‘हातका मैला सुनाका थैला के गर्नु धनले ?
साग र सिस्नु खाएको वेश आनन्दी मनले ।’
महाकवि लक्ष्मीप्रसाद देवकोटाको लोकप्रिय खण्डकाब्य मुनामदनको यो अंशले धनलाई हातका मैला भनेको छ । हामीलाई थाहा छ हातको मैला हात धुनासाथ रहँदैन । धनपनि त्यस्तै चिज हो, जुन अहिले मसंग छ, क्षण भरमै मबाट अन्यत्र जान्छ । त्यसैले धन प्राप्तीका लागि दौडनुभन्दा आनन्दी मनले साग र सिस्नु खानु वेश भन्न चाहेको हुनुपर्छ महाकविले ।
‘धनभन्दा विद्या ठूलो’ अनि यो, म विद्यार्थी छँदा हुने वादविवाद प्रतियोगिताको सर्वाधिक प्रयोग हुने शीर्षक । पहिले वादविवाद प्रतियोगिता हुँदा यो विषयको पक्षमा बोल्न पाउँदा शायद त्यो विद्यार्थी आफुलाई गर्र्व गर्दाे हो तर अहिलेको अवस्था त्यस्तो छैन । अब त शीर्षक नै विद्याभन्दा धन ठूलो भन्ने बनाउनु पर्ने अवस्था आइसकेको छ । दिनरात आफ्ना आमा बाबु, इष्टमित्र, छिमेकी सबैको धन प्राप्तका लागि भएको छिनाझम्टी, भागदौड र रस्साकस्सी देखेको एउटा बालकले धनलाई छोडेर विद्या ठूलो कसरी भनोस् ? अनि लक्ष्मीप्रसाद देवकोटाको सुनका थैला हातका मैला कथनमा कसरी विश्वास गरोस् ।
पृथ्वीभित्र सबै चिज खोजे मिल्छ घरी घरी
तर जन्म दिने आमा पाईँदैन कसैगरी ।
आमाको महिमा बर्णन गर्न तयार पारिएको सबैभन्दा मर्मस्पर्शी कवितांश होला । सर्जकको नाम याद गरेर यहाँ उल्लेख गर्न नसकेकोमा क्षमा चाहन्छु । तर आजकल यसको मर्मलाई आत्मसाथ गर्ने कमै भेटिन थालेका छन् । धन आर्जन गर्ने होडमा वृद्धावस्थाका आमा बुबालाई वृद्धाश्रमको जिम्मा लगाउने अनि छोराछोरी होस्टेलको जिम्मा लगाउनेको संख्या दिन दुगुना रात चौगुना भएको छ । न त हामीसंग अनुभव आर्जित ज्ञानको भण्डार भएका बाबु आमासंग बसेर ति ज्ञान आर्जन गर्ने फुर्सद छ नत छोराछोरीको बालसुलभ व्यवहारमा रमाउने अनि जिज्ञासा मेटाउने फुर्सद नै । आफ्नो सानो सन्तानको कोमल हात समाएर डो¥याउँदै हिड्ने र उसका अगणित जिज्ञासाको संयम पूर्वक जवाफ दिने अनि उनीहरुलाई पिठ्युँमा चढाएर हट् घोडा हट् भन्दै रमाउने अवसर दिने फुर्सद हामीसंग छैन । छिमेकीले घरको तला थप्यो, मैले कहिले थप्ने ? छिमेकीले कार किन्यो, मैले कहिले किन्ने ? छिमेकीले फलानो सहरमा घडेरी जोड्यो मैले कहिले जोड्ने यस्तै अनगिन्ती होडमा सामेल हुँदा हुँदै हामी आफ्नै परिवारसंग टाढा भएका छौं । आफन्तहरुसंग विछोडिएका छौं । छोराछोरीसंग, आमा बुबासंग अनि आफन्त र साथीभाइसंग रमाउन भुलेका छौं । मुखमा कृतिम हाँसो मात्र देखिन्छ । धन कमाउने होडमा पछि परेको हिनताले हामीलाई उन्मुक्त भएर हाँस्न नसक्ने बनाएको छ । अवस्था यस्तो आयो कि माथि उल्लेखति कवितांशलाई परिमार्जन गरेर यस्तो बनाउँः–
पृथ्वीभित्र सबै चिज खोज मिल्छ घरीघरी ।
धनाशक्त नभा मान्छे पाईँदैन कसैगरी ।।
हुनपनि एउटा सामान्य नागरिक देखि सत्तासञ्चालकहरु सम्म जसलाई हेरेपनि प्रत्येक धनाशक्तीमात्र देखिन्छ । कसरी धेरैभन्दा धेरै कमाउने, कसरी छिमेकको भन्दा अग्लो घर बनाउने, कसरी छिमेकीले चढेको भन्दा राम्रो सवारी साधन चढ्ने भन्ने तर्फमात्र सबैको ध्यान गएको देखिन्छ । धन कमाउनु प¥यो बाटो जुन सुकै होस् । पैसाकै लागि आफ्ना चेलीबेटी भारतका कालकोठरीमा लगेर बेच्न तत्पर छौं हामी । सम्पत्तीकै लागि जीवनभर साथ दिन्छु भनेर अग्नी साक्षी राखेर कसम खाई ल्याएकी आर्धाङ्गिनीलाई जिउँदै जलाउने पनि हामी नै ।
धनकै लागि दाजु भाइबीच काटमार चलेकै छ । धन आर्जन गर्ने कुरामा हामी यती लालची भएका छौं कि त्यसका लागि हामी मर्यादाका सबै सिमाहरु उल्लङघन गर्न तयार छौं । हाम्रो राजनैतिक नेतृत्वलाई नै हेरौं न । जनताको सेवा गर्छु भन्ने कसम खाएर निर्वाचित भएका हाम्रा नेताहरु जब सत्तामा पुगे, उनीहरुको ध्यान जनताको सेवामा होइन आफ्नो सात पुस्तालाई पुग्ने गरी कसरी कमाउने भन्ने तर्फ लाग्यो । खाए मकै, नखाए भोकै हुनेहरुको भनौं या हुँदा खानेहरुको जीवनस्तरमा सुधार ल्याउने नेताका ति कसम सबै पानीका फोका भए । आफ्नै लागि कमाउन र रमाउन थाले । पैसाकै लागि लामो संघर्षबाट निर्माण गरेको राजनैतिक र समाजिक व्यक्तित्व धुलिसात पार्छन हाम्रा नेताहरु ? छिमेकको कोही मरेर अन्यष्टीमा सहभागी हुँदा केका लागि तँछाड मछाड गर्ने आखिर मरेर जाँदा केही लान पाइने होइन रहेछ भन्ने सोच्ने मान्छे मसानघाटबाट फर्कन नभ्याउँदै किन धनकै लागि मरिहत्ते गर्छ ? जति कमाएपनि रित्तै जानुपर्ने वास्तविकतालाई आत्मसाथ किन गर्न नसकेको होला मान्छले ?
र अन्त्यमा नयाँ पत्रिकामा केही समय अगाडी छापिएको प्रेरक प्रसंगका उल्लेखित अंश उल्लेख गर्न मन लाग्यो । जुन यस प्रकार छ ।
एक धनी व्यापारीले जीवनको अन्तिम समयमा आफ्नो अन्तिम इच्छा भन्दै छोरालाई मृत्यु पछि गोडामा च्यातिएको मोजा लगाइदिन आग्रह गरे र दोहो¥याए कि मेरो अन्तिम इच्छा जसरी पनि पूरा गर्नु । केही दिनमा नै उसको मृत्यु भयो । छोराले बाबुको अन्तिम इच्छा सम्झियो र च्यातिएका एक जोर मोजा ल्याएर बाबुको गोडामा लगाइदिन खोज्यो । तर पण्डित, छिमेकी, आफन्त कसैले उसलाई मोजा लगाउन दिएनन् ।
छोरा, बुबाको अन्तिम इच्छा पुरा गरेरै छाड्ने जिद्दी गर्ने अरु धर्म, संस्कृति र परम्परा विपरित हुने भन्दै कुनै हालतमा मोजा लगाउन नदिने हुँदा उनीहरु बीचको वादविवाद सकिएन । सोही समयमा मृतकका वकिल आइपुगे र व्यापारीले लेखेको एउटा हस्तलिखित पत्र छोरालाई दिए । पत्रमा लेखिएको थियो– मेरो प्यारो छोरा, देख्दै छौ नि ? सम्पत्ति, घर, जग्गा, गाडी, ठुल्ठूला कारखाना, फार्म हाउस सबै साथमा हुँदाहुँदै पनि मरेपछि एक जोर च्यातिएको मोजा पनि साथमा लान पाइन्न ।
त्यसैले याद राख, धन–सम्पत्तिका लागि कसैलाई दुःख नदेऊ, गलत तरिकाबाट धन कमाउने बाटो रोज्दै नरोज । किनकि, मृत्युपछि सम्पत्ति होइन, कर्म मात्र तिम्रो साथमा जान्छ ।
च्यातिएको मोजा
previous post