१५ पुषमा एउटा चुनावी सभालाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय तिर्थ यात्रीलाई मानसरोवर यात्रा गर्न सजिलो होस् भन्नका लागि कालापानी क्षेत्रबाट सडक निर्माण कार्यलाई तिब्र बनाइएको बताए । ऐतिहासिक तथ्य प्रमाणहरुले नेपालको भूभाग भएको देखिने कालापानी क्षेत्रमा भारतले विना जानकारी सडक बनाएको कुराले फेरी एकचोटी नेपाली मन कुँडिएको छ ।
चीन तर्फ चोर औला ठड्याउँदै विस्तारवाद युग समाप्त भएको उद्घोष गर्ने प्रधानमन्त्री मोदीले बाँकी चार औलाले आफैतर्फ देखाएको सत्य आत्मसाथ गर्न सकेको देखिएको छैन । २०७७ जेठ ३१ मा नेपालको सार्वभौम संसदले सर्वदलीय एकताका साथ संविधान संसोधन मार्फत पारित गरेको नक्सामा अंकित भूभाग सुगौली सन्धि पछिको नेपाल थियो र हो । त्यसैले त्यस क्षेत्रको भोगाधिकार नेपालको हो । यसमा कसैको हस्तक्षप कुनैपनि नेपालीलाई मान्य छैन ।
सन्धिको अनुच्छेद ९ मा राजाद्वारा सन्धि मञ्जुर गरिनु पर्ने कुरा लेखिएको भएपनि तत्कालिन राजा गीर्वाणयुद्ध बिक्रम शाहबाट यस्तो गरेको कुनै रिकर्ड नभएकाले स्पष्ट छ कि यो हामी माथि जवरजस्त लादिएको थियो । १५ दिन भित्र हस्ताक्षर गर्न आग्रह गरेर २ डिसेम्बर १८१५ पठाइएको सन्धिपत्रमा ९३ औं दिन(४ मार्च १८१६) मा हस्ताक्षर हुनुले पनि सन्धि गर्न नेपाल तयार थिएन भन्ने स्पष्ट छ । सन्धिका नाममा पूर्वमा दार्जीलिङहुँदै टिस्टासम्म, दक्षिण पश्चिममा नैनीताल, कुमाउँ, गढवाल र पश्चिममा कांगडासम्मको भूभाग गुमाउनु पर्दाको पिडा हामी भोगिरहेका छौं । अझ सन्धिको पाँचौं बुँदाले स्वीकारेको काली नदीको पूर्वी भूभाग नेपालको हुने भन्ने तथ्यलाई कुल्चँदै काली पूर्वबाट बग्ने खोलालाई कालीनदी भनेर भारतले कालापानी क्षेत्रमा भोगाधिकार कायम गर्न खोजेकोप्रति हाम्रो आपत्ति छ ।
हाम्रो जमिनमा हाम्रो भोगाधिकार कायम हुनुपर्छ । तीन करोड नेपालीको मोदीलाई सन्देश हो, तिमीले चीन तर्फ चोर औंला ठड्याएर भनेका वाक्य तिम्रा हकमा हामी दोहो¥याउँदै छौं । भूगोल र जनसंख्याले हामी साना अवश्य छौं तर हाम्रो अविछिन्न सार्वभौमिकताको इतिहासलाई बुझ । सानो अाँक्ने दुस्सहास नगर । तिमी दशकौं व्रिटिस साम्राज्यको गुलाम बन्यौ तर हामीले एकदिनपनि कसैको अधिनस्त भएर रहनु परेको छैन त्यसैले हाम्रो स्वाभिमान तिम्रोभन्दा उँचा छ । नेपाल आमाको छातीमा डोजर चलाउने काम तुरुन्त बन्द गर अनि कालापानी क्षेत्रमा भएका भारतीय सैनिक तुरुन्त हटाउ । कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रै हो ।