नेपाली कांग्रेसलाई भित्रबाट नियालेर हेर्दा देशमा नेताहरुको भित्री स्वार्थ देख्दा म कहिलेकाहीं पनि अचम्भित हुन्छु । राजनैतिक भनेको षड्यन्त्रको भण्डार हो । जहाँ एकले अर्कालाई गिराउनका लागि नै बनेको हो । यति पुरानो र ठूलो संगठन नेपाली कांग्रेस तनहुँमा सरसर्ती हेर्दा द्वन्द्व केबल रामचन्द्र पौडेल दाई र गोविन्दराज जोशी सरमा देखिन्छ । तर द्वन्द्व उहाँहरुबीच हैन, द्वन्द्व त यहाँ पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र्र्र्र्र्र्र पौडेल दाईबीच हो । सभापति देउवा कहिले पनि चाहनुहुन्न कि पौडेल दाई र जोशी सरमा मेलमिलाप होस् । आजको दिनमा देउवाको प्रतिद्वन्द्वी जोशी सर होइन पौडेल दाई हो । विगतदेखि नै विभिन्न नाममा तनहुँमा दुई प्रभावशाली र राम्रो सम्भावना बोकेका दुई नेताहरु शुरुदेखि नै नमिल्नु र्दुभाग्य हो ।
तनहुँमा पार्टी संगठन, कार्यकर्ताको संरक्षण र विकास निर्माणमा जोशी सरले लिएको नेतृत्वबाट समग जिल्लाले लाभ लिएको छ । अहिले जिल्लामा देखिएका ठूला र दीर्घकालिन विकास निर्माणका काममा जोशी सरको हात भएको कुरा विपक्षीहरुले पनि निर्विवाद स्विकार गरेको विषय हो । तर त्यस्ता जोशी सरलाई विभिन्न नाममा दाग लगाउने प्रयत्न गरिनु अनि पहिलो संविधानसभा निर्वाचनका समयमा पार्टीकै जिम्मेवार नेताहरुको संरक्षणमा घैंटो चुनावचिह्नमा उम्मेदवार उतारेर उहाँलाई बद्नाम गराउँदै माओवादीसँगसमेत साँठगाँठ गरेको तथ्य कोही कसैबाट छिपेको छैन ।
त्यति हुँदा हुँदै पनि जोशी सरले पार्टी र कार्यकर्ताको भविष्य हेर्दै पदमै नरहँदा पनि निरन्तर संगठन र क्षेत्रको विकासमा लागिरहनुभयो । कार्यकर्तामाझ संगठन र विगत पञ्चायतकालदेखि अहिलेको अवस्थासम्म आउँदा संरक्षण दिने र विकासमा बढी जोड दिने विलक्षण क्षमता जोशी सरसँग भएकै कारण तनहुँको अहिलेको कांग्रेस संगठन बलियो र जिल्लाको वर्चस्व लिने अवस्थामा पुगेको हो । चुनावमा पार्टीको व्यवस्थापन नमिल्दा पराजय भए पनि दमौली र जिल्लामा कांग्रेसको विगतको प्रभावको असर अझैसम्म छ । आफ्नो कुशल संगठन क्षमता र प्रतिभाका कारण केन्द्रमा पुगेर प्रभावशाली भूमिकामा पुग्नुभएका जोशी सरसँग पौडेलदाईले सहकार्यको सम्बन्ध राख्न नसक्नुमै भुल देखियो । पौडेल दाईले जोशी सरसँग सहकार्य गर्नुभएको भए उहाँको प्रधानमन्त्रीको आकांक्ष पनि पुरा हुने थियो । जोशी सरले पनि दुःख पाउनुपर्ने थिएन । समग्रमा तनहुँमा अहिलेको जस्तो द्वन्द्व र कमजोर अवस्था पनि रहने थिएन । यस कुरामा पौडेल दाईले वास्तविकता महसुस गर्न नसक्नुभएकै हो । पुरानो र पार्टीका लागि संघर्ष गरेका उहाँजस्ता नेताले लोकप्रियता कमाएका र संगठक नेतालाई साथमा लिएको भए पार्टी, दुवै नेता र समग्र देशलाई नै फाइदा हुने हो । तर पौडेल दाईले जानी नजानी दुईलाई मिल्न नदिने षडयन्त्रको गोटी बन्नुभयो । हुँदा हुँदा जोशी सरलाई अछुतको व्यवहार गर्न थाल्नुभयो । यतिसम्म कि उहाँका कार्यकर्ताले पार्टी कार्यालय छिर्न नपाउने अनि कुनै भूमिका नपाउने अवस्था पुगेको खबरले हामीलाई दुःखित् बनायो ।
लोकतन्त्रमा फरक र विरोधी विचार पनि सुन्नुपर्छ । तर आफ्नै पार्टीभित्रका कार्यकर्तालाई काखा र पाखा गराउने काममा पौडेल दाई र उहाँका नाममा उहाँनिकटका मानिसबाट भूमिका खेलियो । यति सारो संगठनमा योगदान दिएका जुझारु नेतालाई केही पनि होइन र गए पनि फरक पर्दैन भनेर भन्ने अवस्थामा उहाँ पुग्नुमा उहाँलाई नै कमजोर पार्ने षडयन्त्र भएको आभाष उहाँले पाउन सक्नुभएन यसमा दुःख लागेको छ ।
यहाँ पौडेल दाई र जोशी सर एक भएमा जिल्ला मात्र होइन केन्द्र तहसम्म तनहुँ जिल्लाको नै वर्चस्व रहन्छ । जसका कारण सभापति देखि प्रधानमन्त्रीसम्मका लागि सधैं बाधक पौडेल दाई देखिनुहुन्छ । त्यसकारण सभापति शेरबहादुर देउवा दाई गिरिजाप्रसाद कोईराला र राजा बिरेन्द्रदेखि खारिएका प्रधानमन्त्रीलाई यो कुराको हेक्का पक्कै होला । पौडेल दाईलाई १७ पटक चुनाव लडाइ साथ दिएको भ्रममा पारी यो समस्या ज्युँका त्युँ राख्न सक्नु र राख्न चाहनुुहुन्छ । यो कुरा १७ पटक सम्म ढल्दा नबुझ्ने पौडेल दाईले आज यो कुरा कसरी बुझ्नुहोला ? नबुझ्नुका पछाडी थोरै चिन्ता छोरा चिन्तनको पनि हो । छोरा चिन्तनलाई तनहुँबाट राजनैनिक शुरुवात गराउन चाहनुहुन्छ । तर पौडेल दाईलाई यो कुरा थाहै छ कि जोशी सर भइन्जेल यो सम्भव छैन । त्यसकारण उहाँ आत्मादेखि कुचिन्ताले प्रेरित हुनु हुन्छ । दोहोरो षडयन्त्रको सिकारमा पर्नु भएको पौडेल दाईले कहिले बुझ्ने होला ? पौडेल दाईले आत्मालाई फराकिलो पारेर जोशी सर तपाइं जिल्ला सम्हाल्नुहोस् म केन्द्र लागें भनेर हातेमालो गर्नुभएको खण्डमा जिल्लाका कांग्रेसी कार्यकर्तालाई द्विविधा हुने थिएन जस्तो लाग्छ । र, साथमा पौडेल दाईको भविष्य र छवि पनि राम्रो हुने देखिन्छ ।
(दमौली स्थायी घर भएका लेखक हाल हङकङमा कार्यरत छन् । )