प्यारा दुस्मन
धेरै पहिले मलाई एउटा हिन्दी चलचत्रिको नामले अचम्मित पारेको थियो । नाम थियो ‘प्यारा दुस्मन’ । चलचित्रका पोष्टरहरु प्रचार प्रसारका लागि भित्ताभित्तामा टाँसिदा त्यो नाममा मेरो ध्यान जान्थ्यो । दुस्मन पनि कतै प्यारा हुन्छन् ? मनमनै हाँसो उठ्थ्यो हाँस्थे पनि । त्यो चलचित्र हेर्न मन लाग्यो हेरें पनि । कथावस्तु त्यति बुझिन । कथाबस्तु बुझ्ने क्षमता म’मा विकशित भैसकेको रैनछ क्यारे । तर चलचित्रसंग मलाई खासै मतलब नभएपनि नाम भने मानस पटलमा अहिलेसम्म घुमि रहेको छ, ‘प्यारा दुस्मन’ ।
स्वार्थैस्वार्थले भरिएको जिवात्माको थुप्रोमा झगडा नहुने कुरै भएन । दाजूभाई बाबु छोरा दिदी बहिनी, भाई बुहारी देबरदेवरानी, जेठाजूजेठानी मामा, भान्जा, ज्वाई ससुरा दाजूबहिनी, छोराछोरी, काकाकी, ….. यस्तै यस्तैका बीच हुने गरेको नदेख्ने कोही नहुन सक्नु हुन्छ । यसमा सौता सौती त झगडाको उपमा नै भैहाले । राजनीतिक दलहरुलाई पनि यसैम समेट्दा फरक नपर्ला ! यो ब्रम्माण्डमा सत्रु नहुने कुन चिज होला ? तपाईलाई थाहा भए यसको सत्रु ‘दुस्मन’ छैन भनेर बताई दिनु होला ल । जहाँ पोजेटिभ छ त्यहाँ नेगेटिभ पनि हुन्छ । असल भएको ठाउँमा खराब हुन्छ । राम्रो भएको ठाउँमा संगै नराम्रो पनि । दिनरात सेतो कालो, धनी गरीब, हाँसोरोदन, ढिलोचाँडो, बलियोकमजोर, ठूलोसानो, खाली भरी आदि आदि ।
एउटाको विपरित अर्को खडा भएकै छ । राजनीतिमा सत्ता पक्ष र प्रतिपक्ष पनि त प्यारा दुस्मन नै होलान् नि । नभै पनि नहुने, भएर पनि कहिल्यै नमिल्ने ।
पटक्कै नमिलने दुईजना भेट भए ‘कस्ता कुकुर विराला जस्ता’ भन्छन् । कुकुर विरालो जन्मजात एकअर्काका दुस्मन रहेछन् । कुकुरले विरालो देख्यो कि खानै छोडेर हामीले देखेकै हौं । तर आजकल माथिको उखान फिका भएको छ । यिनीहरु एकाएक मिल्न थालेका छन् । त्यसैगरी कुकुर बाँदरको पनि गज्जबको मित्रता कायम हुँदैछ । कुकुरले बाँदर देख्यो कि खेदि हाल्थ्यो । बाँदर देख्नासाथ स… स…. भनेर कुकुर लगाएको हुन्थ्यो र यो सुन्नासाथ बाँदर भागेको याद यहाँहरुलाई पनि होला । बाँदर लखट्नैकै लागि कुकुर पालिन्छ । तर आजकल यीनको मित्रता पनि बढेको देखिन्छ । कुकुर बाँदरलाई खेद्न त परै जावस् खाने कुरा समेत बाँडिचुडी खान्छन् वा….. । कुकुरको जुम्रा हेरेर बाँदर बसी रहेको देखिन्छ । यस्ता जन्मसिद्ध दुस्मनको मेल एकाएक कसरी हुन पुग्यो ? कस्ले कान फुक्यो ? मन्त्र कोबाट सुने ? कस्ले प्रशिक्षण दियो ? यिनको दुस्मनी एकाएक यूटर्न कसरी भयो ? धेरै पढेर बुझे भनौं भने पढ्न हिडेका पनि छैनन् । सन्त महन्त विद्वानहरुका ग्रन्थ पढेर यस्तो परिवर्तन आएको पनि होइन । मान्छेको दैनिक क्रियाकलापको अवलोकन गरेर त्यसैको देखासिखी गरे भनौ भने मान्छेको अवस्थाले यिनलाई झन कडा दुस्मन बनाउनु पर्ने हो । मान्छे कति सानो सानो कुरामा लड्छ, झगडा गर्दछ । उत्तिकखेरै मिल्दछ । छिनभरमा विग्रन्छ । स्वार्थ पुरा नहुन्जेल मिल्दछ । पुरा भएपछि बाचा बन्धन कसम क्रिया सबै भुलि हाल्दछ । यतिसम्म कि पहिलाको गुन तिर्नु पर्ला भनेर ‘सफाया’ गरी रास्तासाफ गर्न पछि पर्दैन ।
अगाडि जान लाग्यो कि खुट्टा तान्ने, बर्ग सत्रु भनेर खेमा छुट्टयाउने, गद्दार, भ्रष्ट देशद्रोही, राष्ट्र दोह्री, शोषक व्यभिचारी, कलंघार जस्ता विशेषणले विभुषित गर्ने देखि नसहनेसम्म पनि रातारात मेलमिलाप भै अंकमाल हुन्छ । एउटै थालको खाना, एउटै मञ्चमा भाषण, सुताई संगै, हिडाईसंगै, खाने मुख एउटा निल्ने घाँटी अर्को बन्न नि बेर लाग्दैन । साना मसिना भारेभुरेमा भन्दा अलि नाम चलेकाले यस्तो कार्य गरेका बढी नै देखिन्छ । यस्ता दुस्मनका बीचको दोस्तीले क–कसलाई फाईदा बेफाईदा के हुन्छ ? तिनै जानुन् ! ‘टपर टुइयाको जालमा परें’ भनेर टाउकोमा हात लगाएको मैले एक जना ठूल्दाईलाई देखेको थिए । मान्छेको प्रकृति नै स्वार्थी, स्वार्थ पुरा गर्न मित्रताको नाटक गर्दछन् भने कुकर विरालो तथा बाँदर र कुकुर बीच बढेको मित्रताको रहस्य खोजी गरेमा भविष्यमा मानवलाई फाईदा पुग्न सक्दछ । मान्छेको जस्तो टुटी हाल्ने एक अर्काले धोका दिने, प्रकृतिको देखिदैन । समग्र मानव जातिलाई चकित पार्ने, प्रकृति विरुद्धको यिनीहरुको मित्रताले सहकार्य, पारस्पारिक सहयोग गर्नु नै एक आपसमा भललाई छ भन्ने सन्देश अवस्य मिल्दछ । यिनीहरुको सत्रुताबाट फाईदा उठाउन सफल मनुष्यलाई सँधैको घाटा लाग्ने निश्चित छ ।
राजनीति शास्त्रका विज्ञ भनिने नेता ज्यूहरुलाई पनि यी जनावरको मित्रतको सन्देश पुगोस् । माथिबाट ठूलाबडा मिली देश विकास, योजना निर्माण जस्ता कार्यमा एकाकार हुन सके कस्को के लाग्दछ ? बाँदर र कुकुर मिल्दा त यी मिल्दैनन् । अरुको त कुरै छोडौं ।