रमेश विकल
नेपाली राजनीतिको एउटा प्रभावशाली शक्ति नेकपा एमालेको ११ औं महाधिवेशन पुष ३ गते बिहिबार काठमाण्डौंको भृकुटीमण्डपमा सम्पन्न भएको छ । तीन दिनको कार्यतालिका रहेको तर ६ दिनमा सकिएको यो महाधिवेशनले खड्गप्रसाद (केपी) शर्मा ओलीलाई तेस्रो पटक अध्यक्षमा निर्वाचित गरेको छ । यो महाधिवेशनले पार्टीभित्र खड्ग ओलीको अविचलित विरासतलाई पुनः पुष्टि गरेको छ । निर्वाचनको अंकगणित र पदाधिकारीको संरचनालाई हेर्दा एमालेभित्रको शक्ति सन्तुलन र आगामी दिशाबारे केही महत्वपूर्ण संकेतहरू देखिएका छन् ।

ओलीको सुदृढ पकड र ह्याट्रिक
२०७१ सालको नवौं महाधिवेशनमा झिनो मत (४४ मत) को अन्तरले माधवकुमार नेपाललाई पराजित गर्दै विजयको माला लगाएका ओलीले ११ औं महाधिवेशनसम्म आइपुग्दा आफूलाई झन् शक्तिशाली बनाएका छन् । ईश्वर पोखरेललाई ११०० भन्दा बढी मतको फराकिलो अन्तरले पराजित गर्नुले पार्टीको तल्लो तहसम्म ओलीको पकड कति बलियो छ भन्ने देखाउँछ । १० औं महाधिवेशनमा भीम रावलसँगको प्रतिस्पर्धा जस्तै यस पटक पनि उनले करिब ७५ प्रतिशत मत प्राप्त गरेर पार्टीमा आफ्नो विकल्प नरहेको सन्देश दिएका छन् ।
पदाधिकारीमा वर्चस्व र प्यानलगत प्रभाव
१९ सदस्यीय पदाधिकारीमध्ये १७ जना ओली पक्षका उम्मेदवार विजयी हुनुले एमाले अब पूर्णतः ’ओली मार्ग’ मा हिँड्ने निश्चित भएको छ । विशेषगरी ओलीका विश्वासपात्र शंकर पोखरेलको महासचिवमा विजयले पार्टीको सांगठनिक कमान्डमा ओलीको प्रत्यक्ष प्रभाव रहने सुनिश्चित गरेको छ । यद्यपि उपाध्यक्षमा गुरुप्रसाद बराल तथा उपमहासचिवको रुपमा अर्का विश्वासपात्र विष्णुप्रसाद रिमालको अभाव ओलीलाई सदा खड्किने छ ।
सचिवमा क्लिन स्वीपः नौ जना सचिव नै ओली प्यानलबाट निर्वाचित हुनुले पार्टीको दोस्रो तहको नेतृत्वमा अन्य विचार वा समूहको उपस्थिति शून्य प्रायः बनाएको छ । संकटका सारथीको रुपमा रहेका महेश वस्नेतको सचिवमा विजयले ओलीलाई थप सुरक्षित महसुस गराएको र हौस्याएको अवश्य छ ।
‘इतर’ मतको अर्थः चुनौती कि लोकतन्त्र ?
यद्यपि ओली भारी मतले विजयी भए, तर निर्वाचन परिणामले केही रोचक पक्षहरू पनि उजागर गरेको छः। ईश्वर पोखरेलले प्राप्त गरेको ५६४ मत र पदाधिकारीमा गोकर्ण विष्ट तथा योगेश भट्टराईको विजयले पार्टीभित्र एउटा हिस्सा अझै पनि ‘विकल्प’ वा ‘भिन्न मत’ को पक्षमा रहेको देखाउँछ ।
ओलीका मुख्य रणनीतिकार मानिने विष्णु रिमालको पराजयले महाधिवेशन प्रतिनिधिहरूले प्यानललाई मात्र नहेरी व्यक्तिको लोकप्रियता र कार्यशैलीलाई पनि मूल्यांकन गरेको बुझ्न सकिन्छ ।
भूगोल र क्लस्टरको राजनीतिः तनहुँको उदाहरण
निर्वाचन परिणामले भूगोलमा पनि ओली पक्षकै दबदबा देखाएको छ । तनहुँबाट निर्वाचित चारै जना केन्द्रीय सदस्य टुकराज सिग्देल, भगवती न्यौपाने, किरण गुरुङ र कृष्णकुमार श्रेष्ठ, ओली प्यानलकै हुनुले जिल्ला स्तरका प्रभावशाली नेताहरू पनि संस्थापन पक्षसँगै सुरक्षित रहेको पुष्टि हुन्छ ।
नेकपा एमालेको ११ औं महाधिवेशनले केपी शर्मा ओलीलाई निर्विकल्प नेताको रूपमा उभ्याएको छ । पार्टीका सबै महत्वपूर्ण पदहरूमा संस्थापन पक्षको वर्चस्व हुनुले नीति निर्माण र निर्णय प्रक्रियामा सहजता त ल्याउनेछ, तर पार्टीभित्रको आन्तरिक लोकतन्त्र र भिन्न मतको सम्मान गर्ने चुनौती पनि उत्तिकै रहनेछ ।
ईश्वर पोखरेल पक्षको केही उपस्थिति र केही प्रभावशाली नेताहरूको पराजयले आगामी दिनमा एमालेभित्र आन्तरिक व्यवस्थापन कसरी हुन्छ भन्ने कुरा चासोको विषय बनेको छ ।
