गत शुक्रबार र शनिबार हिउँदे वर्षा भएसंगै जाडो निकै बढेको छ । जाडो बढेसंगै श्वास प्रश्वास प्रणालीमा खराबी आएका कारण अस्पताल धाउने विरामीको संख्या पनि बढ्ने गर्छ । यस मध्ये पनि बालबालिका र बृद्धबृद्धाको संख्या बढी हुने गर्दछ । चिसोमा भाइरसको गतिविधी बढ्ने, मानिसहरु बन्द कोठामा एक अर्काको नजिक रहने भएकाले श्वास प्रश्वासको समस्या जाडोमा बढ्ने गर्छ र यसले बालबालिका र बृद्धबृद्धालाई बढीनै सताउने गर्दछ ।
जाडोमा अधिक समस्या भनेको निमोनियाको हो । यसले बालबालिकालाई बढी नै सताउने गर्दछ । यसले श्वासप्रश्वास प्रणालीको तल्लो भाग बायु कोष्ठिकाको संक्रमण गराउने गर्दछ । रुघाखोकी लाग्ने, ज्वरो आउने, छिटो छिटो श्वास फेर्ने, छातीबाट घ्यार–घ्यार खालको आवाज आउने, दूध चुस्न नसक्ने भएमा निमोनिया भएको भनेर बुझ्नु पर्दछ । निमोनियाको उपचारलाई सहज बनाउन बच्चा तथा बृद्धबृद्धालाई प्रसस्त आराम गराउने, धेरै मात्रमा पानी तथा झोलिलो खानेकुरा खुवाउने, वाफ लिन लगाउने तथा ज्वरो र खोकीको औषधी खुवाउने गर्नु पर्दछ ।
रोग लागिसकेपछि उपचार गर्नु भन्दा रोग लाग्न नदिनु बुद्धिमानी हुन्छ । बालबालिका र बृद्धबृद्धालाई निमोनिया लाग्ने वातवरण नै आउन नदिनु बुद्धिमानी हुन्छ । यसका लागि हामीले बालबालिकाको हकमा समय तालिका अनुसार खोप लगाउने गर्नु पर्दछ । यसका अतिरिक्त बालबालिकालाई खेलाउनु र खुवाउनु अगाडि र पछाडि राम्रोसंग हात धुनु आवश्यक हुन्छ । अरु उपाय चाहीँ बालक र बृद्धा दुवैलाई अपनाउन सकिन्छ । जस्तै धुवाँ–धुलोबाट उनीहरुलाई टाढा राख्ने, रुघा खोकीबाट बचाउने, आवश्यक पोषक तत्वको कमि हुन नदिने तथा संक्रमित व्यक्तिहरुबाट टाढा राख्ने गरेर हामीले आफ्ना बालबालिका र परिवारका ज्येष्ठ सदस्यहरुलाई निमोनिया हुनबाट बचाउन सक्छौं ।
बालबालिका भविष्यका कर्णधार हुन भने बृद्धबृद्धा भनेका ज्ञानका भण्डार र हाम्रा पुजनिय व्यक्तित्व हुन् । त्यसैले उनीहरुको कुशल मंगलका लागि हामीले आफ्नो तर्फबाट सक्दो प्रयत्न गर्नुपर्छ । र निमोनिया र स्वास प्रश्वास सम्बन्धि समस्याबाट जोगाउन यो जाडोमा हामीले आवश्यक प्रयत्न गरौं ।