
आजबाट देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । यो अवसरमा एसईईमा सहभागी हुन लागेका सबै भाइबहिनीलाई सफलताको शुभकामना दिन चाहन्छु । चोक, चियापसलदेखि सामाजिक सञ्जालसम्म यतिबेला एसईईकै चर्चा छ । तर, यो तामझाम र त्रासका बीच केही प्रश्न भने अनुत्तरित नै छन् । के वास्तवमै एसईई आजको समयमा त्यति नै महत्वपूर्ण छ, जति यसलाई बनाइएको छ ? के साँच्चै एसईई हामीले चित्रण गरेजस्तै फलामे ढोका हो ?
कुनै समय थियो, एसएलसी (हालको एसईई) लाई ‘फलामे ढोका’ भनिन्थ्यो । यो उत्तीर्ण गर्नु जीवनकै सबैभन्दा ठूलो उपलब्धि मानिन्थ्यो । तर समय बदलिएको छ, नीतिहरू फेरिएका छन् । आजको सन्दर्भमा मेरो दृष्टिमा एसईईको प्रमाणपत्र केवल कक्षा ११ मा भर्ना पाउने एउटा ‘प्रवेश अनुमति पत्र’ मा सीमित भएको
छ । निजामती सेवा (लोक सेवा) होस् वा शिक्षक सेवा, कुनै पनि सरकारी सेवामा प्रवेशका लागि अहिले न्यूनतम योग्यता कक्षा १२ वा स्नातक तह बनाइएको छ । एसईईको नतिजाले ती ठाउँमा कुनै विशेष अर्थ राख्दैन । तर विडम्बना, हाम्रा सरकारी निकाय, विद्यालय र अभिभावकले यसलाई अझै पनि जीवन–मरणको सवाल बनाइरहेका छन् । उत्कृष्ट ग्रेड नल्याए विद्यार्थीलाई परिवार र समाजबाट फरक दृष्टिले हेर्ने अवस्था छ, जसले उनीहरूको मानसिक स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ ।
एसईईलाई हाउगुजी बनाएर अहिले विद्यालयहरूमा ट्युसन व्यापार फस्टाएको छ । शैक्षिक सत्र सुरु हुनासाथ सामुदायिक हुन् या निजी, सबै विद्यालयमा अतिरिक्त कक्षाका नाममा शुल्क असुल्ने क्रम सुरु
हुन्छ । यसले अभिभावकमा आर्थिक भार थपेको छ । उनीहरुले ट्युसनका नाममा मोटो रकम बुझाउनुपर्ने बाध्यता छ । यसले विद्यार्थी र शिक्षक दुबैमा नियमित कक्षा प्रतिको उपेक्षा बढेको छ । शिक्षकहरूको ध्यान र लगन दिउँसोको नियमित कक्षामा भन्दा बिहान–बेलुकाको ट्युसन कक्षामा बढी देखिन थालेको छ । विद्यार्थीहरुमा “ट्युसन नपढे ग्रेड राम्रो आउँदैन” भन्ने मनोवैज्ञानिक प्रभाव(भ्रम) यसरी गाडिएको छ कि उनीहरू स्वाध्यायनभन्दा पनि धेरै ट्युसन कक्षा तर्फ दोडिरहेका छन् । दौडिन बाध्य पारिएको छ ।
विगतका हाम्रा सरकारहरूले एसइईको औचित्यमाथि बहस गर्नुको साटो यसलाई निरन्तरता दिनुमै आफ्नो सफलता देखे । कक्षा १२ सम्मलाई माध्यमिक शिक्षा मानिसकेपछि पनि कक्षा १० मा लिइने यो ‘राष्ट्रिय स्तरको परीक्षा’ को सान्दर्भिकता के ? के यो परीक्षालाई विद्यालय तहकै आन्तरिक मूल्याङ्कनमा छोड्न सकिँदैनथ्यो ? यस्ता प्रश्नहरू एसईई निरन्तरताका पक्षधरको अगाडि तेर्सिएका छन् । तर उत्तरको खोजी भएको छैन, उत्तर भेटिएको छैन ।
हाम्रो शिक्षा प्रणालीले विद्यार्थीलाई सिर्जनशील बनाउनुपर्नेमा केवल ‘ग्रेड’ को दास बनाइरहेको छ । ग्रेडकै पछाडि दौडाइरहेको छ । एसइई त्यसैको एउटा मानक कुरुप कडी बनेको छ । एसईईलाई हाउगुजी बनाउन छोडेर एउटा सामान्य वार्षिक परीक्षाको रूपमा लिने वातावरण निर्माण गर्नुपर्छ । शिक्षक र विद्यालयहरूले ट्युसनलाई अनिवार्य होइन, आवश्यकतामा आधारित बनाउनुपर्छ । सरकारले कक्षा १० को परीक्षालाई प्रादेशिक वा स्थानीय तह वा विद्यालय स्तरमै व्यवस्थापन गर्ने गरी नीतिगत सुधार गर्नुपर्छ । अभिभावकले आफ्ना बच्चालाई उसले प्राप्त गरेको ग्रेडको आधारमा होइन, उसले आर्जन गरेको शिक्षा, संस्कारका आधारमा मूल्याङ्कन गर्न सिक्नुपर्छ ।
परीक्षा अर्थात विद्यार्थी मूल्याङ्कन आफैँमा नराम्रो होइन, तर परीक्षाको नाममा दिइने मानसिक दबाब र गरिने आर्थिक शोषण पक्कै पनि न्यायसंगत छैन । एसईईलाई ‘फलामे ढोका’ बाट मुक्त गरी एउटा सहज ‘शैक्षिक खुड्किलो’ मात्र बनाउने हो भने विद्यार्थीको सिर्जनशीलता निख्रने थियो । नतिजा राम्रो बनाउने प्रयत्न गर्ने हो । अभिभावकले सुखद भविष्यका लागि राम्रो अध्ययन र नतिजा आवश्यक छ भन्ने कुरा बालबालिकालाई बुझाउँदै सोचेजस्तो नतिजा नआएका बखत पनि सान्त्वना दिन र थप मेहनत गर्न प्रेरित गर्नुपर्छ, दवाव दिने
होइन् ।
