जिल्लाका अधिकांश स्थानमा निषेधाज्ञा जारी गरेको छ ।
विश्वभरि फैलिएको नयाँ प्रजाती (भेरियन्ट) सहितको कोभिड–१९ को महामारी संक्रमण तनहुँ जिल्लामा पनि बढ्दै गएकोले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) ले दिएको अधिकार प्रयोग गरी निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञा जिल्लाको ऋषिङ् गा.पा. को वडा नं. २, ३,४.५,६,७ र ८ तथा घिरिङ गा.प.का सम्पूर्ण वडाहरु बाहेक अन्य क्षेत्रमा लागु हुनेछ ।
निषेधाज्ञाका बेला स्वस्थ्य र सुरक्षाको मापदण्ड पूरा गरेर अत्यावश्यक सेवाहरु जस्तैः एम्बुलेन्स, ग्यास, पेटोलियम पदार्थ, खानेपानी, औषधि तथा उपचार सामाग्रीहरु, स्वास्थ्य संस्था, अस्पताल, दुरसञ्चार, इन्टरनेट, फोहरमैला व्यवस्थापन, बैंकको ए.टि.एम. सेवा, डाँक सेवा र सार्वजनिक निर्माण सम्बन्धि कार्यहरु गर्न पाइने छ भने विहान ५ देखि ९ बजेसम्म तथा बेलुका ५ देखि ७ बजेसम्म खाद्यान्न, तरकारी, फलफूल, दुध र दुधजन्य पदार्थको उत्पादन र बिक्रि वितरण गर्न पाईने छ । निर्माण सामाग्री पसल र सार्वजनिक निर्माणका लागि ढुवानी गर्ने साधन भने दिउसो ११ बजेदेखि ४ बजेसम्म सञ्चालन गर्न पाइने प्रशासन कार्यालयले जनाएको छ ।
अत्यावश्यक काम जस्तै अस्पताल आउने जाने, विरामी र कुरुवा, मृत्यु संस्कारमा अनिवार्य सहभागी हुनु पर्ने अवस्थाका लागि जिल्ला प्रशासन कार्यालयबाट सवारी अनुमति लिएर आउजाउ गर्न पाईने छ भने सञ्चारकर्मीहरुले सूचना विभाग वा सम्बन्धित मिडिया हाउसले जारी गरेको परिचय पत्रको आधारमा आवतजावत गर्न पाउने छन् ।
सिनेमा हल, पार्टी प्यालेस, डान्स बार दोहोरी, नाचघर, क्लव, हेल्थ क्लव, जिम खाना, स्विमिङ पुल, फुटसल, सभा, आमसभा, जुलुस, हाटबजार रंगशालामा हुने दर्शक सहितको खेलकूद, तालिम, सेमिनार भौतिक उपस्थितीमा गरिने शिक्षण प्रशिक्षण र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम बन्द गर्न भनिएको छ भने मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जमघट नगरी जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गर्ने गरी नित्य पूजा ध्यान र प्रार्थना मात्र गर्न तथा सामाजिक र सांस्कृतिक कार्यहरु विवाह, ब्रतबन्ध लगायत्तमा १५ जना भन्दा बढी सहभागी नहुने र सहभागीहरुले जनस्वास्थ्यका सबै निर्धारित मापदण्ड पूर्णपालना गर्ने गरि पूर्व स्वीकृति लिएर मात्र संचालन गर्न पाउने उल्लेख गरिएको छ ।
निषेधाज्ञामा जिल्ला भित्र र जिल्ला बाहिर चल्ने निजी र सार्वजनिक सवारी साधनहरु सवारी पास बेगर संचालन गर्न नपाईने तथा भारत र अन्य मुलुकबाट तनहुँ जिल्लामा आउने व्यक्तिले अनिवार्य रुपमा १० दिन क्वारेण्टाईनमा बस्नुपर्ने जनाइएको छ ।
तनहुँमा गएरातीबाट निशेधाज्ञा:के गर्न पाईन्छ, के गर्न पाईन्न ?
previous post