नेपालको जेठो पार्टी नेपाली कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत देशका अधिकांश भागको वडा र पालिका अधिवेशन सकिएको छ । केही स्थानका क्रियाशील सदस्य सम्बन्धी विवादका कारण अधिवेशन हुन सकेको छैन । अघिल्लो वर्ष नै भैसक्नुपर्ने अधिवेशन धेरै पटक कार्यातालिका फेरीँदै आएर भाद्र १९ मा प्रारम्भ भई असोज ९ मा पालिका स्तरको अधिवेशन हुने अवस्थामा आएको छ । अब पनि अधिवेशनका बाँकी काम तोकिएको समयमा हुन्छ भन्ने निश्चितता छैन । सभापति देउवा स्थानीय निकायको निर्वाचन नजिकै आएको यो घडीमा हुने पार्टी अधिवेशनले कार्यकर्ता तहसम्म तिक्तता बढाउने र निर्वाचनमा घाटा सहन गर्नुपर्ने भएकाले अधिवेशनका बाँकी काम गर्न अनिच्छुक भएको भन्ने खबरहरु पनि आएका छन् । तर देउवाको महाधिवेशन गराउने विषमया प्रकट अरुची कार्यकर्ता र मतदाता तहसम्म पुगेका गुटको कारण आगामी निर्वाचनमा पार्टीलाई घाटा पर्ने भएकाले हो वा अघिवेशनले आफ्नो पार्टी सत्ता गुम्ने भयले हो भन्ने बुझ्न भने अझ केही दिन कुर्नु पर्ने भएको छ ।
क्रियाशील सदस्यको संख्या झण्डै दोब्बर भएको साथै प्रतिनिधित्व गर्ने अवसर पनि सोही अनुसार बढेकाले यस पटकको वडा र पालिका अधिवेशनको रमझम नै भिन्दै थियो । पार्टीलाई पुनः जीवन दिएर नेपाली जनमनको पार्टी बनाउन लागि पर्ने जमात एकातिर थियो भने नेताको फेर समातेर होस् या मनि र मसलको प्रदर्शनबाट पार्टीको पद हत्याउने जमात पनि कम कम्मर कसेर लागेको थिएन । भनिरहनु परेन त्यसका बली चढ्ने त पहिलो जमात नै भयो । जो गुटको पछि लागेन, जसले नेताको फेर समात्न खोजेन, जसले मनि र मसलको प्रदर्शन गर्न सकेन, जसले आफ्नो बल बुतामा विश्वास गरे तिनीहरु बली चढाइए ।
कांग्रेसको १३ औं महाधिवेशन भइरहँदा एउटा कुरा निकै चर्चामा आएको थियो । कुरा थियो, महाधिवेशन प्रतिनिधि बनेर आएका एक व्यक्तिले महाधिवेशन परिसरमा वेच्न राखिएको बीपी कोइरालाको तस्विर देखाउँदै पसलेसंग सोधे“ यो कुन बुढाको तस्विर हो ? ” वास्तवमै भएको घटना हो बनि बनाउन हो थाहा भएन यसले कांग्रेसको बर्तमान भने प्रष्ट्याएको छ । हुन पनि कांग्रेसका प्रतिनिधि बनेर आउनेहरु बीपी चिन्दैनन् । बीपीको आदर्श, त्याग, समर्र्पण संग उनीहरुको कुनै साइनो छैन र त्यस तर्फ उनीहरु फर्कन पनि चाहँदैनन् । बीपी उनीहरुका लागि फगत सत्ता र शक्तिमा पुग्ने सोपान मात्र हुन । आवश्यक हुँदा त्यो सापान प्रयोग गर्छन नभए घरको कुनै कुनामा थन्क्याएर राख्छन् । पार्टीका लागि जीवन अर्पण गरकोहरुको अब कांग्रेसमा कुनै मूल्य छैन । एउटी आमा कांग्रेस कार्यकर्ता हुँ भन्ने छोराका लागि खाना बनाउँदै गर्दा छोराले गरिब र निमुखाको पक्षमा काम गर्छ र उनीहरुको मुहारमा मुस्कान ल्याउँछ भन्ने अपेक्षा पाल्छिन् । र चिसा दाउरा सकिनसकि सल्काएर छोराका लागि खाना बनाउँछिन् । तर के अहिले जो आफुलाई अब्बल कांग्रेस भनाउनमा व्यस्त छन्, तिनले आमाको अपेक्षा पूरा गरेका छन् ?
तनहुँमा रहेका ८५ वडा तथा १० स्थानीय तहको अधिवेशन हुँदै गर्दा यस्ता धेरै अनुहारहरु देखिए जसले बीपीलाई चिन्दैनन् र चिन्न आवश्यक पनि ठान्दैनन् । किनभने बीपी चिन्नु भनेको सबै नेपालीको घरमा विहान बेलुका सजिलोसंग चुलो बल्ने अवस्थाको निर्माण गर्नु हो । सबै नागरिकले बिरामी पर्दा राम्रो र सुलभ उपचार सेवा पाउने अवस्था बनाउनु हो । अनि बीपी चिन्नु भनेको सबै बालबालिकाले उचित शिक्षदीक्षा प्राप्त गर्ने वातावरण निर्माण गर्नु हो । बीपी त्याग र समर्पण पर्याय हो । मनि र मसलको भरमा पार्टी सत्ता कब्जा गर्ने र त्यसैको आडमा राज्य दोहन गर्ने सोचका साथ राजनीतिमा आएका कतिपय मानिसका कारण वास्तवमै नेपालको राजनीति दुषित हुँदै गएको छ र त्यसको प्रभाव राम्रैसंग कांग्रेसमा परेको छ ।
वडा अधिवेशनको मुखमा यो पटकमात्र कांग्रेसको क्रियाशिल सदस्यता लिएका एक युवासंग भएको कुरा उल्लेख गर्न मन लाग्यो । वडा अधिवेशनका सन्दर्भमा भएको कुराकानीमा उनले क्षेत्रिय प्रतिनिधि आउन नपाए पूर्णतः निष्क्रिय भएर रहने बताए । मैले प्रश्न गरें, क्षेत्रिय प्रतिनिधिका लागि मरिहत्ते किन ? अग्रजहरुलाई पालो दिनु पर्दैन ? उनको जवाफ थियो, क्षेत्रिय प्रतिनिधि भए नेताहरुसंगको बार्गेनिङ पावर वढ्छ, ठेक्का पट्टाहरुमा हात हाल्न पाईन्छ । के गर्नु पैसा नै ठूलो कुरा रहेछ । ति युवा प्रतिनिधि पात्र हुन र कयौं यस्ता मानिसहरु राजनीतिमा सक्रिय छन्, जसको उद्देश्य त्यसको आडमा अकुत कमाउनु हो ।
अधिवेशनमा दखिएका अरुपनि तस्विर छन् । कतिपय उम्मेदबारहरु मनले उम्मेदबार भएकै थिएनन् । नेतााहरुको स्वार्थ रक्षा गर्न, गुट बचाई राख्न र गाउँमा एकताबद्ध भएर बसेका कांग्रेस कार्यकर्तालाई विभाजित गराउन जवरजस्त उम्मेदबार बनाइए र चुनावी मैदानमा ल्याइए । अहिलेको स्थानीय निकायको अधिवेशनमा सामान्य कार्यकर्तासम्ममा विभाजनको रेखा कोर्ने काम जिल्ला र केन्द्रका नेताहरुले गरे ।
आफ्नो लगौंटी समाउनेहरुलाई काखी च्यापेर हिँड्ने अनि फरक र स्वतन्त्र विचार राख्ने अझ भनौं कुनै नेताको दौराको फेर समात्न नचाहने कार्यकर्तालाई उनीहरुको योग्यता, दक्षता र पाटीका प्रतिको योगदानको मूल्य हिसाब नगरेर पाखा लगाउने काम पनि नेताहरुले गरे । गाउँ गाउँमा मतदाता र कार्यकर्ता यसरी विभाजित भएका छन् कि अब कुनै कार्यकर्ताले कांग्रेस भनेर मात्र पुग्दैन । कुन गुटको वा कुन नेताको फेर समात्ने खालको भनेर परिचय दिनु पर्ने भएको छ ।
गुट निर्माण गर्ने र आफ्ना फेर समात्नेहरुलाई पार्टी सत्तामा लैजाने काम त भयो होला तर नेताहरुले सोच्नु पर्ने के हो भने अहिले कोरोको विभाजनकोे रेखा ठूलो हुँदै जाँदा कांग्रेस भने खुम्चिँदै जानेछ । खुम्चिँदै गएको कांग्रेसको नेता हुनुमा रमाउने वा बृहत कांग्रेसको सामान्य कार्यकर्ता बन्नुमा रमाउने भन्नेकुरा तिनै नेताको हातमा छ । आशा गरौं यस्ता रेखा कोर्ने काम नेताहरुले बन्द गर्नेछन् ।
कांग्रेस स्थानीय तह अधिवेशनमा जे देखियो
previous post