
नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले अस्ती भदौ २४ गते आफ्ना संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालालाई श्रद्धापूर्वक सम्झने दिन हो । किनभने सोही दिन उनको जन्म भएको थियो । तर जेन जेडको आन्दोलनको राप र तापका कारण ज्यान जोगाउन समेत कठिन भएको नेताले बीपीलाई सम्भने कुरै भएन । यसैपनि उनीहरुलाई बीपी अब सान्दर्भिक पात्र थिएनन् । सामान्य कार्यकर्ता र शुभचिन्तकले पनि बीपीको स्मरण र उनको नेपालको राजनैतिक इतिहासमा योगदान बारे सामान्य चर्चा गर्न मेसो समेत पाएनन् ।अघिल्लो दिन देशका होनहार १९ युवा भ्रष्टाचार र परिवारवाद तथा सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धविरुद्ध आवाज उठाउँदै गर्दा सरकारबाट मारिएका थिए । अनि बीपीको जन्मदिनको दिन काठमाण्डौ लगाएत देशका अधिकांश ठाउँ जेन जेडको अनियन्त्रित आन्दोलनको मारमा थियो । कांग्रेसका पार्टी कार्यालयहरुमा आगजनी गरिएको थियो । आफुलाई कांग्रेस समर्थक हुँ भन्नेहरु सडकमा निस्कने र बीपीका राजनैतिक र साहित्यिक योगदानबारे चर्चा गर्ने अवस्था थिएन ।एक वर्षपछि नेपाली कांग्रेसको महाधिवेशन हुँदैछ । महाधिवेशनको बेलासम्म कांग्रेस नै अस्तित्वमा रहन्छ वा रहँदैन भन्ने प्रश्न एकातिर छ । किनभने भाद्र २३ मा एक खालको नरसंहार हुँदा कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए र त्यस लगतै थुप्रै नेता कार्यकर्ताले भटाभट पार्टी परित्याग गर्न थालेका छन् । कांग्रेसमा जता मल्खु उतै ढल्कु गर्ने अवसरवादीहरुको कुनै कमि छैन । परिस्थिती वदलिनासाथ पद र पैसाका लागि जो शक्तिमा आउँछ त्यतै जानेछन् । यही क्रम रहने हो भने नेपालको जेठो प्रजातान्त्रिक दलको अवस्था प्रजापरिषदको जस्तो हुनेछ । आन्दोलनको राप र तापले सभापति देउवा पाखा लागेका छन् र शायद उनी अब नेतृत्वमा पुनः दाहोरिने प्रयत्नमा लाग्दैनन । नभए दुइ पटकभन्दा बढी सभापति हुन नपाउने विधानको व्यवस्थालाई फेरेर उनी फेरी सभापति हुने प्रयत्न गर्न सक्थे । विधानमा परिवर्तन गर्न केन्द्रीय समितिमा उनको बहुमत थियो । अझ राजनैतिक सहकर्मी ओलीले भर्खरै विधान महाधिवेशनबाट फेरी पार्टी अध्यक्ष हुने बाटो खोलेसँगै देउवामा पनि त्यो महत्वाकांक्ष पलाएको हुँदो हो । तर अहिलेको अवस्था त्यस्तो छैन ।राजनीतिले अनायास ३६० डिग्रीको कोल्टे फेरेको छ र उनी राजनीतिको अग्रभागमा आउने सम्भावना सकिएर गएको छ । यतिबेला आमनेपाली नागरिकको चासो कांग्रेसको महाधिवेशनले कस्तो नेतृत्व चयन गर्छ भन्नेमा बढी रहेको छ । पन्ध्रौ महाधिवेशनले नयाँ नेतृत्व त चयन गर्ला तर अनुहार उही पुरानै कि अनुहार पनि नयाँ भन्ने विषय अहिलेको चासो र चर्चाको विषय हो । महाधिवेशन आउन एक वर्षभन्दा बढी समय बाँकी छ । देउवाले शायद अब प्रयत्न गर्ने छैनन तर शेखर कोराइराला, आफुलाई देउवाको उत्तराधिकारी ठान्ने वीपी पुत्र सशांक कोइराला,गणेशमान पुत्र प्रकाशमान सिंह, महेन्द्रनारायणनीधि पुत्र विमलेन्द्र निधी, कृष्णप्रसाद सिटौला, गगन थापा लगाएतले आफुलाई पन्ध्रौंं महाधिवेशनमा सभापतिको उम्मेदवारका रुपमा प्रस्तुत गर्ने संकेत गरेका छन् ।पछिल्लो समय बीपी र उनको विचारलाई केवल सत्ता प्राप्तीको सिँढीको रुपमा प्रयोग गर्दै आएको कांग्रेसलाई नयाँ जीवन दिन सक्ने, विचारले समेत नयाँ नेतृत्व आउने अवसर आसन्न पन्ध्रौंं महाधिवेशनले देला ? भन्ने जिज्ञासा आमकांग्रेस कार्यकर्ता र शुभचिन्तकमा रहेको छ । र उनीहरुको कामना छ, देह र विचारले समेत युवा नेतृत्व कांग्रेसले प्राप्त गरोस् । वहस के आमकार्यकर्ता र शुभेच्छुकको कामना पूर्ण होला अर्थात युवा विचार, कार्यक्रम, नीति, सिद्धान्त, संस्कार, व्यवहार, मान्यता सबै हिसाबले नयाँ र युवा नेतृत्व पाउला यस पटक कांग्रेसले ? भन्नेमा हो । अनि के युवा भनिएका नेताहरुले आशिर्वादबाट पद प्राप्त गर्ने सकिन्छ र मुर्छाएको कांग्रेसलाई स्वस्थ भएर दौडने बनाउन सकिन्छ भन्ने भ्रम त्याग्दै परस्पर मिलेर पुरानो नेतृत्वलाई चुनौति देलान् ? निधि, सिटौला आदिको ठाउँमा गगन, विश्वप्रकाश, गुरु, प्रदिपहरु नेतृत्वमा आउँलान् ? के यी नेताहरुले पार्टीको नेतृत्व गर्ने हिम्मत गर्लान् ? कि फेरी बुढा नेताहरुको फेर समातेर उनीहरुलाई मूल नेतृत्वमा लगेर आफु सहयोगीको रुपमा रहने गरी प्रस्तुत होलान् ?युवाहरु नेतृत्वमा आउन सक्ने वा नसक्ने भन्नेमा विभिन्न तत्वहरु कारक हुन सक्छन् । तर मूख्य कारक त उनीहरुमा निहित आत्मविश्वास नै हो । म नेतृत्व गर्न सक्छु, देशभरका प्रजातन्त्रवादीहरुको भरोषाको केन्द्र बन्न सक्छु भन्ने आत्मविश्वास उनीहरुमा भए नेतृत्वमा आउन समस्या हुनेछैन । तर देशभरबाट महाधिवेशन प्रतिनिधिको रुपमा निर्वाचित भएर आएका नेताहरुले विश्वास गर्छन कि गर्दैनन् भन्ने कुरा पनि निर्णायक हुनसक्छ । ति प्रतिनिधिहरुलाई विश्वासमा लिने र बीपीको आदर्श अनुसार पार्टीलाई अगाडि बढाउँछु भनेर भरोषा दिलाउने काम पनि ति युवा नेताहरुको नै हो । तर के युवा नेताहरु कुनै नेताको ओत नलागी एकताबद्ध भएर अनि नविन विचार, संस्कार, व्यवहार, संस्कृति, मूल्य मान्यता, आदर्श सहित बहुमत प्रतिनिधिको मन जितेर नेतृत्वमा आउन सक्लान् भन्ने प्रश्न नै यतिबेला प्रमुख हो ।युवा भनिएका नेताहरु अघिल्लो पुस्ताका नेताहरुलाई यो महाधिवेशनबाट ससम्मान विदा गरेर युवा नेतृत्व पार्टी सत्तामा आउने कुरा दोहो¥याउन छोडेका छैनन् । तर विचारको जडतामा अल्झिएको कांग्रेसको अहिलेसम्मको अवस्था हेर्ने हो भने कांग्रेसले युवा नेतृत्व प्राप्त गर्ने सम्भावना देखिएको छैन ।कतिपय पाठकलाई यो निराशावादी कुरा लाग्न सक्छ तर यो नै यथार्थ हो र यसका केही स्पष्ट आधारहरु छन् । पहिलो कुरा त मैले माथि पनि उल्लेख गरें कि युवाहरुमा नेतृत्वमा आउने अदम्य साहस हुनुपर्छ । कुनै नेताको फेर समातेर पार्टी नेतृत्वमा पुग्छु भन्ने कुराबाट मुक्त हुनुपर्छ । उनीहरुमा म आफ्नै बुतामा नेतृत्वमा स्थापित हुन सक्छु भन्ने विश्वास नै छैन भन्ने देखिएको छ । र विर्सेको देखिएको छ कि पार्टीका संस्थापक नेता बीपी कोइराला चालीस वर्षको नहुँदै पार्टी सभापति भएका थिए । उनमा रहेको आफ्नै बुतामा नेतृत्वमा पुग्न सक्छु भन्ने आत्मविश्वासले काम गरेको थियो । अहिलेको युवा नेतृत्वलाई चुनौंती भनेको के यी युवाहरुले बीपीको त्यो पदचाप पछ्याउने हिम्मत गर्लान ? भन्ने नागरिक आशंकाले खडा गरको छ । आत्मविश्वासको कमि र पौराणिक कथाको गणेश बनेर आफ्नो स्वार्थ सिद्ध गर्ने प्रवृत्तिका नेताहरु कांग्रेसमा बग्रेल्ती छन् । तर के कांग्रेसलाई पुनः जीवन दिन त्यसरी सम्भव छ ? के सिद्धान्त, नीति र विचार सून्य बनेको कांग्रेसलाई नयाँ मार्गमा लैजान र फेरी आमनेपालीको भरोषाको केन्द्र बनाउन यसरी नै सम्भव छ ? निश्चित रुपमा छैन ।बीपीको विचारका संवाहक भनेका युवाहरुले बीपीले जस्तो सहास गर्न सकेमा र आपसमा सहयोगी भाव राख्न सकेमा असम्भव भने छैन । कांग्रेसको पार्टी सत्तामा कार्य र विचार दुवैले पुष्टि गरेका युवाहरु पुगुन् अनि कांग्रेस यस्तो छहारी बनोस् जसमा आम नेपालीले ओत लाग्न सकुन्, आफ्नो समृद्धि सपना साकार भएको देख्न पाउन् ।