साता अगाडी चैत्र ७ गते नेपाली प्रजातान्त्रिक आन्दोलनका अगुवा नेता गिरिजाप्रसाद कोइरालाको नेपाली जनले श्रद्धा पूर्वक सम्झना गर्यो । आम नेपालीले श्रद्धा पूर्वक गिरिजा बाबू नामले सम्बोधन गर्ने कोइराला विसं १९८१ असार १८ मा जन्मेका थिए । विराटनगर जुट मिलबाट श्रमिकहरुको नेतृत्व गरेर श्रमिकको हकहितका लागि आन्दोलनमा सहभागी भएर राजनैतिक जीवनको प्रारम्भ गरेका कोइराला छ दशकभन्दा बढी नेपाली राजनीतिमा सक्रिय रहे । २०६६ साल चैत्र ७ गते मध्यान्ह ८६ वर्षको उमेरमा कोइरालाको भौतिक देहान्त भएपनि नेपालको प्रजातान्त्रिक आन्दोलनमा चासो राख्ने सबै र नेपाली कांग्रेसका समर्थका शुभेच्छुकले उनलाई स्मरण गरिरहनेछन् ।
अहिले ट्रेड युरियन कांग्रेस नामले परिचित नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको स्थापना र नेतृत्व गरी मजदुर आन्दोलन मार्फत नेपाली राजनीतिमा उदाएका कोइराला ४ पटकसम्म देशको सर्वोच्च कार्यकारी ‘प्रधानमन्त्री’ बन्न सफल भए । जीवनको उत्तरार्धमा गणतन्त्र नेपालको राष्ट्रपति बन्ने इच्छा भने अधुरो रह्यो । १७ हजार नेपाली नागरिकको ज्यान लिनेगरी भएको दशक लामो माओवादी हिंसात्मक आन्दोलनको शान्तिपूर्ण अवतरण गराउने कार्यको समेत सफल नेतृत्व गरेका कोइरालालाई निर्भिक, निडर र दृढ निश्चयी नेताको रुपमा आम नेपालीले चिन्दछन् ।
राणा प्रधानमन्त्रीलाई नागरिकको अवस्था थाहा दिनभन्दै किसानको पसिनाले लतपत भोटो र कछाड पठाउने हिम्मत गरेबापत सर्वस्व सहित देश निकालामा परेका विराटनगरका कृष्णप्रसाद कोइराला र उनकी धर्मपत्नी दिव्या कोइरालाको कान्छा छोराको रुपमा भारतमा गिरिजा प्रसाद कोइरालाको जन्म भएको थियो । कठिन संघर्षपूर्ण र लामो राजनैतिक जीवनयात्रा तय गरेका कोइराला पहिलोपटक २०४८ जेठ देखि २०५१ मंसिर समा नेपालको प्रधानमन्त्री भए ।
दोस्रो पटक २०५५ वैशाखमा प्रधानमन्त्री बनेका उनी २०५६ जेठ १८ मा पद्मुक्त भए । २०५६ चैत्रमा तेस्रो पटक प्रधानमन्त्री नियुक्त कोइराला २०५८ साउनसम्म प्रधानमन्त्री रहे । २०६२÷६३ को जनआन्दोलनको सफलता संगै संसद पुनः स्थापना पश्चात २०६३ वैशाख १३ मा चौथो पटक प्रधानमन्त्री बर्ने । २०६५ भदौ २ मा उनको चौथो कार्यकाल सकियो । कोइराला नेपालमा राजतन्त्रको अन्य संगै प्रथम राष्ट्राध्यक्ष बने तर माथि नै उल्लेख गरियो कि प्रथम राष्ट्रपति बन्ने उनको इच्छा भने पूरा भएन ।
प्रजातन्त्र स्थापना पछिको निर्वाचनमा नेपाली काँग्रेसले बहुमत ल्याएपछि पहिलो पटक २०४८ जेठ १२ मा प्रधानमन्त्री नियुक कोइरालाले संसद्मा शिक्षा, सञ्चार र स्वास्थ्य लगाएत क्षेत्रमा उदार कानुन
बनाए । पूर्वाञ्चल विश्वविद्यालय तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरे, कोइरालाले । स्थापित निजी क्षेत्रहरुलाई देशका विभिन्न भागहरुमा चिकित्सा र इन्जिनियरिङ कलेजहरू सञ्चालनको अनुमती समेत कोइराला नेतृत्वको सरकारले दिएको हो । चितवनमा चीन सरकारको सहयोगमा देशकै ठूलो क्यान्सर अस्पताल निर्माण उनकै पालामा प्रारम्भ भयो । यावत जनपक्षिय कामको थालनी गरेका कोइराला भारतसंगको टनकपुर सन्धीलाई सम्झौता भनेर ढांटेको भन्दै आलोचित बने । उनका सय राम्रा काम एकाध नराम्रा कामका कारण ओझेलमा परे ।
प्रधानमन्त्रीको रुपमा देशको नेतृत्व गरिरहँदा धेरै पटक विवादमा तानिएका कोइराला भारतीय मुलका व्यापारी दिलश धमिजालाई अपारदर्शी रुपमा नेपाल वायु सेवा निगमको युरोपको लागि मुख्य प्रतिनिधि नियुक्त गरे पछि थप विवादमा परे । धमिजा काण्डका नामले परिचित यो प्रकरणले कोइरालाको राजनैतिक उचाई घटाउन्न सघाएको थियो । लगतै लाउडा विमान भाडा प्रकरणमा मुछिएका कोइरालाका कारण सिंगो कांग्रेसको आधार मात्र खल्बलिएन, लामो समय संसद अवरुद्ध भयो । कोइराला स्वयम पद छाड्न बाध्य भए । २०५५ सालमा उनी फेरी चेज एयर काण्डमा मुछिए छोरी सुजाता कोइरालालाई पार्टी र राज्यसत्तामा स्थापित गराउन उनले गरेका कतिपय अस्वाभाविक क्रियाकलापले विवादित बने । आज पर्यन्त कोइरालाको आलोचना गर्नुपर्दा ‘पत्री मोहले बदनाम बाबु’ को रुपमा चित्रण गर्ने गरीन्छ ।
६० को दशक अगाडी अर्थात तेस्रो प्रधानमन्त्रीत्व कालसम्म विवादै विवादमा घेरिएका र लोकप्रियताको ग्राफ ओरालो लागेका कोइराला त्यसपछि भने कांग्रेसजन मात्र होइन विपक्षी दलका नेताहरु तथा कार्यकर्ताहरु माझ समेत लोकप्रिय बने । जीवनको उत्तरार्धमा कोइरालाको लोकप्रियता चुलियो । यद्यपी धर्म निरपेक्षता सम्बन्धि कोइरालाको गैरजिम्मेवार अभिब्यक्तिको बेलाबेला चर्चा र आलोचना हुने गर्छ ।
२०६१ माघ १९ मा तत्कालिन राजा ज्ञानेन्द्रले प्रजातान्त्रिक ब्यवस्थाको अन्त्य गर्दै शाही घोषणा मार्फत शासनसत्ता आफ्नो हातमा लिएपछि शेरबहादुर देउवाद्वारा विघटित प्रतिनिधि सभाको पुनः स्थापनाको एक सुत्रिय माग राखेर कोइराला आन्दोलनमा होमिए । ८४ पुजा गर्ने उमेर पुग्नर लागेका कोइरालाको आन्दोलनमा उत्साहजनक सहभागिता र नेतृत्व देखेर अन्य दलहरू पनि आन्दोलनमा होमिए । २०६२÷०६३ को आन्दोलन सफल भयो । यस अघि नै दशक लामो हिंसात्मक द्वन्द्वमा सहभागी माओवादी कोइरालाकै सक्रियतामा शान्ति– पूर्ण राजनीतिमा आउन राजी भैसकेको थियो ।
२०६१ चैत्र २६ बाट सुरु भएको दोस्रो जनआन्दोलन गिरिजाप्रसाद कोइरालाको सक्रियता र नेतृत्वमा अगाडी बढ्यो । र झण्डै चारवर्ष अगाडी राजकिय सत्ता आफ्नो हातमा लिएका राजा ज्ञानेन्द्र नागरिक समु झुके । २०६३ वैशाख ११ मा कोइरालाको एक शुत्रिय माग पुरा भयो । कोइरालाकै नेतृत्वमा २०६३ जेठ ४ मा बसेको प्रतिनिधि सभाको बैठकले राजाको सम्पूर्ण अधिकार प्रधानमन्त्री, मन्त्रीपरिषद् र संसदमा ल्याउने साथै श्री ५ को सरकारको सट्टा नेपाल सरकार लेख्ने भन्ने ऐतिहासिक निर्णय ग¥यो। यहि दिन नेपाललाई धर्म निरपेक्ष राष्ट्र समेत घोषणा
गरियो । सोही वर्ष मंसिर ५ मा नेपाल सरकार र द्वन्द्वरत माओवादीबीच शान्ती सम्झौतामा हस्ताक्षर भयो । जसमा हस्तारकती मध्येका एक उनै कोइराला थिए । यतिमात्र होइन्, त्यस लगतै माघ १ मा अन्तरिम संविधान जारी भयो । यसरी नेपाली राजनीति एकपछि अर्को गर्दै सकारात्मक दिशामा उत्युख हुनुमा कोइरालाको महत्वपूर्ण र नेतृत्वदायी भूमिका रह्यो ।
यतिमात्र होइन्, कोइरालाको नेतृत्वको सरकारले संविधान सभाको निर्वाचन गरायो । उन्कै प्रधानमन्त्रीकालमा २०६५ जेठ १५ मा नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरियो । यसरी कोइरालाकै पालामा ३६७६ वर्ष लामो इतिहास भएको राजतत्त्रात्मक व्यवस्था तथा २३८ वर्ष पुरानो शाह वंशीय राजतन्त्रको अन्त्य भयो । त्यसयता ३ जना नेपाली जनताका सन्तान राष्ट्र प्रमुख भैसकेका छन् । यावत परिवर्तन र उपलब्धीका संवाहक गिरिजाबाबुको १४ औं स्मृति दिवसको अवसरमा शब्द श्रद्धा ।
गिरिजा बाबुको सम्झना
previous post