
“मानिस कमाएर धनी हुने होइन, ऊ त बचाएर धनी हुने हो ।” अर्थशास्त्रको भाषामा धनी हुनु भनेको पूँजी निर्माण गर्नु हो र पूँजी निर्माण गर्न वचत आवश्यक हुन्छ । यही कुरालाई माथि प्र्रस्तुत वाक्यले सरल भाषामा प्रस्तुत गरेको छ ।
मानिस कमाएर होइन कमाइ वचत गरेर धनी हुने हो भन्ने कुरालाई सजिलै बुझाउन अठारौं शताब्दीको अन्त्यतिरको तिब्बतको एउटा उदाहरण प्रस्तुत गर्न चाहन्छु । त्यसपछि विषयमा प्रवेश गर्नेछु । तिब्बतमा बौद्वमार्गी राजा थिए, मुने चेन्पो जो प्रजाको दुःख देख्नै सक्दैनथे । उनले जनताले भोगेको अभाव र गरिबी सधैंका लागि अन्त्य गर्न राज्यभरिका नागरिकको धनसम्पत्ति जम्मा गरे र सबैलाई बराबर बाँडे । केही समयका लागि धनी र गरीबबीचको खाडल मेटियो तर त्यो धेरै समय टिकेन । दोस्रो पटकपनि उनले अघिजस्तै गरे तर समस्या ज्युँ का त्यूँ रह्यो । अर्थात केही मानिसहरु धनी हुन सुरु गरे र केही फेरी पहिलाकै अवस्थामा फर्किए ।
हामीले गाउँ समाजमा कोही किन धनी र गरीब हुन्छ ? भनेर प्रश्न गर्ने हो भने अग्रजहरुको जवाफ हुने गर्छ, हाम्रो हातका पाँच औला त बराबर छैनन भने संसारमा भएका अरबौं मान्छे कसरी बराबर हुन सक्छन् ? मानिस फरक भएसंगै विचार फरक हुन्छ, व्यवहार फरक हुन्छ, कार्यशैली फरक हुन्छ र फरक हुन्छ आर्जन गर्ने तरिका अनि त्यसको परिचालन गर्ने तरिका । कोही आफुले गरेको कमाईको केही अंश बचाउनु पर्छ र त्यसलाई अन्य व्यवसायमा लगाउनु पर्छ भन्ने हुन्छन् भने कोही दिनभर कमायो, रातभर रमायो स्वभावका हुन्छन् । अनि सम्पत्तिमा असमानाता त भैहाल्छ । यस सन्दर्भमा मेरो चिनजानका केही व्यक्तिहरुसंगको सम्झना प्रस्तुत गर्नु सान्दर्भिक हुनेछ ।
लेखपढ खासै नभएका कारण दैनिक ज्याला मजदुरीमा घर व्यवहार चलाउनु पर्ने परिचित थिए । हरेक विहान उठ्नासाथ पसलमा गएर एक बोतल रक्सी पिउने उनी पसले वा अरु कोही हरेक दिन धनी बन्दै गएको र आफु भने सधैं गरीबको गरीब नै रहेकोमा गुनासो गर्थे । लघुवित्तबाट लिएको ऋणले उनले चामल वा मासु किन्ने बाहेक अन्य उत्पादनमूलक काममा लगाएको मलाई याद छैन ।
अर्काे पनि उदाहरण छ मसंग । आफ्नो घरको उत्पादनले मुस्किलले ४ महिना हात मुख जोर्न पुग्ने परिवारका घरमुली उनी चलनचल्तीको ज्यालामा काम नगर्ने खालका थिए । ठूला ठेक्का लिने योग्यता नभएका उनी सानातिना ठेक्का लिन्थे र उनको हिसाब हुन्थ्यो, दैनिक आम्दानी चलनचल्तीको भन्दा दोब्बर होस् । बरु खाली बस्ने तर चलन चल्तीको ज्यालामा सकेसम्म काम नगर्ने उनको सिद्धान्त नै थियो । बरु उनी दिनभर तास खेलेर वा कसैसंग चौतारमा गफिएर दिन विताइदिन्थे ।
पहिलो व्यक्ति हँुदा खाने भइरहुनका दुइवटा कारणहरु छन् । पहिलो त उहाँ स्वयम हो । किनभने दैनिक ज्याला मजदुरी गरेर कमाएको धनलाई बचत गरेर उत्पादन मूलक काममा लगाउने सोच उनमा आएन । छोराछोरीको शिक्षादीक्षा, स्वास्थ्य लगाएत विषयमा खर्च गर्नुपर्ने हुन्छ, त्यसैले मैले वचत गर्नुपर्छ भन्ने कुराको ज्ञानको अभाव वा रक्सीको नासाका कारण हो ? वचत र त्यसको परिचालन मार्फत पूँजी निर्माणमा उनको ध्यान नै गएन ।
पूँजी निर्माणका लागि वचत आवश्यक हुन्छ र त्यो वचत गर्ने इच्छा शायद उनमा भएन । अर्काे शब्दमा वचतले आफ्नो भविष्य सहज हुन्छ भन्ने ज्ञान भएन वा भएर पनि त्यसलाई अनदेखा गरे ।
मानिस कमाएर मात्र धनी हुने भए दैनिक एकहजार नगद ज्याला बुझ्ने र आफ्नो जमिनमा खनी खोस्री गर्दा वर्षभरी हातमुख जोर्न पुग्ने मानिस गाउँ समाजमा हुने खाने मै गनिनु पर्ने हो । तर वचत गर्न नचाहेका कारण उनी वर्षाे देखि हुँदा खानेको श्रेणी मै सिमित छन् । उनको अवस्था ख्राए मकै नखाए भोकैको बाट माथि उड्न सकेको छैन ।
चल्तीको भाषामा उनी गरीब भइरहनाको अर्काे कारण पारिवारिक विरासत पनि हो । उनका बुबा हँुदा खाने अवस्थाका थिए, त्यसैले उनलाई राम्रो शिक्षादीक्षा दिन सकेनन् । राम्रो स्वास्थ्य सुविधा उनले पाउन सकेनन् । फलस्वरुप उनले राम्रो रोजगारी पाउने त भएनन् नै राम्रो स्वास्थ्य नभएका कारण कतिपय अवस्थामा पाएको काम पनि गर्न सकेनन् । यसले उनको कमाईको श्रोत खुम्चिन पुग्यो र हुँदा खानेको कोटीबाट माथि उक्लन सकेका छैनन् ।
दोस्रो व्यक्ति किन गरीब भयो भनेर यहाँ विस्तृत व्याख्या गरिरहनु परेन । यहाँ प्रस्तुत गरिएका दुवै व्यक्तिको उमेर र तौल फरक होला प्रवृत्ति एउटै हो । दोस्रोलाई पनि दैनिक मेहनत गर्ने र थोरै वचत गरेर त्यसको परिचालन मार्फत उत्पादनमा वृद्धि गरी थप पूँजी आर्जन गर्दे हुँदाखाने बाट हुनेखानेमा पुग्ने आकांक्षा नै रहेन । शायद यस्तै प्रवृत्तिका नागरिक भएका कारण तिब्बतका राजा चेन्पोले दुइपटक सम्म गरेको प्रयत्न असफल भएको थियो ।
हामी कहाँ पनि गरिबी निवारणका अनकौं प्रयास नभएका होइनन् । तर तिनले अपेक्षित प्रतिफल दिन सकेका छैनन् । राज्यका कतिपय काइदा कानुन धनीलाई झन धनी र गरीबलाई अझ गरीब बनाउने खालका छन् । तिनले धनी र गरीबबीचको खाडललाई अझ फराकिलो बनाउँदै लगेका छन् । चल्तीको भाषामा गरीब भनिने हरु मैले माथि प्रस्तुत गरेजस्ता मात्र छैनन् । कोही त लगानीको श्रोत पाए लगानी गरेर दस नङ्ग्रा खियाउँदै आफुलाई हुँदाखानेबाट हुनेखानेमा उकाल्न चाहन्छन् । तर उसले खोजे अनुकुल वातावरण छैन । अहिले पनि बैक मार्फत लिइने ऋणमा विपन्नको पहुँच छैन । गाउँका साहुसंग ऋण लिएर व्यवसाय गरौं भने चर्काे व्याजदरका कारण व्यवसायको कमाई जती साहुको ऋणको साँवा व्याज तिर्दैमा ठिक्क हुने अवस्था छ । यस्ता थुप्रै अवस्था र व्यवस्थाहरु छन् जसले हुनेखानेलाई अझ हुनेखाने र हुँदाखानेलाई उस्तै राख्छन् ।
तर सत्य के पनि हो भने केही गर्ने हुटहुटी हुनेहरुका लागि हुँदाखानेबाट हुनेखानेमा पुग्न कठिन छैन । सुनेको छु, विनोद चौधरीका पुर्खा रित्तोहात नेपाल आएका थिए । अहिले उनी विश्वकै धनाढ्यमा पर्छन । आफ्नो पाखुरी र कर्ममा विश्वास भए अहिलेको विनोद चौधरी हुन औसत नेपाली मलाई त हजार जुनी लाग्छ भन्नु पर्ने हुँदैन ।
धेरै हदसम्म हुँदाखाने रहिरहने वा हुनेखाने बन्ने भन्ने कुरा हामी आफैमा निर्भर रहन्छ ।