दमौली/राष्ट्रिय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ ।
बुधबार सार्वजनिक नतिजा अनुसार नेपालको जनसंख्या प्रक्षेपित अनुमान भन्दा कम दुइकरोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । नेपालको जनसंख्या तीन करोड नाघ्ने प्रक्षेपित अनुमान थियो ।
विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालमा महिलाको संख्या एक करोड ४९ लाख एक हजार १६९ रहेको छ, ,जुन कुल जनसंख्याको ५१.०४ प्रतिशत हो । यसैगरी पुरुषको जनसंख्या एक करोड ४२ लाख ९१ हजार ३११ रहेको छ र यो कुल जनसंख्याको ४८.९६ प्रतिशत हो । २०६८को जनगणनामा महिलाको जनसंख्या ५१.५० प्रतिशत रहेको थियो । यसरी हेर्दा एक दशकमा महिलाको जनसंख्या ०.४६ प्रतिशतले घटेको छ ।
तथ्याङकले जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत भएको देखाएको छ जुन अघिल्लो जनगाणनाको भन्दा कम हो तर जनघनत्व भने एकसय ८० बाट बढेर एकसय ९२ पुगेको छ । प्रारम्भिक तथ्याङ्क अनुसार सबैभन्दा धेरै जनसंख्या काठमाण्डौको रहेको छ । काठमाण्डौमा २० लाख १७ हजार ५३२ जना बसोबास गर्छन । सबैभन्दा कम जनसंख्या भएको जिल्ला भने मनाङ रहेको छ । यहाँको जनसंख्या पाँच हजार ६४५ रहेको छ ।
यस अघिको जनगणनामा हिमालमा वस्ने मानिसको संख्या कुल जनसंख्याको ६.७३ रहेकोमा अहिले घटेर ६.०९ मा झरेको छ । पहाडको अवस्था पनि त्यस्तै छ । २०६८ को जनगणनामा पहाडमा वस्नेको प्रतिशत ४३.०१ रहेकोमा अहिले ४०.२५ प्रतिशत मानिस मात्र पहाडमा वस्ने तथ्याङ्कले देखाएको छ । तराईमा भने यो प्रतिशत बढेको छ । तराईमा ५०.२७ प्रतिशत मानिस बसोवास गर्दै आएकामा अहिले बढेर ५३.६६ प्रतिशत पुगेको छ । सुविधाको खोजीमा तराई झर्नेको संख्या दिनानुदिन बढेको तथ्यलाई यसले प्रष्ट पारेको छ ।
तथ्याङ्कले मधेश प्रदेशमा सबैभन्दा धेरै ६१ लाख २६ हजार २८८ जना मानिसको वसोवास रहेको देखाएको छ भने सबैभन्दा थोरै कर्णाली प्रदेशमा १६ लाख ९४ हजार ८८९ जना बस्ने देखाएको छ । यसैगरी भक्तपुर जिल्लाको वार्षिक जनसंख्या वृद्धिदर सबैभन्दा धेरै ३.३२ रहेको छ भने रामेछापको सबैभन्दा थोरै –१.६५ प्रतिशत रहेको छ ।
सबैभन्दा धेरै जनसंख्या भएका पाँच जिल्ला क्रमषः काठमाण्डौं, मोरङ, रुपन्देही, झापा र सुनसरी रहेका छन् भने सबैभन्दा कम जनसंख्या हुने पाँच जिल्लामा क्रमषः मनाङ, मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला रहेका छन् ।