राहतको कथा
‘राहत’ भन्ने शब्द धेरैलाई पत्तै थिएन होला । यस शब्दलाइ शाब्दिक रुपमा मात्रै होइन, प्रयोगात्मक र व्यवहारिक रुपमै सिकाउन प्रकृतिले महत्वपूर्ण भूमिका खेल्यो । शब्दकोष हेर्नै नपर्ने भयो । सुद्धासुद्धि मिलाउन सक्ने धेरै भए ।
विद्यालयमा ‘राहत’ शब्दको अर्थ कसरी सिकाउनु हुन्छ, पढ्दै गरेका विद्यार्थीलाई सोध्दा स्पष्ट भै हाल्छ । आदरणीय गुरुहरुको मानहानि नगरौं । एक जना विद्यार्थीलाई अर्थ सोधेको त ‘फूलफम’ बताइ दियो । रा.रातारात,
ह. हसुरने, त. तरीका ।
‘रातारात हसुरने तरीका ।’ अचम्म लाग्यो । किन यसो भनेको भनेर सोध्दा ‘दुई रुपयाँ पर्नेलाई सात प¥यो भन्दछन् । पाँच सय पर्नेलाई १५ सय परेको बील पेश गर्दछन् । राम्रो सामान आफ्नो गोदामबाट साटेर कुहेको बाँड्छन् ।’ त्यो नभए के त ? भनेर झक्र्यो । म नतमस्तक भएँ । २०७२ सालको भूकम्प पछि ‘राहत’ निक्कै प्रचार भयो । ‘सरकारले राहत दिन्छ रे’ भनेर धेरैले पर्खे । कसैे तत्क्कालै जस्तापाता फेला पारे, उनले राहत भनेको जस्ता रहेछ भन्ने बुझे । कसैले त्रिपाल पाए । राहत त्रिपाल रहेछ भन्ठाने । कसैले नून, तेल, चामल, दाल पाए, उनिहरुले जे जे पाए राहत त्यही रहेछ भनेर बुझे । अर्थ फरक फरक आयो भनेर बुझाउन जरुरी ठानेर हो कि कु्न्नी ‘कोरोना भाईरस’ को सनसनी भयो । डिसेम्बर १७ मा चीनबाट शुरु भएको यो भाईरस शुरुमा त यूरोपतिर गयो । तर पछि छिमेकी देश नेपाल भ्रमण पनि गर्न प¥यो भनेर होला तीन चार महिनामै नेपाल आईपुग्यो । १–२–४–८ हुँदै गर्दै सयौैं जनालाई आफ्नो साथी बनायो । बाहिरी देशको सिको गर्दै यहाँ पनि ‘लकडाउन’ गर्ने तयारी भएपनि अन्य तयारी र व्यवस्थापन तर्फ, ध्यान दिईएन । ‘नेपालीले यसलाई पचाउँछन्, पशुपतिनाथले नेपालमा आउन दिदैनन् । नेपालको हावा पानीले यसलाई फैलन दिन्न, आदि आदि भनियो । लकडाउनको राम्रो पालना भएन । यता कोरोना भाईरसको संख्या बढ्दै गयो । उता लकडाउनको समय पनि लम्बिदै जाँदा घरमा जोहो गरेका खानेकुरा सकिदै गए । गरी खानेका काम पनि बन्द भए । पुनः राहतको कुरा उठ्यो । सरकारले राहत बाँड्ने निर्णय गरेछ । वितरण पनि शुरु भयो । थाहा छैन त्यसभित्र के थियो, कति के के थियो ? त्यो उनै पाउनेले जानून । पाउने मध्येका एक दुईजनाले दुई चार किलो चामल, एक पोका नून, तेल, आलू, दाल, यस्तै थियो भन्थे । त्यो पनि हिजो छाप कस्ले कहाँ लग्यो, को कता भन्दै छुट्टयाएर दिए रे भन्ने गुनासो पनि सुनिने गर्दछ । अचम्मको कुरा त मन्त्रीका पनि मन्त्रीले ८० करोड बराबरको राहत बाँडेको जनताको नाममा गरेको सम्बोधन सुन्नु भएकै होला । हामीले नपत्याउन किन प¥यो र !
नेपालको हाल जनसंख्या तीन करोडको आसपास छ भनिन्छ । तीन करोड मध्ये एक करोड भन्दा बढी रोजगारीका लागि विदेशमा गएका छन् रे । अब नेपालमा बाँकी रहे २ करोड । दुई करोड मध्ये उद्योगपति, व्यापारी, पूँजिपति र धनाढ्यको संख्यामा पनि १०÷२० लाख जति होलान् । रह्यौं पौने दुई करोड जति । त्यसमा पनि राहतको सामान के कस्तो र के कति थियो भन्ने थाहै नपाउने पनि झण्डै करोड जति होलान् । बाँकी रहेका मध्ये पनि सरकारी कोषबाट तलब खानेलाई नदिनेलाई भन्ने सुन्नमा आएको थियो । त्यही अनुसार गरियो होला । अब बाँकी कतिजना संख्या रह्यो होला ? यो हिसाब मिलाउन मैले अलि सकिन, र असी करोडको राहत प्रतिव्यक्ति कति पर्न आउँदो रहेछ यो हिसाब निकाल्ने जिम्मा यहाँहरुको । जे जति पाए, राहत पाउनेलाई भाग्यमानि मान्नु पर्दछ । ७२ सालको भूकम्पको राहत ७६ सालसम्म पाएकै छैनन् । यो ७६ सालको राहत पाउन फेरी पाँच बर्ष पर्खन नपर्ला भन्न सकिदैन । यस्तै यस्तै संकट कहिले आउला र सात पुस्तालाई पुग्ने सम्पत्ति जोडुला भन्नेहरुबाट कारोबार हुँदैछ, जहाँ बाहिर एक रुपयाँमा पाईने चिज १० रुपयाँमा, १० रुपयाँको लागि सय रुपयाँ र सय रुपयाँको लागि हजार रुपयाँमा खरिद गरेको बील भरपाई बनाई कमिशनको लेनदेन हुन्छ । त कस्को के विश्वास ? माथिल्लै निकाय भ्रष्टाचार गर्नलाई ढाकछोप र यसको विरुद्ध बोल्नेलाई सजाय हुन्छ भने अरु को त कुरै छोडौं !