यो साता आदिकवि भानुभक्तको जन्मथलो पुग्दा भानुभक्त र लक्ष्मीप्रसाद देवकोटाको अर्धकदको सालिकको तस्वीर लिएको थिएँ । भानु नगरपालिका डुम्रे–सेपाबगैंचा सडक खण्डको सेपाबगैंचामा राखिएका ति सालिकको तस्वीर, आफु घुमघाममा गएको जानकारी गराउन केही साथीहरुलाई सामाजिक सञ्जाल मार्फत पठाएँ । तस्वीर हेरेर एक मित्रको प्रतिक्रिया थियो कठै भानु र देवकोटा । मलाई ति मित्रको प्रतिक्रिया अस्वाभाविक लागेन किनभने सालिक साँच्चै कठै भन्ने अवस्थामै छन् । वषौं देखि स्याहार सम्भार नगरिएका ति सालिक कुरुप देखिन्छन् । सालिक कसको हो भनेर थाहा पाउने उपाय तल लेखिएको नाम हो न भए कसको सालिक हो चिन्न हम्मे पर्छ ।
सिंहदरवारको अधिकार गाउँ गाउँमा भनिएको छ । स्थानीय सरकार बनेको पनि झण्डै २ वर्ष हुन लागि सक्यो तर किन हो सडक छेउमै रहेका ति सालिकले उचित स्याहार पाएका छैनन् । हाम्रा जनप्रतिनिधिहरु किन यस्ता कुरामा किन चासो राख्दैनन् ? भानु जन्मस्थल विकास समिति पनि छ तर त्यसको पनि यता तर्फ ध्यान गएको देखिएन ।
सालिक र साथीको प्रतिक्रिया पछि मैले नेपालमा बोल्ने गरिएका भाषाहरुको अवस्था सम्झें । समयक्रम संगै भाषामा परिमार्जन आवश्यक छ नत्र त्यो भाषा लोप हुँदै जान्छ भन्ने कुरामा कसैको विमती छैन । तर पछिल्लो समय अंग्रेजी र हिन्दी भाषाको प्रभावमा परेर खासगरी नेपाली भाषालाई कुरुप बनाउने र अन्ततः मृत तुल्याउने अभ्यासहरु जानेर वा नजानेर भै रहेका छन् । यसले हाम्रो भाषा त लोप हुन्छ नै संगै हाम्रो सभ्यता र पहिचान पनि गुम्ने खतरा दिन दिनै बढ्दै गएकोछ ।
संसारमै नभएको अभ्यास हाम्रोमा छ, त्यो हो हाम्रा विद्यालयहरुमा राष्ट्रभाषा नेपाली बोल्ने विद्यार्थीले सजाएको भागिदार हुनु पर्छ । आधुनिकताका नाममा नेपाली र नेपालमा बोलिने भाषालाई अधकल्चो बनाउने होड नै चलेको छ । टुटेफुटेको अंग्रेजी र हिन्दी बोल्दा गर्व गर्ने तर नेपाली बोल्नु पर्दा लज्जा महसुस गर्ने पुस्ता तयार हुँदैछ । आफ्नो भाषामा गर्व गर्ने अवस्था अहिलेलाई छैन । जापान, चीन लगाएत देशबाट अव हामीले सिक्ने बेला भैसकेको छ , कि आफ्नो भाषालाई मायाँ गरौं । अहिलेलाई यति भनौं भानुभक्त र लक्ष्मीप्रसादको सालिकसंगै नेपाली भाषाको सम्भारमा हामी सबै लाग्न सकौं । भाषा रहे हाम्रो स्वाभिमान रहन्छ । हामी रहन्छौं ।