पृष्ठभूमिः
कानूनले बहुविवाहलाई पूर्ण रुपमा निरुत्साहित गरेको छ । तर हाम्रो सस्कार र प्रबृत्तिले बहुविवाहलाई प्रश्रय दिइरहेको छ । हामीले बहुविवाह दण्डनीय हो भन्ने जान्दाजान्दै पनि हेलचेक्राइ, उत्तेजनाले गुमाएको शारीरिक संयमता, परिस्थिति र परिवन्दले बहुविवाह गरिरहेका छौं । तर अब कानूनले छोड्दैन । अब पहिलो त बहुविवाह कायम हुनै सक्दैन । दोस्रो सम्पत्तिको दृष्टिले बहुविवाहबाट बन्ने पत्नि र बालबच्चाले त्यस्तो पुरुषको भागको सम्पत्तीमा मात्र चित्त बुझाउनु पर्दछ ।
कानूनमा भएको व्यवस्थाः
बहुविवाह फौजदारी कसूर अन्तरगत पर्दछ । मुलुकी अपराध संहिता ऐन २०७४ को खण्ड १ भाग २ मा फौजदारी कसूरहरु भन्ने महल छ । त्यसको परिच्छेद ११ मा विवाह सम्बन्धी कसूरको व्यवस्था गरिएको छ । कानूनमा व्यवस्था अनुसार मञ्जुरी बिना विवाह गर्न नहुने कुरालाई स्पष्ट गरेको छ । उमेर नपुगेको व्यक्तिको मन्जुरीलाई मन्जुरी नमानीने गरी कानूनले स्पष्ट गरेको छ । हाडनातामा र बाल विवाह गर्न नहुने कुरालाई कानूनले स्पष्ट गरेको छ । विवाहमा लेनदेन गर्न नहुने कुरालाई पनि कानूनले स्पष्ट गरेको छ ।
बहुविवाह गर्न नहुने
विवाहित पुरुषले बैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्न हुँदैन भन्ने किटानी व्यवस्था गरेको छ । त्यसैगरी कुनै पुरुषले बैबाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गरेमा त्यस्तो विवाह स्वतः बदर हुने स्पष्ट कानूनी व्यवस्था छ । बदर मात्रै हुने होइन, बहुविवाह गर्ने गराउनेलाई एक बर्षदेखि पाँच बर्षसम्म कैद हुने व्यवस्था छ । साथमा दश हजारदेखि पचास हजारसम्म जरिवाना हुने व्यवस्था छ ।
देवानी संहितामा बहूविवाहः
मुलुकी देवानी (संहिता) ऐन २०७४ ले बहुविवाहको बारेमा संकेत गरेको छ । देवानी संहिताले पुरुष र महिला दुवैको वैवाहिक सम्बन्ध कायम रहेको अवस्था नरहेमा मात्र विवाह हुन सक्ने अवस्था तोकेको छ । वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा कुनै पनि हिसाबले विवाह हुन नसक्ने भनि व्यवस्था गरेको छ । त्यसैगरी विवाह भैसकेको अवस्थामा विवाह गर्न, गराउन नहुने भनि किटानी व्यवस्था गरेको छ । विवाह भैसकेको अवस्थामा विवाह भएको छैन भनि झुक्याई विवाह गराएमा त्यसरी झुक्याई विवाह गर्ने गराउनेबाट पीडितले मनासिब क्षतिपूर्ति दाबी गर्न सक्ने कानूनी व्यवस्था छ ।
स्वतः विवाह भएको मानिनेः
कुनै पुरुषसंगको शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी शिशु जन्मिएको प्रमाणित भएमा त्यस्तो पुरुष र महिला बीच स्वतः विवाह भएको मानिने कानून छ । तर जबरजस्ती र हाडनाताको सम्बन्धमा भने स्वतः विवाह भएको नमानिने व्यवस्था छ । जन्मिएको बच्चाको हक अधिकारमा भने कुनै असर नपर्ने व्यवस्था छ ।
अंशमा बहुविवाहको प्रभावः
कानून बमोजिम विवाह हुन नसक्ने, विवाह भएको नमानिने वा वैवाहिक सम्बन्ध अन्त्य भएका दम्पत्तीबाट जन्मिएका छोराछोरीले त्यस्ता बाबुआमाबाट अंश पाउनेछन् भन्ने व्यवस्था छ । साथसाथै भनिएको छ कि कुनै व्यक्तिको एक भन्दा बढी पत्नीहरु भएमा निजहरुले पतिको भागबाट मात्र अंश पाउनेछन् । कानूनले स्पष्टै भनेको छ कि पछिल्लो पत्नी वा सन्तानले पति वा बाबुको भागबाट मात्र अंश पाउनेछन् ।
द्विविधाको अवस्थाः
फौजदारी संहिताकानूनले बहुविवाहलाई स्वतः बदर भनेको छ । देवानी संहिताले बहूविवाहको अस्तित्वलाई स्विकार गरेको बुझिन्छ । पति वा पिताबाट अंश पाउने भन्नु तर स्वतः बदर हुन्छ नभन्नुले अथवा फौजदारी कसूर बमोजिम कारवाही हुने संकेतसम्म कतै गरेको नपाईदा कानूनले द्विविधाको अवस्था भने सिर्जना गरेको छ ।
निष्कर्षः
बहुविवाहलाई फौजदारी कसूरको रुपमा पहिलाका कानूनले पनि लिएको थियो । सरकारवादी मुद्धाका रुपमा कारवाही चलाईन्थ्यो । अहिलेको कानूनले पनि फौजदारी कसूरकै महलमा बहुविवाहलाई राखेको हुँदा बहुविवाह स्वतः बदर नै हुन्छ भनेर हामीले बुझ्न सकिन्छ । अब दोश्रो श्रीमति भै जानु भनेको वल्लोघाट न पल्लोतिरमा हुने अवस्था हो । सम्पत्ती पनि नपाईने, दाम्पत्य जीवन पनि नरहने । यस्तो दुर्घटनामा नपरौं । कानून नबुझी क्षणिक उत्तेजना र रोमान्समा गुपचुपमा यौनसम्पर्क राख्ने, गर्भधारण गर्ने र पति पत्नि तुल्याउने वा स्वतः विवाह गर्ने भुल नगरौं ।