मार्च २४ मा संसारभर अन्तर्राष्ट्रिय क्षयरोग दिवस मनाइयो । क्षयरोगका बारेमा जानकारी गराउने र चिकित्सकको प्रत्यक्ष निगरानीमा नियमित औषधी सेवन गर्दा क्षयरोग निको हुन्छ, डराउनु पर्दैन भन्ने सन्देश प्रवाह गर्नु यसको उद्देश्य रहेको छ । चिकित्सा विज्ञानले संसारमा विकासको ठूलो फड्को मारेको छ तर क्षयरोग उन्मूलनमा भने अपेक्षित सफलता हात परेको छैन् । तथ्याङक भन्छ, विश्व जनसंख्याको एक तिहाइ जनसंख्यामा क्षयरोगका जिवाणुको संक्रमण छ । नेपालको कुरा अझ बेग्लै छ । नेपालको कूल जनसंख्याको झण्डै ५० प्रतिशत जनसंख्या क्षयरोगका जीवाणुबाट संक्रमित रहेको अनुमान छ ।
बोलचालको भाषामा टिबी भनिने यो रोगको संक्रमण दर नेपाल जस्ता विकासोन्मुख देशहरुमा धेरै रहने गरेको छ । नेपालमा प्रत्येक वर्ष ४४ हजार नयाँ क्षयरोगी थपिने र पाँच देखि सात हजारले यही रोगका कारण ज्यान गुमाउने गरेको तथ्याङ्क पनि हामीसंग छ ।नेपाल सरकारले सन् २०३५ सम्ममा क्षयरोगबाट हुने मृत्युलाई ९५ प्रतिशतले घटाउने लक्ष्य लिएको भए पनि ग्रामिण क्षेत्रमा व्याप्त अशिक्षा र गरिबीका कारण यो लक्ष्य सहजै हासिल होला भनेर भन्न सकिने अवस्था छैन । खासगरी धूमपान र मद्यपानका कारण मानव शरिरको महत्वपूर्ण अङ्ग फोक्सोमा हुने क्षयरोगको दर हामीकहाँ बढी छ । यसलाई कम गर्न क्षयरोग विरुद्ध जनचेतना जगाउनु नै महत्वपूूर्ण काम हुन आउँछ । त्यसैले सरकार र सरोकारवाला निकायहरु यस तर्फ सचेत हुनु जरुरी छ । क्षणिक प्रचार प्रसारका लागि सहरी क्षेत्रमा जनचेतनाका कार्यक्रमहरु चलाएर हाम्रो लक्ष्य पूर्ण हुने अवस्था छैन ।
तीनहप्ता वा बढी लगातार खोकी लागेमा, खकारमा रगत देखिएमा, स्वास फेर्न गाह्रो भएमा वा छाती भारी भएमा, अचानक शरिरको तौल घटेमा, थकान महसुस हुने भएमा क्षयरोग लागेको हुन सक्छ । यस्तो अवस्था आएमा तुरुन्त स्वास्थ्य संस्था गएर स्वास्थ्य परिक्षण गर्नु पर्दछ । सरुवा रोग भएकाले थप सचेतता पनि आवश्यक हुन्छ । नेपालमा सरकारले क्षयरोगको उपचार निःशुल्क गर्ने व्यवस्था गरेको छ । चिकित्सकको निगरानीमा नियमित औषधी सेवन गर्दा यो निको हुन्छ । डराइहाल्नु पर्ने अवस्था त छैन तर रोग लागेपछि उपचार गर्नु भन्दा रोगलाग्नै नदिनु बुद्धिमानी हुन्छ, त्यसैले क्षयरोगबारे जानकारी राख्नु र सचेत हुनु अनि माथी भनिएका लक्षण देखिनासाथ स्वास्थ्य जाँच गराउनु आवश्यक हुन्छ । हामी सबै क्षयरोगबाट बच्न सकौं, यो वर्षको दिवसले हामीलाई यही सन्देश प्रदान गरोस् ।