नियमित रुपमा सफा चिटिक्क परेको रङ्गशालामा प्रशिक्षण लिन पाउँदा खेलाडीहरुमा खेलप्रति आकर्षण बढ्ने मात्र होइन एक किसिमको छुट्टै मनोबलको विकास पनि भइरहेको हुन्छ । जुन खेल जगतको विकास र सुधारको प्रमुख आधार स्तम्भ हो । त्यसैले सरकार विन्ती छ, सागको समापनसंगै पोखरा र दशरथ रङ्गशालाको चमक नसकियोस् ।
नेपालमा यतिखेर १३ औ साग (SAG) चलिरहेको छ । दशरथ रङ्गशाला र पोखरा रङ्गशाला सिंगारिएर बेहुली जस्तै चिटिक्क पारिएको छ । लाईनमै छ जानकी धाम । न्युनतम ५० स्वर्ण पदम हासिल गर्ने लक्ष्य लिएर आयोजक नेपाल पनि विभिन्न खेलको विभिन्न स्पर्धाहरुमा सहभागी भइरहेको छ । खेल निरन्तर चलिरहेको छ । निरन्तर चलिरहेको छ, आम मानिसको टिका टिप्पणी पनि । चाहे त्यो, बिहानको चिया गफमा होस् या चाहे साँझमा ….गफमा । जे होस् समग्र देशको माहोल खेलकुदमय बनेको छ ।
१३ औं सागको उद्घाट्न दशरथ रङ्गशालामा एकदमै भव्य तरिकाले सम्पन्न भयो । जुन भव्यताका साथ उट्घाटन गरियो, यदि सम्पूर्ण खेलहरु त्यही स्तरमा सञ्चालन गरी त्यसरी नै भव्याताका साथ १३ औं सागको समापन गर्न सक्ने हो भने पक्कै पनि आयोजकको रुपमा नेपाल सफल हुनेछ । आगामी वर्ष नेपाल भ्रमण वर्ष २०२० मनाउने तयारीमा छ । भ्रमण वर्षको पूर्व सन्ध्यामा चलिरहेको सागले पक्कैपनि यसलाई राम्रो प्रभाव पार्नेछ, यदि हामी सफल भयौं भने । जुन स्तरमा घरेलु मैदानमा प्रदर्शन गर्ने सोचाइमा नेपाल रहेको छ, खेलको अन्तिम नतिजा आउँदा सम्म त्यो पूरा भए पक्कैपनि सन् २०१९ नेपाली खेलकुदको इतिहासमा सम्झन लायक वर्ष बन्नेछ ।
भ्रमण वर्षको पूर्व सन्ध्यमा आयोजित १३ औं सागले पक्कैपनि नेपालका लागि सम्भावनाका प्रसस्त ढोकाहरु खोलिदिएको छ । त्यसबाट फाइदा लिन सक्ने नसक्ने त्यो हाम्रो आफ्नै कुरा हो । तर १३औ सागले नेपालको लागि सम्भावनाका ढोकाहरु मात्रै होइन नेपाली खेलकुद क्षेत्रको कैयौं तितो यथार्थहरुलाई पनि उजागर गरेको छ । त्यसो त नेपाली खेलकुद जगत विवाद रहित प्रायः रहने गरेको छैन र पनि साग जस्तो अन्तरराष्ट्रिय स्तरको खेलको आयोजना गर्दै गर्दा आफ्नो कमि कमजोरी र तितोसत्यहरु अरुको सामु छरपष्ट पार्नु भने आफैमा लाजमर्दाे कुरा हो । धेरै त नभनांै, अर्बाैको बजेट भएको खेलमा त्यत्रो भब्य उद्घाटन भइरहँदा, चालिसौं पदाधिकारी र मन्त्रीलाई निःशुल्क दौरा सुरवाल र कोट बाँड्ने पैसा पुगिरहँदा विचरा नेपाली क्रिकेट टिमलाई पोशाक किन्ने पैसा पुगेनछ, नभए क्रिकेटका खेलाडी उद्घाटन समारोहमा किन दौरा सुरवाल बाहेकमा देखिन्थे र ? खेलकुद मन्त्रालय अन्तर्गतका मन्त्री, सचिव, कर्मचारी तथा विभिन्न पदाधिकारीहरु समय समयमा विदेश घुमिरहँदा देशको लागि स्वर्ण जित्ने एउटा चेली कतै पञ्चर हुन्छ कि भनेर डराई डराई साइकल कुदाइरहेकी हुन्छिन् । कठै बरा हाम्रो सरकार एउटा साइकल पनि किन्न नसक्दो रहेछ । राष्ट्रिय खेल भनिएको भलिबलले केही गर्न सकेन । धन्न महिला टोलीले रजत पदक जितेकाले राष्ट्रिय खेलबाट खाली हात हुनु परेन । कुन खेलमा के भयो , कहाँ राम्रो ग¥यौं, कहाँ चुक्यौं त्यो पछि नै टिका टिप्पणी गर्दै गरौंला तर यतिखेर मलाई साह्रै खड्कीरहेको कुरा चाहिँ त्यतिका मन्त्रीलाई दौरा सुरवाल र कोट पुग्दा क्रिकेट टिमलाई पोशाक पुगेनछ । वडाको पदाधिकारीदेखि मन्त्रीसम्म सरर गाडीमा घुमिरहँदा एउटी नेपाली चेलीले थोत्रो साईकलको भरमा देशलाई स्वर्ण पदक दिलाउनु परेछ । त्यसो त नेपाली खेलकुद जगतमा आजको मितिसम्म पनि भविष्य सुनिश्चित छैन । व्यवसायिक खेलको सुरुवात हुन सकेको छैन । लाखौमा एकाध खेल प्रतिभा निस्कन्छन्, जसले देशलाई अन्तरराष्ट्रिय स्तरमा चिनाउन सक्छन तर तिनै प्रतिभाको पनि खेल जगतमा लागेर भविष्य सूनिश्चित छैन । उनीहरुले हदै पाउने भनेको राष्ट्रको तर्फबाट सम्मान मात्र हो । एउटा खेलाडीको लागि सम्मानको कति ठूलो महत्व हुन्छ, त्यो खेलाडी लाई मात्र थाहा हुन्छ तर विडम्बना सम्मानले मात्र बाँच्न सकिँदैन, किनभने सम्मानले घर खर्च चल्दैन । लालाबालाको भोक मेटिँदैन अनि उनीहरुको स्कुल फि तिरिँदैन । आफ्नौ पुरै जीवन खर्चिएर जितेको स्वर्ण पदकको मूल्य सरकारले त चुकाउन खोज्दैन, बजारमा यसको के भाऊ ? देशको लागि पदक जित्ने खेलाडीले कति सम्मान जनक जीवन बाँचिरहेको हुन्छ ? धेरै टाढा जानै पर्दैन, हाम्रै छिमेकी भारतमा हेरे पुग्छ । तर हाम्रो देशमा देशको लागि खेलमै जीवन सुम्पने खेलाडीको जीवनस्तर कहाँ
छ ? चार पटक सागको स्वर्ण विजेता दिपक विष्ट र ओलम्पियन बैकुण्ठ मानन्धरलाई हेरे पुग्छ ।
अहो, म त कहाँ पुगेछु । के प्रसङ्गमा लेख्छु भन्दै थिएँ के प्रसंङ्ग उठाउन पुगेछु । अँ साँच्चै १३ औं सागको कुरा गर्दै थिएँ । वास्तवमै सागको भव्य उद्घाटन हेर्न लाएकको थियो । यसले अन्तरराष्ट्रिय क्षेत्रमा नेपाल पनि कम छैन है भन्ने गतिलो सन्देश दिएको छ । पोखरा र दशरथ रङ्गशालाका सजावट वास्तवमै तारिफ योग्य छन् । तर संगसंगै एउटा चिन्ताले र उत्सुकताले मनको शान्ति भङ्ग गरिरहेको छ । के दशरथ र पोखरा रङ्गशालाको यो चमक र सजावट सधैं यस्तै वा यत्तिकै स्तरको रहिरहला ? या फेरी सागको समापनसंगै यसको चमक पनि हराउँदै जाला ? किनभने नेपालको विगतलाई हेर्दा विदेशी राष्ट्र प्रमुखको लागि चिल्याइएका सडकहरु एक झर्काे पानीले नै उप्किएका छन् । बाटोमा राखिएका गमलाहरु भोलीपल्टै गायब भएका छन् । एक दिनको लागि स्वीटजरल्याण्ड बनेको काठमाण्डौ भोलिपल्टै आफ्नै स्वरुपमा फर्किएको छ । कतै पोखरा र दशरथ रङ्गशालाको पनि त्यही हालत हुने त होइन ?
अन्तरराष्ट्रिय जगतमा आफ्नो राष्ट्रको राम्रो छाप पार्न हर सम्भव प्रयासहरु गरिनुपर्छ । किनभने यो राष्ट्रिय गौरबको विषय हो । यसमा दुइमत छैन । तर समग्र रुपमा खेल जगतको विकास गर्न अरुलाई देखाएर मात्र पुग्दैन । त्यसको लागि धेरै काम गर्नुपर्छ राज्यले । खेलाडीको मनोवल बढाउन सक्नुपर्छ, भौतिक पूर्वाधारको विकास र विस्तार गर्न सक्नुपर्छ । उचित सम्मान दिन सक्नुपर्छ र देशको लागि पदक जित्ने खेलाडीको जीवन सुनिश्चितताको ग्यारेन्टी राज्यले लिन सक्नुपर्छ । त्यसो हुन सकेको खण्डमा मात्र ५० होइन ५० औं स्वर्ण नेपालको लागि सुरक्षित हुन सक्छन् ।
दशरथ रङ्गशाला सागको लागि मात्र होइन । त्यो त साग भन्दापनि ज्यादा खेलाडीहरुको नियमित प्रशिक्षण र विभिन्न राष्ट्रिय स्तरका खेलहरु आयोजना गर्नको लागि हो । नियमित रुपमा सफा चिटिक्क परेको रङ्गशालामा प्रशिक्षण लिन पाउँदा खेलाडीहरुमा खेल प्रति आकर्षण बढ्ने मात्र होइन एक किसिमको छुट्टै मनोबलको विकास पनि भइरहेको हुन्छ । जुन खेल जगतको विकास र सुधारको प्रमुख आधार स्तम्भ हो । त्यसैले सरकार विन्ती छ, सागको समापनसंगै पोखरा र दशरथ रङ्गशालाको चमक नसकियोस् । यी र अरु रङ्गशालाहरु पनि दशकौं दशक यसरी नै चम्किरहुन् । यस्तो लागोस्, प्रत्येक दिन नेपालमा साग हुँदैछ । प्रत्येक दिन नेपालका लागि स्वण जितिँदैछ । सम्पूर्ण सागमा सहभागी खेलाडीलाई एउटा आम नागरिकको हैसियतले सफलताको शुभकामना !