सोमबार गौरा पर्व मनाउन खुल्ला मञ्च टुँडीखेल पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा विरुद्ध सहभागी युवाले चर्काे नारावाजी गरे ।
आफुहरु विरुद्धको नारावाजीबीच दुबैले संक्षिप्त भाषण गरे । कार्यक्रमका प्रमुख अतिथी प्रधानमन्त्री ओलीले आफु विरुद्ध नारावाजी गर्ने युवाहरुलाई लक्षित गर्दै नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यसलाई बिथोल्ने र भड्काउने प्रयास सफल हुन नसक्ने बताए । उनले कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको बताए ।
सुरुमा सामान्य देखिएका नेका सभापति देउवाले पछि आक्रोषित हुँदै आफु विरुद्ध नाराबाजी गर्नेहरुलाई लाज नभएका, के यही संस्कार सिकेर आएको हो ? भनेर गाली गरे । उनले नेपाली समाजमा नैतिकता हराउँदै गएकोप्रति चिन्ता व्यक्त गरे । काठमाडौंमा आएर गौरा पर्वको कार्यक्रम बिथोल्नेहरुलाई काठमाडौंवासीले ठिक पार्नुपर्ने उनको धारणा थियो ।
निर्वाचनका बेलाका सभा समारोह हुन् वा अन्य कुनै सभापति देउवा अन्य दलका नेता कार्यकर्ताालाई गाली गर्दैनन् । लामा भाषाण गर्न रुचि नराख्ने देउवा रिसाउने मामलामा भने अगाडि नै छन् । सोमबार पनि त्यही देखियो । तपाईँहरु जति बोले पनि हल्ला गरेपनि म बोल्न छोड्दिनभन्दै हँसिलो मुद्रामा देखिएका देउवा तत्काल रौद्र रुपमा प्रकट भए र गाली मै उत्रिए ।
उता प्रधानमन्त्री ओली भने विपक्षीलाई तल्लो स्तरमा ओर्लेर गाली गर्न माहिर छन् । विपक्षीलाई बघिनीले झै झम्टिन आफ्ना कार्यकर्तालाई आदेश दिने ओली आफ्नै समकालिन नेताको नाम लिँदा मुख कुल्ला गर्नुपर्ने जस्तो तल्लो स्तरको टिप्पणी गर्छन् । आफु प्रधानमन्त्रीबाट हट्नु परे प्रधानमन्त्रीको कुर्सी नै भाँचिदिने भाषण गर्ने अनि महिलाहरुले संविधान प्रदत्त अधिकारको माग गर्दा एनजिओको ट्याउँट्याउँ भनेर होच्याउने पनि त ओली नै हुन् । यस्तोमा युवाले के सिक्ने । विष वृक्ष रोपेर अमृत फल्छ र ? आत्महत्या गर्न नसकेकाहरु शिक्षक हुन्छन् भनेर शिक्षकलाई निकृष्ट गाली गर्ने उनैले सोमबार टुडिखेलमा जम्मा भएका युवालाई सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको भनेर टिप्पणी गरे । अहिलेका युवा किन यस्ता भए भनेर प्रश्न ओलीलाई सोध्दा कसो होला ? किनभने फरक विचार राख्नेहरुका प्रति तुच्छ गाली गर्न, अमर्यादित शब्द प्रयोग गर्न त ओलीहरुले नै सिकाएका हुन् ।
मर्यादाका सबै सीमाहरु नाघेर र जन अपेक्षालाई पूर्ण वेवास्ता गर्दै हामीले जे गरेपनि हुन्छ भन्ने मानसिकतासाथ अघि बढेका देउवा–ओलीले सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको भन्नु वा नैतिकता हराएको भन्नु आफैमा कति जायज हो ? भन्ने प्रश्न एकातिर छ । तर फेरी सोमबारको घटना भिडको विवेक हुँदैन भन्ने भाष्य स्थापित गर्ने नाममा देशको उच्च राजनैतिक नेतृत्व विरुद्ध गरिएको प्रदर्शन कति सम्यक काम हो भन्ने प्रश्न पनि छ ।
वर्तमान राजनैतिक नेतृत्व प्रति बढ्दो असन्तोषको प्रदर्शन हो भन्ने बुझेर खासगरी कांग्रेस–एमाले जस्ता ठूला दलहरुले आफुलाई नसच्याउने हो भने आगामी दिन अझै चुनौति पूर्ण हुँदै जानेछ ।
धरै नेपालीलाई लागेको थियो, चौथो पटक प्रधानमन्त्री बनेका ओली र राजनैतिक तथा भौतिक जीवनको उत्तराद्र्धमा पुगेका देउवाले जन अपेक्षा अुनकुल कामको थालनी गर्नेछन् । तर ओली र उनको दल काठमाण्डौका मेयरसंग पौठेजोरी खेल्नमा र उज्यालोका नायकको उपमा पाएका कुलमान घिसिङलाई हटाउनमा समय खर्चिरहेका छन् । यस्तो लाग्छ, यि दुइ बाहेक अरु कुनै काम नै छैन, राज्यमा गर्नुपर्ने । गिरीबन्धु टि स्टेट काण्डमा नीतिगत भ्रष्टाचार भएको र त्यसका प्रमुख ओली स्वयम रहेको अवस्थामा वालुवाटार जग्गा काण्डका दागीलाई अर्थमन्त्री बनाउने, विभिन्न भ्रष्टाचार काण्डमा मुछिएकाहरुलाई संरक्षण गर्ने जस्ता कामका कारण ओलीमाथी जनआक्रोष बढ्दो छ र शायद त्यही आक्रोष सोमबार टुँडीखेलमा प्रकट भएको हो ।
देउवाको अवस्था पनि त्यही हो । नक्कली भुटानी शरणार्थी काण्ड तथा टिकापुर जग्गा काण्डमा नाम मुछिएकी आफ्नी पत्नी आरजु देउवालाई परराष्ट्र मन्त्री बनाएका देउवाले स्काउटको जग्गा हडपेर बसेका दीपक खड्कालाई पनि मन्त्री बनाए । कतै हत्या आरोपी कांग्रेसका तर्फबाट मन्त्री बनेका छन् त कतै विवादित पृष्ठभूमिका रोज राणाहरु मन्त्री बनेका छन् अनि दिपक मनाङ्गे कांग्रेस नेतृत्वको सरकारमा मन्त्री कायम छन् । यस्तोमा देउवाका प्रतिको आक्रोष स्वाभाविक लाग्छ ।
बहुदल पछिको साढे तीन दशक देशको शासन सत्तामा यिनै छन् । हरके जसो सभा सम्मेलनमा देशलाई समृद्ध बनाउने भाषण गर्छन् । गरिबी हटाउने सपना देखाउँछन् । पानी जहाज र रेलका ललिपप खुवाउँछन् । भ्रष्टाचार विरुद्ध शून्य सहनशिलताको कुरा गर्छन तर भ्रष्टहरुको संरक्षणमा दिलो ज्यानले लाग्छन् । अहिलेसम्म देखिएको यही हो । नभए तीन करोड नेपाली लोड सेडिङको अँध्यारोमा रहँदा निर्वाध विजुली प्रयोग गरेका व्यापारीले विद्युत महसुल नतिरेका कारण लाईन काटिँदा नेताको टाउको किन दुख्छ ? अनि लाखौं सर्वसाधारणको घरमा एक महिना महसुल नतिरेको भनेर लाईन काटिँदा नेताको मन किन खटक्क हुँदैन ? काम भने आफुलाई चित्त नबुझको कुरामा प्रश्न गर्न पाउने व्यवस्था ल्याउन लडेको भनेका देउवा र ओली विरुद्ध नाराबाजी गरेको अभियोगमा सुर्खेतका गोपिराम जैसी र अछामका रामबहादुर बुढालाई पक्राउ गरेर थुनामा राखेको खबरले नागरिकमा उनीहरु प्रति नै आक्रोश थपिने छ । सुनिँदैछ, नाराबाजी गर्ने अरुहरुको पनि खोजी हुँदैछ । शायद यस्तै कर्मलाई संकेत गर्दै हाम्रा पुर्खाले विनाश काले विपरित बुद्धी भन्ने उखान बनाएका होलान् । र यसले सच्चिन होइन बरु जनअसन्तुष्टिलाई दवाउन खोजेको प्रमाणित गरेको छ ।
सोमबार प्रकट विद्रोहलाई वेवास्ता गर्ने, दवाउन खोज्ने र जनअपेक्षा अनुकुल काम नगर्ने कुराले सक्किने विकल्प रोजेको भन्ने अर्थमा बुझ्नु पर्ने हुन्छ ।
टुँडीखेलको सन्देश: सच्चिने कि सक्किने ?
previous post