असार दोस्रो साता प्रकाशित माध्यमिक शिक्षा परीक्षा–२०८० को नतिजाको चर्र्चा अझै सकिएको छैन । कक्षा ११ पढ्न योग्य हुन अर्थात एसईई पास हुन कक्षा १० का सबै विषयका सैद्धान्तिक र प्रयोगात्मक दुवैमा ३५ प्रतिशत अंक ल्याउनु पर्ने व्यवस्था गरिए पछिको यो वर्षको नतिजा उत्साहजन रहेन । कूल विद्यार्थीको आधा पनि माथिल्लो कक्षा अध्ययन गर्न योग्य नभएको नतिजालाई उत्साहजनक भन्नु पनि भएन ।
यो आलेख तयार गर्दैगर्दा शिक्षा विद् मनप्रसाद वाग्लेको “शिक्षकले आफुलाई समयानुकूल बनाउन नसक्दा सिकाई प्रभावकारी नभएको र बढी विद्यार्थी एसईईमा असफल भएका” भन्ने आशय सहितको भनाई चर्चामा छ । सामाजिक सञ्जालमा वाग्लेको पक्षमा र विपक्षमा प्रतिक्रियाहरु आएका छन् । एकथरीलाई लागेको छ, कमजोर नतिजामा वाग्लेले भने झै शिक्षकको मात्र दोष छ । अन्य केहीलाई कमजोर नतिजामा विद्यार्थी स्वयम, उनीहरुका अभिभावक, विद्यालयको भौतिक र शैक्षिक पूर्वाधार, घरपरिवार, समुदाय र विद्यालयमा उपलब्ध सिकाई वातावरण, पाठ्यपुस्तक लगाएतका शैक्षिक समाग्रीको उपलब्धता र विद्यार्थीको त्यसमा पहुँच लगाएत विभिन्न पक्षको समान अंशियारी छ, भन्ने लागेको छ ।
तर छलफल र आलोचनाको केन्द्रमा भने शिक्षक नै छन् । कोही कमजोर नतिजाका लागि सम्पूर्ण रुपमा शिक्षक जिम्मेबार भएको तर्क गरिरहेका छन् । अनि कोही अन्य पक्ष बढी जिम्मेबार रहेको अभिमत प्रकट गरिरहेका छन् । तर शिक्षकमाथि राज्यले गरेको दोस्रो दर्जाका नागरिकको व्यवहार, अपमान र अवहेलनाको कुरा कसैले उठाइरहेको छैन । कसैले शिक्षकलाई नयाँ शिक्षण सिकाई क्रियाकलापका बारेमा जानकारी दिन तथा त्यसको प्रयोगमा सक्षम बनाउन समय समयमा तालिमको आवश्यकता पर्दछ भनिरहेको
छैन । राज्यले शिक्षालाई लगानी योग्य क्षेत्र नठानेको र आवश्यकभन्दा अत्यन्त न्यून लगानी गर्ने गरेको विषयमा कोही बोल्न चाहिरहेको छैन । हावा हुरीको मौसममा छानो नभएको भवनमा, घाम बाहिर र पानी भित्र हुने खालको छानो भएका विद्यालय भवनभित्र साना लालाबालालाई राखेर उनीहरुको सिक्ने तिर्खा कसरी मेटाईरहेका छन् भनेर कसैले हरेको छैन । कोहीपनि अचानक फेरिएको मूल्याङ्कन प्रणालीका कारण यस्तो नतिजा आएको हुनसक्ने तर्फ सोच्ने र चिन्तन गर्ने कुरामा तयार छैन ।
एसईई नतिजाको बारेमा हुने गरेका वहस र छलफलमा सहभागी हुने गरेका सबैजसो तयार भएको एउटा मात्रै कुरामा हो र त्यो हो नतिजा विग्रनुमा शिक्षक र केवल शिक्षक जिम्मेबार छन् । उनीहरुलाई लाग्छ, अभिभावक, विद्यालयहरुको भौतिक र शैक्षिक वातावरण ठिकठाक छन् । सरकारले शिक्षामा आवश्यक लगानी गरिरहेको छ । शिक्षकलाई तालिम र पुनः ताजगी तालिम दिने निकायहरुले पछिल्लो पटक विकसित भएका सिकाई पद्धतिको बारेमा शिक्षकहरुलाई जानकारी गराउने र तिनको प्रयोगमा सक्षम बनाउने काम गरिरहेका छन् । विद्यालयमा ति समाग्री पर्याप्त उपलब्ध छन् । मूल्याङ्कन प्रणालीमा कुनै खोट छैन । अघिल्लो वर्षसम्म प्रयोगमा भएको मूल्याङ्कन प्रणाली र अहिलेको प्रणालीमा कुनै अन्तर छैन वा त्यसले नतिजामा कुनै फरक पार्दैन ।
के एसईई नतिजा माथि भनिएका कुरा सब ठिकठक भएर शिक्षकका कमजोरीका कारण मात्र विग्रेको हो ? अवश्य होइन । सबै कुरा ठिकठाक छैनन् । जसरी अरु पक्ष ठिकठाक भएर शिक्षकको मात्र कमजोरीका कारण एसईई नतिजा कमजोर आएको होइन, त्यसरी नै शिक्षक ठिकठाक भएर अन्य पक्षको कामजोरीका कारण मात्र नतिजा विग्रियो भन्नु पनि अर्काे अति हुन जान्छ । र यो आलेखमा म खासगरी उत्तर पुस्तिका परिक्षणका क्रममा दखिने गरेका कमजोरी जुन शिक्षकले गरेका हुन्छन्, त्यसले नतिजामा फरक परेको त छैन ? भन्ने विषयमा चर्चा गर्न गइरहेको छु । हरेक दिन आएका पुर्नयोगको नतिजा हेर्ने हो भने दैनिक दुइदेखि तीन हजार विद्यार्थीको नतिजा परिवर्तन भएर आएका र अधिकांशको नतिजा सुधारिएर आएको सन्दर्भमा कमजोरी भएको स्वीकार्नु पर्ने
हुन्छ । र योसंग उत्तर पुस्तिका परिक्षण र सम्परिक्षण गर्ने शिक्षक जोडिएका हुन्छन् ।
यहि विषयलाई उठाउन मैले शिर्षककमा एसईई नतिजासंग भिण्डी र भातको साइनो उल्लेख गरेको हुँ । त्यसैले एसईईको उत्तर पुस्तिका परिक्षण र सम्परिक्षणमा संलग्न दुइ शिक्षकविचको कुराकानीको सानो अंश उल्लेख गर्नु उपयुक्त हुने ठानेको छु । उत्तरपुस्तिका परिक्षण र सम्परिक्षणको काम चलिरहेको थियो । केही विषयको सकिएको थियो भने केही विषयको चल्दै थियो । गफगाफका क्रममा एक शिक्षकले भिण्डी र भात खाने दिन सकिएको बताए । पछि थाहा भयो भिण्डी र भातको अर्थ भिण्डी चिप्लो हुने भएकाले खाना चपाइरहन नपर्ने र छिटो हुने अनि उपु परिक्षण केन्द्रमा चाँडै आइपुगिने भन्ने रहेछ । अझ यसको साइनो त धेरै कापी परिक्षण गर्ने कुरासंग जोडिएर आउने रहेछ ।
भिण्डी र भात खाएर आएर कपि परिक्षण गर्ने भन्ने कुरा पहिलो पटक सुनेंं । एउटै शिक्षकले दुइ वा दुइभन्दा बढी विषयमा कपि परिक्षण गर्ने, रातभर नसुतेर परिक्षण गर्ने जस्ता कुरा पहिले पनि सुनिएकै हुन् । यस्ता कामले अवश्य मूल्याङ्कनमा असर परेको होला । कपि परिक्षण तथा सम्परिक्षणमा थप निगरानी, निरिक्षण, अुनगमन र सिमा निर्धारणको आवश्यकता वोध शायद भएको होला । भिण्डी र भात खाएर आउने शिक्षकको ध्यान सम्यक मूल्याङ्कनमा गयो या धेरै कपि परिक्षण गरेर धेरै कमाउनेमा गयो होला ? कुनै विद्यालयमा कक्षा १० एउटै शिक्षकले दुइभन्दा बढी अध्यापन गरेको होला ? कि उसको पनि ध्यान सही मूल्याङ्कनमाभन्दा कमाउनेमा गयो होला ? रातभर नसुतेर परिक्षण गरें भन्ने शिक्षकले कस्तो कपि परिक्षण ग¥यो
होला ? यी सबै प्रश्नको सम्यक उत्तर खोज्ने हो भने केही हदसम्म कमजोर नतिजाको अनि पुर्नयोगमा सतप्रतिशत जस्तो नतिजा सुधार हुनुको कारण पत्ता लाग्छ ।
अन्य पक्षले शिक्षकलाई र शिक्षले अरुलाई दोष दिएर यो समस्याको समाधान हुँदैन बरु देशका कर्णधार भनिएका बालबालिकाको भाविष्यमाथि हुने खेलवाड कायमै रहन्छ । त्यसैले शिक्षक, अभिभावक, नीतिनिर्माता, राज्य, समुदाय सबैपक्ष आ–आफ्नो ठाउँमा सजग र जिम्मेबार हुने हो भने एसईई नतिजाको यो नियती आगामी वर्षहरुमा दोहोरिने छैन ।
एसईई नतिजासंगको भिण्डी र भात साइनो
previous post