सत्तारुढ दल नेपाली कांग्रेसको चौधौं महाधिवेशन अन्तरगत नेतृत्व छनौंटका लागि भएको मतदान सकिएको छ र सभापतिको नतिजा समेत प्रकाशित भैसकेको छ । उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्यको पनि मतदान सम्पन्न भएको छ र मत यो सम्पादकीय प्रकाशित हुँदासम्म मत गणना पनि प्रारम्भ हुनेछ । पार्टी र राज्य सत्ताको वागडोर सम्हालेका देउवाले आफु अनुकूल वातवरण तयार नभएसम्म महाधिवेशन नै गराएनन् र उनीले आफु अनुकुल भएको समयमा गराएको महाधिवेशनमा स्वाभाविक छ, पार्टी सत्तामा फेरी कब्जा जमाएका छन् अर्थात आगामी चार वर्षका लागि नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएका छन् । अघिल्लो कार्यकाल व्यर्थ विताएका देउवाको यो कार्यकाल सफल र फलदायी रहोस््, यही कामना ।
शेरबहादुर देउवाको क्रियाकलापका कारण नेपाली कांग्रेस प्रजा परिषदको अवस्थामा पुग्न लाग्यो त्यसैले देउवालाई नेतृत्वमा पुनः आउन दिनु हुँदैन भन्ने चर्काे वहस चलेको थियो । खासगरी युवा नेताहरु र आमकांग्रेस कार्यकर्ता र शुभेच्छुकहरुमा यो मत बलियो बन्दै गएको भान हुन्थ्यो ।
तर आममानिसलाई त्यस्तो लाग्नु र युवा भनिएका केही नेतामा साँच्चै निवर्तमान असक्षम नेतृत्व बदल्ने इच्छाशक्ति हुनु फरक कुरा रहेछ । अघिल्लो राती अबेरसम्म यो नेतृत्वले फेरी नेतृत्व गर्ने क्षमता राख्दैन भन्नेहरु रातारात यो नेतृत्व नभए पार्टी नै चल्दैन भन्ने अवस्थामा पुगे । यसले देखाउँछ, अरुहरुले भनेझै नेपाली कांग्रेसका नेताहरु अत्यन्त पुरातनपन्थी छन्, परिवर्तनलाई आत्मसाथ गर्न सक्दैनन् वा चाहँदैनन भन्ने कुराको पुष्टी भएको छ । अनि कतिपय नेताहरु पदका अत्यन्त लालची छन् जसले छिन् छिन्मा बोली फेर्छन् अनि कतिपय नेताहरु लकपके स्वभावका छन् जो स्वार्थका लागि कहिले विद्रोही भाषा बोल्छन् त कहिले मौन वस्नुमा बुद्धिमत्ता देख्छन् । अनि कतिपय नेताहरु यस्ता पनि छन् आफ्ना गुटका नेताको भविष्य सुरक्षित गर्न आफ्नो विवेकलाई बन्धक बनाउँछन् । यही प्रवृत्ति कायम रहे कांग्रेसको भविष्य प्रजापरिषदको जस्तै हुन धेरै समय कुर्न पर्ने छैन ।
कांग्रेसको नेतृत्व चयन पार्टी प्रजापरिषदको बाटोमा-सम्पादकीय
previous post