विश्व क्यान्सर दिवसको अवसर पारेर सरकारले पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान प्रारम्भ गरेको छ । विश्व क्यान्सर दिवसकै दिन माघ २२ गते मंगलबार प्रारम्भ अभियानका क्रममा विद्यालयमा कक्षा ६ देखि १० सम्म पढ्ने किशोरी तथा विद्यालय बाहिर रहेका १०–१४ उमेर समूहका किशोरीले एचपिभी खोप लगाउने छन् । तनहुँका करिब १४ हजार २ सय ७८ किशोरीले यो खोप लगाउने छन् भने देशभरका १६ लाख ८८ हजार ७६८ जना किशोरीलाई खोप दिइने लक्ष्य सरकारले राखेको छ ।
फागुन ६ सम्म देशभर एकै पटक सञ्चालन हुने खोप अभियानका क्रममा लगाइने यो खोपले किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउँछ । खोप अभियानमा देशभर १८ हजार नौ सय विद्यालयका खोप केन्द्र र आठ हजार दुई सय अन्य खोप केन्द्र रहने छन् । २७ हजार ८० स्वास्थ्यकर्मी परिचालन हुने यो अभियानमा ५४ हजार एक सय ६० स्वयंसेवक खटाइएका छन् । नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा रहेको छ ।
तनहुँमा माघ २५मा सकिएको पहिलो चरण अन्तर्गत तोकिएको उमेर समूहका भानु, व्यास, देवघाट, बन्दिपुर, आँबुखैरेनीका किशोरीलाई खोप लगाइएको छ । यसैगरी माघ २७ सुरु भई हिजो माघ ३० गते सकिएको दोस्रो चरणमा ऋषिङ, घिरिङ, म्याग्दे, भिमाद र शुक्लागण्डकीमा खोप अभियान सम्पन्न भएको छ ।
क्यान्सरका कारण मृत्युको मुखमा पुगेर पनि बाँच्न सफल भएकी अभिनेत्री मनिषा कोइरालालाई अभियानको दूत बनाएर सरकारले क्यान्सर असाध्य रोग होइन भन्ने सन्देश प्रवाह गर्न चाहेको छ । विरामीको संख्या बढ्दै जाँदा उपचारका लागि अस्पताल तथा चिकित्सकको थप व्यवस्था त भएको छ नै क्यान्सरका विरामीलाई एकलाख उपचार खर्चको निर्णय गर्दै सरकारले यसका विरुद्धको लडाईँलाई सहज बनाएको छ । हालै प्रदीप पौडेल नेतृत्वको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले किमो निःशुल्क गर्ने निर्णय समेत सरकारले गरेको छ । यी सबै व्यवस्थाले हामीलाई क्यान्सर विरुद्ध लड्न अवश्य सहज हुनेछ ।
क्यान्सर विरुद्धको हाम्रो लडाईँ-सम्पादकीय
previous post