
–चौतारामा बस्दा छाता ओढेर बस्ने मेरो बुबा, छहारी त चौतारोमा भएको वर÷पिपलले दिएकै छ, फेरी किन छाता ओढ्नु परेको होला ? भन्ने सोचेर मलाई अनौठा मानिस लाग्थ्यो । राती ठूलो रुखको फेदमा वस्नु हुँदैन भन्नु हुथ्यो उहाँ र मेरो दिमागमा आइ हाल्थ्यो, वाहियात कुरा ।
–खाना खानु अगाडी हातमा पानी लिएर कायनवाचा….. भन्दै खानाको थाल वरपर पानी घुमाउने मेरा हजुरबुबा मलाई वाहियात लाग्नुहुन्थ्यो ।
–ब्रम्ह मुहुर्तमा नुहाउनु पर्छ भन्दै ब्रतबन्ध गरेको झण्डै एक वर्षसम्म बुबाले मलाई पाँच बजे नै उठाएर नुहाउन लगाउनु भएको हिजै जस्तो लाग्छ । त्यतिबेला खासगरी जाडो महिनामा पाँचै बजे चिसो पानीले दैनिक नुहाउनु पर्दा म मनमनै बुबालाई गाली गर्थें ।
–म सानो छँदा घरमा प्रायः लैनो र बकेर्नाे गरी दुइवटा दुहुना भैँसी हुन्थे । अर्काे वाक्यमा भन्नु पर्दा दूधको छेलोखेलो हुन्थ्यो । तर भान्सामा मासु पाकेको दिनमा बुबाले हामीलाई दूध खान दिनु हुन्थेन । किन ? भन्ने प्रश्नमा बुबाको जवाफ हुन्थ्यो, अपच सम्बन्धि रोग लाग्छ ।
–पानीको मुहान भएको ठाउँमा नाग पञ्चमीमा कतै सेती नाग भन्दै कपासको नागको आकृति बनाएर अनि कतै काली नाग भनेर गाईको गोबरको नागको आकृति बनाएर पुजा गर्नुहुन्थ्यो । बुबाको करले पुजा सामग्री बोकेर नागको थानसम्म जाने म, मानिसलाई टोकेर मृत्युृको मुखमा धकेल्ने सर्पको पुजा गरेर के गर्नु भएको होला ? भनेर बुबालाई उदेकलाग्दो भावले हेर्थें ।
बुबा वा आफ्नो अघिल्लो पुस्तासंँग जोडिएका यस्ता धेरै सन्दर्भहरु स्मृतिमा छन्, जुन हामीलाई त्यतिबेला वाहियात लाग्थे । अवैज्ञानिक लाग्थे । अव्यवहारिक लाग्थे । असँगत
लाग्थे । तर हामीले समयक्रमसँगै अग्रजका ति व्यवहार कति व्यवहारिक, वैज्ञानिक र अनुशरण योग्य रहेछन् भन्ने बुझ्दैछौं ।
हाम्रा अग्रजहरु भन्नु हुन्छ, “सुखमा नमात्तिनु, दुःखमा नआत्तिनु” । खासगरी दुःखमा नआत्तिएर निर्णय गर्न अभिप्रेरित गर्ने एक वृद्धाको कथाबाट आलेखलाई प्रस्तुत गर्न चाहन्छु अनि शिर्षकका सन्दर्भमा थप चर्चा गर्नेछु ।
रेल रोकिएको स्टेशनबाट केही युवाहरु डिब्बामा उक्लिए । डिब्बामा एकजना वृद्धमात्र यात्रुको रुपमा थिए । केही मिनेट रेल हिँडेपछि युवा मध्येको एकले भन्यो, रेल रोक्न तानिने चेन तानौं । अर्काेले अनावश्यक रुपमा रेल रोक्दा जरिवाना लाग्ने भन्दै साथीलाई सचेत गरायो । उनीहरु पैसा उठाएर जरिवाना तिर्ने तर चेन तानेरै छाड्ने निर्णयमा पुगे र पैसा उठाए । उठेको पैसा अघि चेन तान्ने प्रस्ताव गरेको युवाले खल्तीमा हाल्यो र भन्यो, चेन यो बुढोले तानेको हो भनेर भनिदिउँला । बृद्धले आफुमाथि यस्तो व्यवहार नगर्न अनुनय विनय गरे तर उनीहरुले वृद्धको कुरा एक कानले सुने र अर्काे कानले उडाए अनि चेन ताने ।
रेल रोकियो र के समस्या भयो भनि रेलका कर्मचारी उक्त डिब्बामा आए । रेल किन रोकेको ? भन्ने रेल कर्मचारीको प्रश्नमा युवाहरुले वृद्ध तिर देखाउँदै भने, चेन त यि बाजेले तानेको हो । रेल कर्मचारीले के समस्या भएर रेल रोकेको ? केही समस्या भएजस्तो त देखिंदैन, बृद्ध मानिस भएर पनि यस्तो नचाहिँदो काम गर्ने भन्दै हप्काउन थाले । बृद्धलाई लाग्यो, मैले चेन तानेको होइन भनेर भन्नुको केही अर्थ छैन किनभने रेल कर्मचारी मेरो कुरा सुन्ने वाला छैन र भन्यो, हो बाबु चेन मैले नै तानेको हुँ ।
मैले यात्रा खर्च भनि ल्याएको रुपैयाँ उ त्यो बाबुले मसँगबाट खोसेर लियो । म बेखर्ची हुने भएँ त्यसैले हजुरको सहयाता माग्न चेन तानें । वृद्धले दायाँ हातको चोरी औंला उठाएर अघि साथीहरुसँग उठाएको पैसा राख्ने युवा तिर देखाए । रेल कर्मचारीले युवाको गोजीमा छामेर हेर्दा वृद्धाले भनेजति नै रकम भेटेपछि बृद्धलाई साहासिक काम गरेको भन्दै धन्यवाद दिए र युवाहरुलाई प्रहरीको जिम्मा लगाउने भन्दै लिएर गए ।
मलाई जस्तै आफ्ना बुबा, दाजु, हजुरबुबा, हजुरआमा वा आमाले गरेका काम वाहियात, अनौठा, अनावश्यक अरु कसैलाई लाग्थ्यो वा लाग्दैनथ्यो । तर म भने बल्ल बुझ्दैछु, बुबाले चौतारीमा वस्दा पनि छाता ओढ्नुको अर्थ अनि खानाको थाल वरपर पानी घुमाउनुको महत्व । मेरा हजुरवुवा वा बुवा अनि हजुरआमा वा आमा ज्ञान र अनुभवको खानी भएको सत्य आत्मसात् भएको छ ।
चौतारीको वर पिपलका सुकेका हाँगाहरू झर्दा चोट लाग्न सक्ने वा चराचुरुङ्गीले विस्ट्याउँदा आफुले लगाएको लुगा फोहोर हुनसक्ने भएकाले मेरो बुबा चौतारीमा बस्दा पनि छाता ओढ्नु हुँदो रहेछ । रातीमा ठूलो रुखको फेदमा आश्रय लिँदा हामीलाई स्वासप्रस्वासका लागि अक्सिजनको अभाव हुनसक्ने वैज्ञानिक सत्य थाहा पाएपछि बुबाले रातीमा ठूलो रुखको फेदमा वस्नु हुँदैन भनेको कुरा कति वैज्ञानिक रहेछ भन्ने बुझेको छु र अब मलाई मेरो बुबा अनौठा मानिस अनि उहाँका कुरा वाहियात लाग्न छाडेको छ ।
ब्रम्ह मुहुर्तमा अर्थात सुर्याेदय हुन अगाडि चिसो पानीले नुहाउनुको महत्व बुझको दिनबाट बुबालाई गाली गरेका दिनहरू सम्झेर आत्मग्लानी हुने गरेको छ । दूध र मासु दुबै प्रोटिनका श्रोत भएको र दुबै सँगै खाँदा पाचन प्रक्रियामा समस्या हुने भएकोले बुबाले भान्सामा मासु पाकेको दिन खानसँग दूध खान नदिनु भएको रहेछ ।
पानीको मुहानमा नागको थान बनाएपछि कसैले पनि त्यहाँ वरपर गएर दिसा पिसाब नगर्ने तथा फाहोर नफाल्ने र मुहानसँगै पानी पनि सफा रहने भएकाले हाम्रा अग्रजहरुले सर्प(नाग)को पुजा गर्न थालेका रहेछन् भन्ने बुझपछि बुबालाई उदेक लाग्दो भावले हेर्ने म कृतज्ञता भावले हेर्ने भएको छु ।
खाना राखेको थाल अगाडी हातमा पानी लिएर कायन वाचा…. भन्दै पानी घुमाउने काम वाहियात भन्ने म जब मन्त्रको आशय अन्नदाता प्रति कृतज्ञता प्रकट गर्नुँ रहेको बुझेपछि पहिले बुबाको अगाडी हुँदामात्र पानी घुमाउने म स्वतःस्फूर्त पानी घुमाउने भएको छु ।
हाम्रा अग्रजहरू हामीलाई संकटको सामना गर्ने उपाय मात्र बताउँदैनन् बरु अनुभवबाट आर्जित ज्ञानको माध्यमबाट हाम्रो जीवन मार्ग सहज बनाउने पथ प्रदर्शन गर्दछन् । त्यसैले भनिएको रहेछ, आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको ।