लाउरेनी हजुर आमा
‘ए नाती एता आईज त, आज मैले एउटा खतरा खाले सपना देखें नी ! के गर्नि, म जे भएनि जस्ती भएनि तलाई एक छिन नदेखे मनै मान्दैन । तँसंग यसो दुईचार कुरा नगरे मन शान्तै हुँदैन । हुन पनि मलाई तैले जति कस्ले बुझ्छ र ? मेरो बुढेसकालको एक मात्र सहारा, लठ्ठी, टेको, झिक्रो, थाक्रो जे भनेपनि तैं हो । ल आईज यता बस ।’
‘हरिओम तत्सत । मेरो कुनै बलबर्कतले भ्याओस् बुढीको कुरा काटेर अन्त जाने । आखिर मैले पनि आफ्ना इच्छा, आकाँक्षा, चाहनादेखि लिएर (गोजो तताउने) भनेको यिनै बुढी हुन् । यस्सो दिनको एक दुई घण्टा यिनको भाषण अझ भनौं भने यिनको भाषामा (लेउचर) सुनेकै भरमा मेरो कल्याण भएको कुरा यहाँहरुलाई थाहै छ ।’
‘ह्याँ छेउमा आएर बस् । सँधै चिया खाने बेलामा हराउँछस् । यसो हजुरआमासंग बसेर एकदुईवटा गफ गर्न सक्दैनस् । जहिले नि लुखुर लुखुर नडुल । हेर अब तँ पनि लाठे तन्देरी भईस् । तैले नि तेरा हजुर बुवा, तेरा बाले जसरी जागिर खान पर्च । सँधै यसरी बरालिएर हिड्ने हैन । कि लाउरे हुन जान्छस् र ! हेर तेरा हजुर बा लाउरे हुनुमा मेरो ठूलो हात छ । पहिला त लाउरे बनाउन घरघरमा खोज्दै खोज्दै आउँदथे । तेरा हजुरबा लाउरे हुन जान पर्दछ भनेर गाईको गोठमा लुक्दा मैले उ त्यहाँ छन् भनेर देखाई दिएकी हूँ । अनि छैन त मेरो ठूलो हात ?’
‘तेरा हजुरबालाई समातेर लगे । भर्ति गराए । बुढा लाउरे भए । मलाई चिठ्ठी पठाए । मैले नि अलिअलि पढ्न की थिए । खै अरु त थाहा छैन । बुढी मान्छे विर्सि सकें । लास्टाँ चाहि ‘आई लब यू’ लेखेको थियो । अहिलेसम्म झलझली याद आउँछ ।’
‘तेरा हजुर बा, पहिलो छुट्टी आउँदा ड्याम्मको बाकस, मलार्य साडी, चोलो गुन्यो, चुरा पोते, तेरा बाउँलाई दउरा सुरुवाल, तेरी आमालाई बनारी साडी के के हो के के ? दुईटा भरियाले सकि नसकि भारी बोकेर लिएर आथे । संगसंगै दुईटा आफ्ना पल्टनका साथी पनि । आँगनमा ड्याम्म भारी राखेपछि मलाई हेरेर मुसुक्क हाँसेर सन्चै छौ कान्छु भनेर मलाई हेरेर आँखा झिमिक्क झिम्क्याए तेरा हजुर बाउले । म त झण्डै ढलेकी । मैले नि मुसुक्क हाँसेर टाउको मात्रै हल्लाएँ ।’ तेरा हजुरबाउका साथीहरु त मलाई देखेर टोलाको टोलाई भए । ’