समयक्रमले हामी नेपालीलाई दैनिक मासु काटेर बेच्नेको नाम बुद्ध स्विकार्न बाध्य बनाएको छ । किनभने बैंकको लकरमा पेस्तोलका गोली राख्ने व्यक्तिलाई सरकारले शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनी स्थित लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाएको छ ।
विश्वसम्पदामा सूचीकृत बुद्ध जन्मभूमि लुम्बिनीको गुरुयोजना कार्यान्वयन गर्ने, ऐतिहासिक सम्पदास्थलको संरक्षण गर्ने र बौद्ध दर्शनको अध्ययन–अनुसन्धान गर्ने÷गराउने सर्वोच्च निकायकै प्रमुखका रूपमा दोहोरो नागरिकता, भारतीय रासनकार्ड÷राहदानी, तिब्बती शरणार्थी परिचयपत्र, वैदेशिक रोजगारीका नाममा ठगी र अकुत सम्पत्तिमात्र होइन, बैंकको लकरमा बन्दुकका गोली राखेको आरोप लागेका ल्हारक्याल लामाको नियुक्ति कल्पना गर्न नसकिने खालको छ ।
कोष जुन प्रकृतिको संस्था हो, त्यस अनुसार यसको उपाध्यक्ष बन्ने व्यक्ति सम्बन्धित विषय–क्षेत्रमा काबिल भएर मात्र पुग्दैन, उच्च नैतिकतावान् पनि हुनुपर्छ । विवादास्पद र चारित्रिक रूपमा कमजोर व्यक्ति लुम्बिनी संरक्षणको सारथि बन्नै सक्दैन । तर दुःखद आश्चर्य सरकारले उनी जस्तो अरु कुनै प्रतिभा नभएजस्तो गरेर लामालाई नियुक्त गरेको छ ।
अझ दुःखद आश्चर्य के छ भने विवादको पर्याय जस्तै बनेका लामा ठूला भनिएका सबै राजनैतिक दलका प्रिय छन् । लामा २०५८ देखि २०६३ सम्म कांग्रेसको सिफारिसमा गुम्बा व्यवस्था तथा विकास समितिको अध्यक्ष बने भने एमालेको सिफारिसमा २०६४ र २०७० मा गरी दुइपटक समानुपातिक सांसद तथा २०६७ चैत्र २८ मा अर्थ राज्यमन्त्री समेत भए अनि अहिले माओवादीको सिफारिसमा लुम्बिनी विकास कोषको उपाध्यक्ष बन्न सफल भएका छन् ।
अवसरवादका समेत पर्याय बनेका लामाको लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्तिले विश्व शान्तिका प्रतिक बुद्ध र हिंसाको प्रतिक बन्दुक एकै ठाउँ रहने अवस्था बनेको
छ । जुन दुःखद छ । हामीले जे गर्दा पनि हुन्छ भन्ने तानाशाही सोचबाट दल र दलका नेताहरुको सामाजिक अस्तित्व धरासायी बनाउने श्रृङ्खला स्वयमबाट प्रारम्भ भएको छ ।