ढुङ्गे युगबाट सुरु भएको मानव सभ्यताको विकास विभिन्न आरोह–अवरोहहरु पार गर्दै आजको आधुनिक युग सम्म आइपुगेको हो । हिजोको त्यो समय चक्रबाट आजको यो समय चक्रसम्म मानव समाज सजिलै आइपुगेको होइन । ज्ञान, चेतना, संस्कार, शिक्षा, विज्ञान र प्रविधिमा एक पछि अर्काे फड्को मार्दै आजको अवस्थामा आएको
हो । मानव सभ्यताको विकासको यो कालखण्डमा मानिसले शिक्षा र प्रविधिको विकासको स्वाद मात्र महसुस गरेको छैन बरु अनकौं दुःख, कष्ट र समस्याहरुको सामना गरेको छ । समय समयमा देखापर्ने नयाँ नयाँ खालको रोगव्याधी र महामारीहरु तिनै दुःख कष्टका उदाहरणहरु हुन् । हैजा, कुष्ठरोग, क्षयरोग, एचआईभी एडस्, यी सबै रोग मानव समाजले समय चक्रको कुनै न कुनै खण्डमा सामना गरेका दुःखहरु हुन् । खुसीको कुरा मानिसले यी मध्येका अधिकांश माथि जीत हासिल गरेको छ अनि कतिपयसंग अझै पनि लड्दैछ, आफ्नो अस्तित्व रक्षाका लागि । विश्व मानव समुदायले सामना गर्नुपरेको त्यस्तै दुःखहरु मध्ये पछिल्लो दुःख हो कोरोना
भाइरस् ।
२०१९ को अन्त्यतिर चीनको वुहान प्रान्तमा पहिलो पटक देखापरेको यो भाइरसले केही दिनमा नै विश्वलाई आक्रान्त बनायो । जटिल स्वास्थ्य समस्या बनेको यो भाइरसले एकपछि अर्काे भेरियण्टको रुपमा देखा पर्दै मानव सभ्यतालाई नै संकटमा पार्ने होकि भन्ने त्रासले विश्वलाई सतायो र अझै सताईरहेको छ । हामी हरक्षण मुखमा मास्क लगाएर अनि क्षणक्षणमा स्यानीटाइजर लागाएर हिड्न बाध्य छौं । अझै हाम्रो स्वास्थ्य माथि मडारिएको संकटको कालो बादल हटेको छैन । यसले आफ्ना परिवारका सदस्य, इष्टमित्र, साथीभाइ सबैसंग भौतिक दूरी कायम गर्न बाध्य बनाएको छ । विश्वका लाखौं मानिसले यसैका कारण ज्यान गुमाउन पुगे । व्यापार, पर्यटन, उद्योगधन्दा, सार्वजनिक सेवा, मनोरञ्जन लागाएत सबै क्षेत्र प्रभावित भए । यस्तोमा शिक्षा क्षेत्रमात्र अछुतो रहने भन्ने कुरै भएन । कोरोना कै कारण विश्व शिक्षा क्षेत्र नराम्ररी प्रभावित हुन पुग्यो ।
एउटा विद्यार्थीको आँखाबाट हेर्दा कोभिडले सबैभन्दा प्रभावित भएको क्षेत्र शिक्षा हो । विज्ञान र प्रविधिको क्षेत्रमा जतिसुकै विकास भएपनि हाम्रो जस्तो अल्पविकसित राष्ट्रमा आज पनि शिक्षा प्रदान गर्ने वा ग्रहण गर्ने सबैभन्दा प्रचलित र सुलभ माध्यम भनेको भौतिक रुपमा शिक्षक तथा विद्यार्थी कक्षामा उपस्थित भएर गरिने पठन पाठन नै हो । कोभिड–१९ को कारणले आफ्नै परिवारका सदस्यसंग पनि भौतिक दूरी कायम गरेर वस्नु परेको अवस्थामा विद्यालय उपस्थित हुने भन्ने त कुरै भएन । शिक्षक आफ्नो घरमा बन्द, विद्यार्थी आफ्नो घरमा बन्द । बन्दाबन्दीका कारण पुरै देश पिंजडाको सुगा ।
कोभिडको त्रास कहिले सकिने हो थाहा थिएन र अझै थाहा छैन । त्यसो भनेर लाखौंं विद्यार्थीको भविष्यसंग जोडिएको पठनपाठन क्रियाकलापलाई ठप्प हुन दिने कुरा त भएन । यस्तैमा फुरेको उपाय हो, वैकल्पिक शिक्षा । जसलाई जसरी सिकाई क्रियाकलाप गर्दा सहज हुन्छ, त्यसरी नै सञ्चालन गर्ने । रेडिकोको माध्यम, टेलिभिजनको माध्यम, मोवाईल र इन्टरनेटको माध्यम वा अन्य कुनैपनि उपाय अपनाएर जे जसरी सम्भव हुन्छ त्यसरी तर बालबालिकाको सिक्ने अवसर गुम्न नदिने । शैक्षिक शत्र खेरजान नदिने । अन्य जस्तै पूर्ण ठप्प रहेको शिक्षा क्षेत्रलाई केही चलायमान बनाउने उपयुक्त उपयुक्त उपाय यिनै थिए । सरकारले आफ्नो ठाउँबाट पहल थाल्यो । तर वैकल्पिक शिक्षाको कुरा भन्दा र सुन्दा जति सजिलो थिएन । निःशन्देह परम्परागत शिक्षा प्रणालीभन्दा केही फरक अभ्यास गर्नका लागि यो एउटा राम्रो अवसर थियो । संगै चुनौतिहरु पनि प्रसस्त थिए । अवसरको कुरा गर्दा खासगरी रेडियो, टेलिभिजन वा इन्टरनेटको माध्यमबाट पठनपाठन गर्ने कुरामा पक्कै पनि नयाँ प्रविधिसंग परिचित हुने, त्यसलाई अपनाउँदै आममानिसको दैनिकीसंग जोडेर सिकाई प्रभावकारी बनाउने, समयसंगै विकसित प्रविधिसंग रमाउन सक्ने र त्यसबाट प्रसस्त फाईदा लिने पुस्ता तयार हुन सक्थ्यो । कोभिडको समयमा त झन यो अत्यन्त लाभकारी थियो । सिक्नका लागि घरबाहिर अनि भिडभाडमा जानु नपर्ने, समयको बचत हुने, एउटै जनशक्तिले धेरै मानिसलाई सिकाउन सक्ने ।
वैकल्पिक शिक्षा भन्ना साथ अनलाइन कक्षा भन्ने बुझ्ने र त्यसका लागि विद्युत सुविधा, मोवाइल वा ल्यापटप वा कम्प्युटरको उपलब्धता संगसंगै घरमा इन्टरनेटको सुविधा समेत जोडिएर आउँथे । तर खासगरी हाम्रो जस्तो निम्न आय भएका परिवारको बाहुल्य रहेको देश जहाँका सबै नागरिकको घरमा इन्टरनेटको त कुरै छाडौं विद्युत सुविधा समेत पुगेको छैन । हाम्रा लागि यो चुनौति मात्र होइन नमिठो मजाक बनेर आएको थियो ।
साथीहरुसंग खेल्दै रमाउँदै पढ्ने बानी परेका र त्यो वातावरणको आवश्यकता समेत भएका साना बाबुनानीहरु लाई अनलाइन शिक्षा झण्डै अर्थहिन थियो । विहान १० बजे देखि साँझ ४ बजेसम्म एकोहोरो कम्प्युटर वा मोबाइलको पर्दामा एकोहोरो हेरेर पढ्ने कुरा ति साना बाबुनानीको लागि त असम्भव जस्तै थियो नै ठूला कक्षाका विद्यार्थीहरुका लागि प्रति प्रितिकर थिएन । आँखा तथा ढाड अनि घाँटी सम्बन्धी स्वास्थ्य समस्या आउने कुराको त अझै हिसाब नै छैन ।
बालबालिकालाई विद्यालय पठाएर आफु काममा जानुपर्ने बाध्यता भएका अभिभावकले समय दिन नसक्दा हातमा भएको मोबाईल र उपलब्ध इन्टरनेट सुविधाको गलत प्रयोग गर्ने बालिबालिकाका कारण पनि अनलाईन कक्षा चुनौति बनेको थियो ।
बैकल्पिक शिक्षाका लागि भनेर संघीय सरकार र स्थानीय सरकारहरुले पाठ्य समाग्री बनाएका पनि हुन तर कक्षा जानै नपाएको र त्यस विषयमा कुनै भेउ नपाएको विद्यार्थीलाई अभ्यास पुस्तकको रुपमा आएका ति पाठ्य सामग्री कालाअक्षर भैसी बराबर भए । रेडियो र टेलिभिजन मार्फत पढाउने प्रयत्न पनि भएका हुन तर ति प्रभावकारी हुन सकेनन् किनभने त्यहाँ दोहोरो संवाद हुन पाउँदैनथ्यो ।
माथि भनिएजस्ता विभिन्न अवसरहरु भए पनि वैकल्पिक शिक्षाका थुप्रै चुनौतिहरु थिए । एकसाथ एकभन्दा बढी छोराछोरीका लागि मोबाईल किन्ने, इन्टरनेट जोड्ने जस्ता कुरा अधिकांश अभिभावकका लागि सहज थिएन । तर यसो भन्दैमा हामीले यसलाई अपनाउनु हुँदैन वा अपनाउने प्रयत्न गर्नु हुँदैन भन्ने होइन । बरु प्राप्त अवसरको अधिकतम सदुपयोग गर्दै आधुनकि प्रविधिसंग परिचित हुने र त्यससंग रमाउने कुराबाट हामी पछि हट्नु हुँदैन । कोभिड त अहिले सामान्य बन्दै गएको छ तर यस्ता महामारी भाविष्यमा पनि आउन सक्ने कुरातर्फ सचेत बन्दै सिकाईमा उपलब्ध आधुनिक प्रविधिको प्रयोग गर्ने र त्यसबाट अपेक्षित फाईदा लिने कुरामा हामी तयार रहनु पर्छ । हामी यसरी तयार बनौं कि यस्ता महामारीका क्रममा आउने सिकाईका बैकल्पिक माध्यमहरु हाम्रालागि चुनौति होइन अवसर बनेर आउन् ।
( जुनियर युवा रेडक्रस दिवसको अवसरमा फागुन २२ गते नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाले महेन्द्र मावि म्याग्देमा आयोजना गरेको वक्तृत्वकला प्रतियोगिता तृतीय स्थान प्राप्त गर्न सफल छात्रा पवित्रा पन्थको वक्तृताको सम्पादित अंश । )
कोभिड–१९,वैकल्पिक शिक्षाः अवसर र चुनौति
previous post