शान्त समुन्द्र अनि कुनै कुसल सिल्पकारले कुँदेको मूर्तिजस्तै, कूसल संगितकारले सिर्जना गरेको मिठासयुक्त संगित जस्तै, कूसल नृत्यंगनाको एकतमासले हेरिरहौं जस्तो लाग्ने नृत्य जस्तै लयबद्ध रुपमा किनारसंग समुन्द्रका चञ्चल छालहरु । सामुन्द्रिक किनारमा कोही आफ्नो परिवारसंग कोही साथीसंगीसंग त कोही आफ्नो प्रेमी प्रेमिकासंग रमाउन आएका मानिसहरुको जमात हेर्दा परक्षितिजसम्म पनि शान्त स्थिर देखिने समुन्द्रबाट छिनछिनमा अनायस आउने सितल बतासका लहरहरु । नेपालको पहाडी भेगमा जन्मेको, सप्तकोशीको बाँध देख्दा पनि बाफ रे नदी पनि यति ठूलो हुन्छ भनेर जिब्रो टोक्ने मान्छे म, आज आफ्नो दृष्टिले भ्याउँदासम्म पानी नै पानी देख्दा अचम्मित पनि भैरहेको छु । र रमाईलो पनि लागि रहेको छ । एउटा छुट्टै भूगोल, छुट्टै प्रकृति र छुट्टै जिवनशैली ।
पेशाले शिक्षक म, विदेशी जीवनशैली, विदेशी शिक्षा पद्धति, त्यतातिरको रहनसहन र चालचलनको बारेमा प्रविधिको माध्यमबाट धेरथोर जानकारी बटुलेको थिएँ । नेपालको शैक्षिक पद्धतिमा परिवर्तन ल्याउनु पर्दछ । त्यसको लागि विदेशतिर कस्तो चलन हुँदो रहेछ, शिक्षकलाई अनुभव गर्ने प्रत्यक्ष मौका दिनु पर्दछ भनेर सरकारले शुरु गरेको शिक्षक विदेश भ्रमणको कार्यक्रममा भाग्यवस पहिलो लटमै छनौटमा परेको म । एक महिने लामो विदेश बसाईमा हामीले त्यहाँको विभिन्न शैक्षिक संस्था र शिक्षा क्षेत्रसंग सम्बन्धित कार्यालय स्थानहरुको भ्रमण गरी प्रतिवेदन तयार गर्नुपर्ने थियो । त्यो एक महिने बसाईमा पाँच दिनभने विभिन्न स्थानहरु घुमघाम र रमाईलोको लागि छुट्टयाईएको थियो । पहिलो काम सकाएर हामी सबै धुमधाम र रमाईलोमा व्यस्त थियौं । विदेश बसाईको अन्तिम दिन, हाम्रो टोलीका साथीहरु के गर्दै थिए, त्यति वास्ता भएन । म भने समुन्द्रको किनारामा बसेर शान्त समुन्द्रलाई नियाल्दै नेपालको शिक्षाको शिक्षा पद्धति र विदेशतिरको शिक्षा पद्धतिको बारेमा फरक खुट्याउँदै, आफूले यहाँ देखेका र जानेका कुराहरुलाई कसरी नेपालमा कार्यान्वयन गराउन सकिन्छ, भन्ने बारे सोंच्दै थिए । अचानक सामुन्द्रिक किनारामा बसेको, सुरक्षा दलले फुकेको सिठ्ठीको टिर टिर आवाजले मेरो एकाग्रता भंग गराई दियो । के भएको रहेछ, बुझ्नको लागि उठ्न खोज्दै थिए, मोवाईलमा बजेरको टिर्र, टिर्र आलरामले निँद्रा खुल्यो । जीवनमा एक पटक भएपनि विदेशको यात्रा गर्ने मेरो सपना, जुन सपनाको बारेमा म सपनामा रमाउँदै थिएँ, सपनामै सकियो । मोवाईलको घण्टीसंगै उठेर आफ्नो नित्यकर्मको थालनीमा लागेंं ।
विश्वमा दुईसय भन्दा पनि धेरै देशहरु छन् । सबै देशहरुमा त होइन, तर विश्वको अधिकाँश विकसित देशहरुमा नेपालीहरु छन् । लाखौं संख्यामा । कोही व्यापार व्यवसायको सिलसिलामा, कोही अध्ययनको शिलशिलामा त कोही रोजगारीको सिलसिलामा । अधिकाँश त रोजगारीको सिलसिलामा । आजको समयमा नेपालीहरुको जीवन नेपालको भूगोलभित्र मात्र सीमित छैन । नेपाली पाईलाहरुले पनि विश्वको कुना काप्चामा टेकिसकेका छन् । विश्व जगतका जीवनशैली, संस्कृति र रहनसहनको बारेमा बुझ्ने मौका पाईसकेको छ । हुन त सूचना र प्रविधिको यो युगमा विश्वमा कहाँ के छ, कस्तो छ, के भैरहेको छ भन्ने कुरा थाहा पाउनु ठूलो र नौलो कुरा भएन । तर चित्रमा हेरिएको खाने कुराको न स्वाद पाईन्छ, न वास्ना नै, न त्यसले भोक नै मेटाउँछ । त्यसरी नै मोवाईल र कम्प्यूटरको स्क्रिनमा देखिएको र हेरिएको विश्वको अनुभव प्रत्यक्ष त्यही पुगेर गरिएको अनुभव जस्तो हुँदैन । यस अर्थ नेपाली जनताले पनि विश्वको कुना कुनामा पाईला राख्न पाउनु र त्यहाँका धेरै कुराहरु बुझ्न पाउनु हाम्रो लागि खुशीकै कुरा हो तर संगसंगै यो पनि सोच्नु आवश्यक छ कि यो कसरी सम्भव भयो । नेपालीको चाहानाले, इच्छाले, रहरले या बाद्यताले ?
एउटा प्रश्न माथि विचार गरौं । लाखौंको संख्यामा नेपालीहरु विदेशमा छन् । तर ती मध्ये कति नेपाली यस्ता होलान् जो आफ्नो छुट्टी मनाउन, नयाँ घुम्ने आफ्नो चाहाना पुरा गर्न वा सरल भाषामा भन्दा भएर पुगेर रमाउनका लागि विदेश गएका होलान् ? यो आँकडाको हिसाब लगाउने हो भने अपवादको रुपमा रहेका केही व्यापारिक घराना बाहेक आँकडा शून्य प्रायः हुन आउँछ । टाढाको कुरा छोडौं पासपोर्ट र भिसा नचाहिने भारतमै पनि केवल रामाईलो र घुम्न जानु अधिकाँश नेपालीको लागि आकाशको फल नै हो । यी सबै यथार्थ बुझ्दा बुझ्दै पनि एक पटक विदेशको सयर गर्ने चाहाना अझ हराएको छैन । झन बढ्दै गएको छ । रोजगारीको लागि विदेशीने साथीहरुले त्यहाँ कति दुःख र कस्ट भोग्नु पर्दछ, थाहा नभएको होइन, तर समुन्द्रको किनारामा उभिएर अग्ला अग्ला गगनचुम्वी भवनको अगाडि उभिएर साथीहरुले खिचेको सेल्फी देख्दा र छुट्टीमा आउँदा विदेशमा यस्तो, त्यस्तो छ भनेको कुरा सुन्दा एक पटक नै सही विदेशको यात्रा गर्ने चाहना अझ बढेर आउँछ । यात्रा जीवनको अभिन्न पाटो हो । नयाँ नयाँ ठाउँहरुमा घुम्नु वास्तवमै लाभदायी कुरा हो । एकजना दार्शनिकले भनेका छन्, संसार एउटा किताब हो । देशहरु त्यो किताबको पाना र ति देशका कुना काप्चा ति पानाका हरफ र अनुच्छेदहरु । जसरी किताबको एउटा पाना मात्र पढेर समग्र किताबको रसपान गर्न र अर्थ लगाउन सकिदैन । त्यसरी नै एकै ठाउँ बसेर मात्र जीवनको रसपान गर्न र अर्थ लगाउन पनि सकिदैन । दार्शनिकको यो विचारबाट पनि हामी अनुमान लगाउन सक्छौं, जीवनको अर्थ बुझ्न कै लागि पनि यात्रा कति जरुरी छ ।
यात्राले मानिसमा नयाँ जोश र जागरको बृद्धि गराउँदछ । सोंचाईको दायरालाई फराकिलो पार्दछ । मानसिक र सम्वेगात्मक स्वास्थ्यको लागि पनि यात्रा उत्तिकै आवश्यक छ । अध्ययनहरुले पनि समय समयमा नयाँ ठाँउ घुम्ने, यात्रामा गै रहने व्यक्तिहरुको कार्य सम्पादन तुलनात्मक रुपमा अरुको भन्दा राम्रो हुने गरेको बताउँछ । विदेशतिर घुमघाम गर्नु सांस्कृतिकै रुपमा विकसित हुँदैछ । तर हाम्रोमा अझै पनि घुमघाम गर्नु भनेको फजुल खर्च हो भन्ने मान्यता जिवितै छ । सायद नपुगेर, कमाईले नभ्याएर पो हो कि ?
हामी अधिकाँश नेपालीहरुको जीवन दैनिक गुजारा चलाउने साँगा टार्दैमा वित्दछ । आजको लागि पु¥याउने र सके भोलिको लागि अलिकति बचाउने सुर धन्दा मै हामी मध्ये धेरैको जिन्दगी वित्ने गर्दछ । त्यसैले पनि नयाँ ठाउँ घुम्नु र यात्राको लागि बजेट छुट्टयाउनु भनेको हाम्रो लागि फलामको च्यूरा चपाए सरह नै हो ।
नेपाल आफैमा सुन्दर देश हो । घुम्नको लागि यही पनि हजारौं ठाउँहरु छन् । तर हाम्रो विवशता विदेश घुम्नु त एकादेशको कथा नै भयो । नेपालकै ठाउँहरु घुम्न पनि हामीले दश पटक सोंच्नु पर्ने बाध्यता छ । किनकि हामीसंग प्रयाप्त कमाई छैन । विश्वका कैयौ देशहरुबाट पर्यटकहरु नेपाल घुम्न आउँदछन् । कहिले काही त ती पर्यटकहरु देख्दा पनि इष्र्या लागेर आउँदछ । सोध्न मन लाग्छ, तिमीहरु भएर पुगेर घुम्न हिँडेका हौ कि त्यसै । कसरी पुग्छ पैसाले तिमीहरुलाई । बेला बेलामा घुमि रहन ?
हामी कहानेर चुक्यौं ? जस्ले गर्दा हामी आर्थिक रुपमा सँधै पछाडि प¥यौं । हामी जनता नै अल्छि भयौं या नेतृत्वले काम गर्ने वातावरण बनाउन सकेन । या हामीमा केही नयाँ गरौं भन्ने जिज्ञासा नै पलाउन सकेन ? सकेन भने किन सकेन ? जन्मदै ऋणको भारी बोकेर जन्मुन पर्ने दुर्भाग्यबाट कहिले उन्मुक्ति पाउने हामीले ? नेपालले विदेशको मुख हेर्न के सँधै कामदारको भिसा लगाउनु पर्ने हो ? नेपालीहरु पनि पर्यटक बनेर आफ्नै खर्चमा विदेश घुम्न जाने हैसियत बनाउन कहिल्यै सक्दैनन् त ? विदेशको कुरा छोडौं, हाम्रो नेपालको ठाउँहरु घुम्न दश पटक सोच्नु पर्ने बाध्यताको अन्त्य होस् । प्रत्येक नेपालीको कमाई त्यति बनाउन हामी कहिल्यै पनि सक्दैनौं त ? के यो सम्भव नै छैन त ? कहि कतै पढेको र सुनेको थिएँ । असम्भव भन्ने शब्द मूर्ख र अल्छिहरुको लागि मात्र हो । अब हामी नै तय गरौं सम्भव बनाउन सम्भव छ या असम्भव ।
पंक्तिकार अहिले जुन पेशामा छ, जुन क्षेत्रमा छ, त्यहाँबाट हुने कमाईले मलाई मनग्य खर्च गर्न पुग्दैन । मेरौ कैयौं इच्छा र चाहनालाई यसले समेट्न सक्दैन । कहिले काही खुशी र गर्व पनि लाग्छ । नेपाल सरकारले मेरो योग्यता र क्षमतालाई कदर र सम्मान गरेर दिएको जागिर हो यो । निस्वार्थ र पवित्र पेशामा लागेको छु । हो म नेपाल सरकारको नुन पानी खाने कर्मचारी हूँ । तर सरकारले मलाई दिएको तलब भन्दा नुन पानीकै लागि ठिक्क हुन्छ । किनकि म नेपाल सरकारको शिक्षक हूँ । मलाई थाहा छ, मेरो पेशाबाट हुने आम्दानीको पाई पाई बचाउँदा पनि मेरो इच्छा पुरा हुन गाह्रो छ । तै पनि एउटा सपना छ, सपना पुरा गर्ने चाहना छ र पुरा हुन्छ भन्ने विश्वास पनि छ । एक पटक विदेश हेर्न जानु छ ।
एक पटक विदेश हेर्न जानुछ
previous post