वि सं २०८० को कुशेऔँसी भाद्र २८ गते बिहीबार परेको छ । कुशेऔँसीलाई बुवाको मुख हेर्ने दिन वा पितृ सम्मान दिवस भनिन्छ। यस दिन बुवा भएकाले सबेरै आफू नुहाइधुवाइ गरी बुवालाई प्रत्यक्ष भेटेर आफूबाट जानेर वा नजानेर कुनै गल्ती गरेको भए मलाई माफी दिनुहोला भन्ने र म जेजति भएँ हजुरकै कारणले भएको हुँ, मलाई अझै आशिर्वाद दिनुहोस् भन्दै झुकेर प्रार्थना गर्ने अनि बुवाको स्वास्थ्यको कामना गर्दै साहाकारी तथा सात्विक भोजन गराउने,सकिन्छ भने लुगा कपडा वा बुवालाई मन पर्ने वस्तु दिने चलन छ ।
बुवा नहुनेले पनि सबेरै नुहाइधुवाइ गरी पितृ हुनुएका बुवाको नाम र गोत्र सम्झदै तर्पण दिने चलन छ । शुद्ध पानीमा गाईको दुध, तिल राखेर तर्पण बनाई दक्षिण दिशातर्फ फर्केर चढाउनु पर्छ र जानेर वा नजानेर गल्ती गरेको भए मलाई माफी दिनुहोला भन्दै जे भयो सबै राम्रो भएको छ । अझै राम्रो बनाइदिनुहोस् भन्दै पितृसँग आशिर्वाद माग्ने र पितृलाई सँधै खुशी रहनुहोस् भन्ने चलन चलिआएको छ ।
को दिन बिहान र बेलुका सके चाँदी वा पित्तल वा तामाको दियोमा तीन वा पाँच सुते बत्तीलाई गाईको घ्यु वा तिलको तेलमा बालेर पितृलाई सेता फूल चढाउन सके पितृ झनै खुशी हुने विश्वास गरिएको छ ।
हिन्दु धर्म संस्कृति अनुसार कुश माङ्गलिक कार्य,पितृ कार्य र संस्कारगत थुप्रै कार्यहरूमा पवित्रताको लागि प्रयोग गरिन्छ । कुश भगवान नारायणको प्रतीकको रूपमा प्रयोग हुँदै आएको छ । सूर्य ग्रहण तथा चन्द्र ग्रहण लागेको बेला पानी तथा खानेकुराहरू लाई शुद्ध बनाई राख्न कुशको प्रयोग गर्ने चलन छ । कुश आयुर्वेदिक जडिबुटी पनि हो।यसलाई मानसिक रोगको उपचारका लागि पनि प्रयोग गरिन्छ ।
जुन दिन चाहिन्छ त्यसै दिन पनि कुश काटेर ल्याउन सकिन्छ तर अरू दिन काटिएको कुश सोही दिनको लागि मात्र काम लाग्ने र वर्ष दिनको लागि उपयुक्त हुने कुश कुशेऔँसीको दिनमा मात्र काट्नु पर्छ भन्ने विश्वास गरिएको छ । कुशलाई घरको मूल ढोकाको माथि भागमा राख्दा घरभित्र नकारात्मक कुराहरूले घरभित्र प्रवेश गर्न नसक्ने मान्यता रहिआएको छ। जय होस् ।
कुशेऔसी/ पितृ सम्मान दिवस
previous post