
पृष्ठभूमिः
अदालत बद्नाम हुनुमा साना कर्मचारीदेखि ठूला कर्मचारीको भूमिका महत्वपूर्ण रहन्छ । गाउँ गाउँ अर्थात न्यायका उपभोक्ताको घरदैलोमा पुग्ने अदालतका कर्मचारीलाइ साना कर्मचारी भनेर बुझ्नु पर्ने हुन्छ । ठूला कर्मचारी र कानुन व्यवसायीको भ्रष्टभूमिकाले सुस्तगतिमा न्यायप्रशासनलाई बद्नाम गराउँदो रहेछ । तर साना कर्मचारी जो गाउँगाउँ पुग्दछन्, न्यायाधीश, पुलिस, सबैको अधिकार आफैसंग भएको जस्तो गरी गाउँवस्तीमा पुगेर आर्थिक लाभ र सेवा सुविधाका लागि धम्की दिंदा सल्केको बद्नाम डढेलो बन्दो रहेछ ।
तामेलदारको भूमिकाः
अदालतले काटेको म्याद अदालतबाट बुझेर आफूले बुझेको म्याद बाटाको म्याद बाहेक सात दिनभित्र सम्बन्धित पक्षलाइ तोकिएको रित पुरा गरी बुझाउनु तामेलदारको काम हो । यस बीचमा गाउँ बस्तीले अदालतका ती तामेलदारलाइ रोहबर साक्षी बसिदिएर सहयोग गर्नुपर्दछ । सम्बन्धित पक्षले आफ्नो नाउँको म्याद बुझेर सहयोग गर्नु पर्दछ । तामेलदारले सम्बन्धित पक्षलाइ चिनेको भए सो व्यहोरा उल्लेख गरी निजलाइ जहाँसुकै भेटेको भएपनि म्याद बुझाउन सक्ने अधिकार छ । सम्बन्धीत व्यक्ति फेला नपरेमा निजको घरठेगाना पत्ता लगाइ सम्बन्धित व्यक्ति पहिचान गरी स्थानीय दुइ जना व्यक्तिलाइ साक्षी राखेर वडाध्यक्ष वा जनप्रतिनिधिलाइ रोहबरमा राखेर म्याद बुझाएको भरपाई तयार गर्नुपर्ने गरी कानुनले व्यवस्था गरेको छ । साथै एकाघरको उमेर पुगेको व्यक्तिलाई पनि म्याद बुझाउन सक्ने व्यवस्था छ । घरमा कोही व्यक्ति फेला नपरेमा वा परेपनि म्याद बुझि नलिएमा सोही व्यहोरा उल्लेख गरी सो म्याद घरदैलामा टाँसेको तामेली प्रतिवेदन तयार गर्न सक्नेछ । अन्य प्रक्रिया पनि छन् । इमानदार भूमिकालाई प्रसंसा गर्दै अहिले यहाँ बद्नियत भूमिकाको चर्चा गरिएको छ ।
कारवाही योग्य भूमिकाः
तामेलदार गाउँमा पुग्दा मुद्धाका पक्षले उनिहरुलाई मिठो मसिनो खान दिनुपर्ने, त्यो पनि लोकल कुखुराको मासुसंग, सफासुग्घर आरामदायी बास बस्न दिनुपर्ने, मागेको जति नगद दिनुपर्ने, तामेलदारले बोलाएको ठाउँमा मागे बमोजिको दैदस्तुर लिएर हाजिर हुनुपर्ने, जस्ले धेरै पैसा दिन्छ, मुद्दा त्यसैलाई जिताइ दिने, यो कुरा कसैलाई नभन्न भनेको मान्नु पर्ने, भनेको नमाने सिआईडी बोलाएर कारवाही गर्छु भनेर धम्किनु पर्ने कानुनमा व्यवस्था नभएका गतिविधि हुन् । धम्क्याउने समेतका उल्लेखित रवैया तामेलदारको कारवाही योग्य भूमिका हो ।
अदालत र बारको चासोः
न्याय क्षेत्रलाई बद्नाम गराउने हरेकखालका गतिविधिप्रति अदालत र बार संस्थागत रुपमा चनाखो र सजग बन्नु पर्दछ । अदालतका कर्मचारीले अनधिकृत रकम असुल्ने, भोजको व्यवस्था गर्न वाद्य पार्ने, म्याद तामेल गर्न जाँदा नै विगो असुलेर भरपाइ पछि दिन्छु भनेर नदिने, विगो असुलेर ल्याएर अदालत दाखिला नगरिदिने, किर्ते बील काट्ने जस्ता जघन्य अपराधप्रति अदालत र कानुन व्यवसायीहरुको संगठनबाट निरुत्साहित पार्ने भूमिका नदेखिँदा हौसिंदो यो प्रबृत्तिले न्यायका आमउपभोक्तालाइ सताइ रहेको छ ।
निष्कर्षः
दोषीलाइ कानुनको दायरामा ल्याउँदा सुशासन प्रोत्साहित हुन्छ । सुशासन प्रोत्साहित हुँदा अदालतप्रतिको जनआस्था, विश्वास र सम्मान जगाउन सकिन्छ । जनअपेक्षाको न्याय सम्पादन हुने वातावरण बन्छ ।
