
[email protected]
नेपाल यतिबेला कोरोनामय छ । सञ्चार माध्यम र सामाजिक सञ्जालहरुमा दैनिक जसो नयाँ सङ्क्रमण र कोरोनाको कारणले भएको मानिएको मृत्युको खबरहरु आइरहन्छन् । केन्द्र सरकारले ५ महिने लामो बन्दाबन्दिको औपचारीक रुपमै अन्त्य भएको धोषणा गरेपनी विभिन्न स्थानिय निकायहरुले आफ्नो क्षेत्रको अवस्था र आवश्यकता अनुसार बन्दाबन्दि गर्ने कार्य निरन्तर चलिरहेको छ । सामाजिक सञ्चालहरुमा पनि अहिले कोरोनाको विषयलाई लिएर विवादास्पद तर्कहरु आइहेको छ । एकतर्फ कोरोनालाई विश्वव्यापी महामारीको दर्जा दिइएको छ भने अर्कोतर्फ विशेषज्ञ डाक्टरहरुबाट नै कोरोना रुघाखोकी जस्तै सामान्य भाइरस भएको र यसलाई अनावश्यक हाउगुजी बनाएर महामारीको नाम दिएर त्रास फैलाउने काम भइरहेको अभिव्यक्तिहरु पनि आईरहेका छन् । माक्स र स्यानिटाइजर उत्पादक कम्पनि र व्यवसायी सँग मिलेर ठूलो चलखेल भईरहेको आरोपहरु पनि आईरहेको छ । एकथरी युवाको समूहले त नो माक्स अभियान नै चलाएका छन् । जसले गर्दा जनमानसमा थप त्रास र द्वुविधा सृजना भईरहेको छ । जे होस् कोरोनाको गफगाफ मान्छेको दैनिकि जस्तै भएको छ । आम जनमानसमा कोरोना दैनिक बहसको विषय भएपनि नेपाली राजनीतिक वृत्तमा यतिखेर अर्को विषयको वहस तात्तातो छ । विषय हो कुलमान घिसिङ ।
नेपाल विद्युत प्राविधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिने दिन नजिकिदैँ गर्दा कुलमानको ठाउँमा अबको भन्ने कुरा नेपाली राजनीतिमा यतिखेर बहसको विषय बनेको छ । जनमानसबाट पुनः कुलमान नै अर्को कार्यकाल थप गर्नुपर्ने आवाज उठ्न थालेको छ । एक हिसाबले भन्दा सामाजिक सञ्जालमा त्यसको लागी दबाबमूलक अभियाननै शुरु भएको छ भने अर्को तर्फ कुलमानको विकल्प खोज्न थालिएको, घिसिङको कार्यशैलिसँग प्रधानमन्त्री र उर्जामन्त्री असन्तुष्ट भएकोले कुलमानले अर्को कार्यकाल थप पाउने सम्भावना नरहेको अड्कल बाजी र समाचारहरु पनि आइरहेको छ । खैर नेपाल विद्युत प्राविधिकरण को कार्यकारी निर्देशकमा घिसिङ नै दोहोरिन्छन् या उनको विकल्प खोजिन्छ त्यो समयले नै बताउनेछ । कार्यकारी निर्देशक को हुन्छ भन्दा पनि महत्वपूर्ण कुरा र प्रश्न चाहिँ के हो भने अबका दिनमा नेपाल बिद्युत प्राविधिकरणको कार्य पद्धति र शैली कस्तो हुनेछ ।
नेपाल प्रकृतिको बरदान पाएको देश हो । प्रकृतिले दिएको धेरै बरदानहरु मध्ये जलस्रोत पनि एउटा प्रमुख वरदान हो । जलस्रोत नेपाललाई छिट्टै सम्पन्न राष्ट्रहरुको सूचिमा उभाउन सक्ने प्रमुख आधारहरु मध्ये एक हो, सहि सदुपयोग हुन सकेको खण्डमा । नेपालमा रहेको जलसम्पदाको अधिक्तम प्रयोग गरेर विद्युत उत्पादन गर्न सकेको खण्डमा पुरै एसियालाई पुग्ने विद्युत उत्पादन क्षमता नेपालसँग रहेको तथ्य पनि विभिन्न अध्ययनहरुले देखाएको छ । तर वास्तविकता र यथार्थ के पनि हो भने हामीसँग भएको कुल क्षमताको अत्यन्तै कम मात्रामा मात्र हामीले विद्युत उत्पादन गर्न सकेका छौं र यो पनि सत्य हो कि अझै पनि नेपालका कैयौं गाउँहरुले बिजुली बत्तिको अनुहार देखेका छैनन् । सोलार टुकिको उज्यालोमै रमाउन बाध्य छन् ।
नेपाल विद्युत उत्पादनको प्रचुर सम्भावना भएको देश हो, यसमा दुईमत छैन । उत्पादन गर्न नसक्नु हाम्रो कमजोरी हो । जति उत्पादन गर्न सक्थ्यौं त्यति गर्न नसके पनि कमसेकम त्यति त गरेका रहेछौं कि विजुली पुगेको ठाउँको जनताले २४ सै घण्टा विद्युतको प्रयोग गर्न पाउन् । कुलमानको कार्यकालले यहि देखाएको छ । त्यसैले पनि कुलमानलाई नै अर्को कार्यकाल थप्नु पर्ने जनअवाज आउनु नौलो कुरा होइन र कुलमाज स्वयम्ले पनि सरकारले चाहेमा अर्को कार्यकालको नेतृत्व गर्न तयार रहेको कुरालाई अन्यथा लिनु आवश्यक छैन होला ।
विद्युत प्राविधिकणको कार्यकारी निर्देशक अब को हुने भन्ने कुरा चासोको विषय भइरहँदा र सोहि विषयसँग सम्बन्धित भएर कलम चलाइरहँदा एकपटक विगतलाई फर्केर हेर्न मन लाग्यो । विद्युतको सन्दर्भलाई जोडेर हेर्दा हाम्रो विगत कतिसम्म दयनीय थियो भन्ने कुराको साक्षि हामी सम्पूर्ण नेपाली छौं । कुनै समयमा दैनिक २४ घण्टा मध्ये १८ घण्टासम्म लोडसेडिङको सामना गर्ने हामी नै हौं । लोडसेडिङको दैनिक तालिका नै प्रकाशित हुन्थ्यो । विद्यालयमा पिरियडको रुटिन बने सरी । काठमाडौं, पोखरा जस्ता ठूला शहरहरुमा बस्दा पनि कर्णालीको कुनै दुर्गम क्षेत्रमा बसेको आभास हुन्थ्यो विद्युतको अभावमा । हुने खानेले त जसोतसो आफ्नो जोहो गरीहाल्थ्यो तर हुँदा खाने र मध्यम वर्गिय परिवाहरुसँग प्राविधिकरणले सार्वजनिक गरेको तालिका अनुसार लाइन आउन अब यति समयबाँकि छ भनेर बेलाबेलामा घडी हेर्नुको विकल्प थिएन । समय यस्तो थियो कि घरमा इन्भर्टर हुनुको पनि वेग्लै सान हुन्थ्यो । भनिराख्नु नपर्ला त्यो समयमा सोलर प्यानल र इन्र्भटर व्यवसायीहरुले कति कमाए भनेर । यस्तो लाग्थ्यो नेपालमा साँच्चै नै विद्युत नपुगेरै लोडसेडिङ गर्नु परेको हो तर प्राविधिकरणमा कुलमानको आगमन सँगै यो भ्रम झुट सावित भयो । जताततै उज्यालो हुन थाल्यो । लोडसेडिङ्को समय तालिका निस्कन बन्द भयो सँगसँगै बन्द भयो इन्भर्टर व्यवसायीको त भाविष्यको लागि गरेको लगानी समेत डुब्यो । सायद उनीहरुले अनुमान नै गरेका थिएनन् कि भविष्यमा प्राविधिकरणको नेतृत्व कुलमान जस्तो व्यक्तिको हातमा पनि पुग्छ भनेर । यति भन्दै गर्दा म पुरापुर कुलमानको समर्थक हुँ भन्ने लाग्ला । तर त्यसो होइन म व्यक्तिमा भन्दा पनि पद्धतिको र कार्यशैलीमा विश्वास राख्ने वर्गमा पर्छु । सायद कुलमान पनि पूर्ण रुपमा ‘दुधका धुला’ भने जस्तो नहोलान् उनीमाथि पनि भ्रष्टचारका आरोपहरु नआएका होइनन्, छानविन गर्दै जाँदा सत्यहरु सतहमा आँउदै जालान् या मानौं यो कार्यकाल जसरी सफलता पूर्वक सम्हाले आगामी कार्यकाल त सम्हाल्लान् । शंका गर्न पाइन्छ । हुन सक्छ भोलीका दिनमा उनी पनि भ्रष्टचारमा र कालो धन आर्जनमा लिग्त होलान्, त्यो भोलीको दिनले देखाउने कुरा हो भने दैनिक १८ घण्टासम्सको लोडसेडिङ्ग सहन बाद्य नेपालीलाई २४ सै घण्टा उज्यालोमा बस्न पाउने अवस्थाको सिर्जना कुलमानले गरेकै हुन् । सरकारले ऋण तिरिदिंदा पनि बर्षेनी घाटामा गैरहने नेपाल विद्युत प्राविधिकरणलाई एक बर्षमै गतबर्षको ऋण तिरेर चालु आर्थिक बर्षको खर्च व्यवस्थापन गरेर नाफामा पु¥याएकै हुन् । त्यो पनि करोडको हिसाबमा होइन । अरबौंको हिसाबमा ।
भोलिको दिनमा प्राविधिकरणको नेतृत्वको कस्ले सम्हाल्छ, भोलिकै दिनमा थाहा होला । तर नेपाल विद्यूत प्राविधिकरण र नेपाल सरकारले के चाहि थाहा पाउनु अति आवश्यक छ भने नेपालमा नेपालीलाई पुग्ने विजुली छ भन्ने कुरा नेपाली जनताले थाहा पाईसके । भोलि प्राविधिकरणको नेतृत्व जस्ले गरेपनि अब कुनै बहाना बाजीमा नेपाली जनता लोडसेडिङ्गको भार खेप्न तयार छैनन् । १८ घण्टा होइन, १८ मिनेट पनि लोडसेडिङ्ग सहन तयार छैनन् । नेपाल विद्यूत प्राविधिकरणलाई जुन मार्ग निर्देशन कूलमान घिसिङले गरेका छन् ।
भोलिको दिनमा प्राविधिकरणले बाटो नविराओस् । प्राविधिकरणको विरुद्धमा नाराबाजी गर्दै नेपाली जनता सडकमा आउनु पर्ने अवस्था कदापि नआओस् । कूलमान गएर फरक पर्दैन । कूलमान गए कूलमानको सट्टा अर्को फूलमान पक्कै आउँछ तर खबरदार कूलमान गए पनि कूलको (नेपाल विद्यूत प्राविधिकरण) मान इज्जत नजाओस् । कूलमानले स्थापित गरेको पद्धति नजाओस् ।