हिजो बुधार देशभर राष्ट्रिय भू संरक्षण दिवस मनाइयो । विसं २०३१ साल साउन २४ गते बाढी, पहिरो, भूक्षय जस्ता प्राकृतिक प्रकोप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सहयोग पु¥याउन एवं भूक्षय कम गरी जमिनको उर्वराशक्ति कायम राख्न तथा पूर्वाधार संरक्षण गर्ने उद्देश्यले भू तथा जलाधार संरक्षण विभाग स्थापना भएको संझना स्वरुप यो दिवस मनाउने गरिन्छ ।
यसै साता १२ घण्टा लगातार वर्षा हुँदा अनेकौं ठाउँमा पहिरो गएका, बाढीले घर–खेत बगाएका, सडक यातायात अबरुद्ध भएका समाचाहरु हामीले सुन्यौं÷पढ्यौं । भूकम्प जस्ता प्राकृतिक कारण बाहेक डोजरे विकास अर्काे र महत्वपूर्ण कारक हुन्, बाढी र पहिरो प्रकोपका । प्राकृतिक कारणको रोकथाम हामी गर्न नसकौंला तर मानव सिर्जित कारणलाई कम गर्न अवश्य सकिन्छ, जसले मानव जीवनको रक्षामा समेत सघाउँ पु¥याउँछ । नेपालको आफ्नै भौगोलिक तथा भौगर्विक बनोटका कारण भू संरक्षण चुनौतिको रुपमा रहेको छ, अझै विकासका नाममा हरेक डाँडालाई कांक्रो चिरेजस्तो गर्दाे चुनौति थपिएको छ । विश्वव्यापि जलवायु परिवर्तनको कुप्रभावबाट हामीमात्र अलग रहने भन्ने कुरै भएन ।
हामी आफैले थपेका चुनौतिलाई कम गर्न अरु कसैले सक्ने होइन, हामी आफै सक्छौं । केवल हाम्रो प्रतिवद्धता र तदनुकूलको व्यवहार चाहिन्छ । अग्रजहरुले पानीका श्रोतको संरक्षण गर्ने भन्दै गाउँ गाउँ र टोल–टोलमा बनाएका पोखरी र जंगलका बोटविरुवा जथाभावि काट्दा भगवान रिसाउँछन् भन्ने भनाईलाई वाहियात सम्झेर पोखरी पुर्ने अनि जथाभावि रुख काट्ने गर्दा हाम्रो जीवन नै जोखिममा परेको छ ।
र त्यो जोखिमलाई कम गर्ने पनि हामीले नै हो । भू संरक्षण दिवसका दिन फेसबुकमा फोटो राखेर योगदान गरेको देखाउनका लागि मात्र होइन् , हामीले अन्र्तमनले आफु र आफ्नो बालबालिकाको भविष्य सम्झेर भू संरक्षणमा चासो दिनु आवश्यक छ । हाम्रा डाँडाकाँडालाई कांक्रो झैं चिर्न छाडौ, जथाभावि वन फँडानी नगरौं, नाङ्गा डाँडा र स्थानहरुमा विरुवा रोपौं । यती गर्नसक्दा जीवनसंग जोडिएको भू संरक्षण हुन्छ ।
जीवनसंग जोडिएका भू संरक्षण-सम्पादकीय
previous post