गतसाता राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक वर्ष २०७५ को माध्यमिक शिक्षा परीक्षाको नतिजा प्रकाशन गरेसंगै झण्डै चारलाख विद्यार्थी कक्षा ११ को अध्ययन गर्ने तयारीमा जुटेका छन् । हाम्रोमा परम्परा जस्तै बनेको कुरा के हो भने राम्रो जीपीए ल्याउने विद्यार्थीले विज्ञान वा कम्प्युटरसंग सम्वन्धित विषय अध्ययन गर्ने, अलि कम जीपीए हुनेले व्यवस्थापन विषय, अझ कम हुनेले मानविकी र शिक्षा संकायका विषयहरु अध्ययन गर्ने । शिक्षण पेशामा प्रवेश पाउन शिक्षा विषय अध्ययन गरेको हुनु पर्छ तर राज्य भने सबै भन्दा कम जीपीए ल्याउने विद्यार्थीले अध्ययन गर्न पाउने विषयको रुपमा शिक्षालाई वर्गिकृत गर्छ । अचम्म छैन त कमजोरबाट दक्ष जनशक्ति उत्पादनको आकांक्षा ?
यो त राज्यको कुरा भयो । हाम्रा अभिभावकहरु पनि आफुले पूरा गर्न नसकेको सपना आफ्ना छोराछोरी मार्फत पूरा गर्ने प्रयत्नमा रहन्छन् र उनीहरुलाई उनीहरुको रुचि, क्षमता र चाहना विपरितका विषयहरु पढ्न दवाव दिने गर्दछन् । छोरा वा छोरी भविष्यमा के बन्ने भन्ने कुरा बाबुआमाले निर्धारण गर्ने हो र ? अथवा हामी अभिभावकहरुले आफुले पूरा गर्न नसकेको सपनाको भारी छोराछोरीलाई बोकाउने हो र ?
यदि यसो भएमा पक्कै बालबालिकाको भविष्य प्रभावित हुनेछ । उच्च शिक्षा प्रभावित हुनेछ । त्यसैले हामी अभिभावकहरुले आफ्ना बालबालिकाको रुचि, क्षमता र चाहना बुझेर सोही अनुसारको सल्लाह दिनु आवश्यक छ । हामीले बुझ्नु जरुरी छ कि दवावमा गरिएको कामको नतिजा राम्रो हुँदैन । विद्यार्थीहरुले पनि यो उच्चशिक्षा तर्फको खुड्किलो हो भन्ने बुझेर अनि आफ्नो रुचि, क्षमता अनुसारको विषय पढ्नु पर्ने हुन्छ । साथीले कुन विषय पढेको छ भन्ने कुरा महत्वपूर्ण होइन कि म के विषय पढ्दा रमाएर पढ्न सक्छु भनेर विषय छनौट गर्ने हो । मामाको छोरा वा फुपुको छोरीले विज्ञान पढेका छन् त्यसैले परिवारको इज्जतका लागि पनि मैले विज्ञान पढ्छु होइन कि मेरो रुचि अनि क्षमता के मा छ भनेर बुझ्ने सो अनुसारको विषयमा भर्ना भई पढ्ने हो । यो संगै जोडिएको अर्काे पक्ष पनि छ, आफुले पढ्ने कलेजको छनौट । कुन कलेजमा कस्ता प्राध्यापकहरु छन्, विगतमा त्यो कलेजको नतिजा कस्तो छ जस्ता कुराहरु आफ्ना अग्रजहरुसंग सोधेर वा कलेजमै गएर बुझेर वा कलेजको वेवसाईड पढेर आफुलाई उपयुक्त लागेको कलेजमा भर्ना हुन पनि उत्तिकै महत्वपूर्ण कुरा हो । हामीलाई भर्ना हुन आउन आग्रह गर्ने कलेजहरु सबै राम्रा नहुन सक्छन् । विद्यार्थीहरु यस विषयमा पनि चनाखो हुनु जरुरी छ ।
SEE परीक्षा २०७५ मा सहिभागी भइ कक्षा ११ पढ्न योग्य भएका देशभरका सबै विद्यार्थी भाइबहिनीहरुको उज्यालो भविष्यको कामना ! भाविष्यको सहि मार्ग छनौटमा खरो उत्रन सकुन भन्ने कामना !