छविदीप आले [email protected]
उ सानै दखि असल थियो । अनुशासित थियो । विद्यालयमा पनि राम्रो विद्यार्थीहरु मध्ये गनिन्थ्यो । बाबु(आमा र ऊ केवल तीन जनाको सानो परिवार थियो, उसको । आफ्नो जहान र सन्ततीलाई अझ बढी खुसी र सुख दिने आशा र मनसायले परदशिएको उसको बाबुलाई परदेशले रुचायो या उसको बुबाले परदेशलाई रुचाए, बाबु उतै हराए, उतै विलाए । १० वर्षको कलिलो उमेर दखिनै उसलाई आमाले नै आमा र बाबु दुबैको मायाँ र संरक्षण दिएर हुर्काएकी थिइन् । सानै उमेरमा बुबाको साथ छुटेपनि उसले आफ्नो मति कहिल्यै विगारेन । कहिल्यै खराब संगतमा लागेन । हिँजो सानो छँदा पनि ऊ असल र अनुशासित थियो, आज ठूलो भैसक्दा पनि ऊ त्यत्तिकै असल र अनुशासित छ । अझ भनौं समझदार भएको छ । छरछिमेक, इष्टमित्र, गरुवर्गले पनि उसलाई सधैं बाबु विग्रिनु हुँदैन, धेरै पढ्नु पर्छ, ठूलो मान्छे बन्नुपर्छ, आमालाई बुुढेसकालमा सुख दिनुपर्छ है भन्थे । उसले यो कुरालाई राम्रोसंग बुझेको थियो । किनभने उसले सानैदेखि आफुलाई हुर्काउन आमाले गरको संघर्ष, लाउँलाउँ खाउँखाउँ भन्ने उमेरको जवानी छोराकै नाममा सुम्पिएको त्याग उसले राम्रोसंग महसुस गरको थियो । आफ्नो दामली उमेरका साथीहरुसंग रमाइलो र मोजमस्तीमा रम्न उसले कहिल्यै पाएन या शायद चाहेन । किशोर वयमा हुने प्रेम र विपरित लिङ्गी प्रतिको आर्कषणले उसलाई पनि कहिले काहिँ तानेको हुँदो हो तर उसले आफुलाई सम्हाल्यो । जीवनको तीसौं वसन्त काटिसक्दा पनि उसले अत्यन्त संयमित जीवन बाँचिरह्यो । तर अकस्मात एकदिन उसका उनीसंग भेट भयो ।
उनीसंग भेट भएपछि उसका जीवनमा केही परिवर्तन आएको छ । परिवर्तन यो मानेमा होइन कि उसले आफ्नो अनुशासन र समझदारी गुमाएको छ । अहँ विल्कुल गुमाएको छैन । परिवर्तन यो मानेमा आएको छ कि उसका जिन्दगीमा खुसीहरु थपिएको छ । उसले रमाउन सिकेको छ । उ प्रेममा परेको छ । हो उनीहरु एक अर्कासंग प्रेम गर्छन् । एक अर्कासंग खुसी छन् । एक अर्काको साथ र सामिप्यता उनीहरुलाई प्यारो लाग्छ । उनीहरु दुबैलाई एक अर्काको यथार्थता र वास्तविकता थाहा छ । त्यसैले उनीहरुको प्रेम फगत शारीरिक आकर्षण मात्र त कदापि होइन् । कहिले उनीहरु किशोरवयकाहरु जस्तो जिस्कन्छन्, कहिले समझदार भएर कुरा गर्छन् । कहिले काहिँ उनीहरु भविष्यको बारेमा पनि कुरा गर्छन् । तर उनीहरुलाई भविष्य भन्दापनि वर्तमान प्यारो लाग्छ । उनीहरुको प्रेम निस्वार्थ छ, निश्कलङ्क छ, पवित्र छ । उनीहरुको मनपनि मिलेको छ तन पनि मिलेको छ । आज पनि उनीहरु निकै बेरसम्म प्रेमिल गफमा मग्न रहे । धेरैवेर सम्मको गफगाफ पछि उसले फोन राख्ने आँटको थियो, उताबाट उनले भनिन्, “एउटा कुरा सोधौं है ?” उसले सहज जवाफ फर्कायो,“अँ सोधन ।” उनले प्रश्न गरिन्, “हामी कहिले बिहे गर्छाै ?” उनको यो प्रश्नको ऊसंग तत्काल जवाफ थिएन । कुरा यो होइन कि ऊ उनलाई आफ्नो बनाउन चाहँदैन । उसले यो विषयमा पनि कयौं पल्ट सोचिसकेको थियो र पनि अहिले उसंग यसको जवाफ थिएन् । उसले जवाफ दियो “छिट्टै” र फोन काट्यो ।
उनी, उनी एक सुन्दर स्त्री हुन् । रुपमा पनि सुन्दर छिन् । व्यवहारमा पनि असल । हाम्रो समाजले निर्धारण गरको असल र सुन्दर स्त्रीको परिभाषा भित्र ठिक्क सुहाउने । उनको बालापन सहज रुपमा बित्यो । होनहार विद्यार्थी थिइन् । रुपमा त उनी त्यसै राम्री थिईन्, पढ्नमा पनि अब्बल । शिक्षकहरुको आँखाको विद्यार्थी थिइन् । उनी आफै पनि जीवनमा केही बन्न चाहन्थिन् । उनको बुबा आमाको पनि उनलाई ठूलीमान्छे बनाउने रहर थियो । सबै कुरा ठिकै चल्दै थियो तर जब उनी उच्च शिक्षाको लागि तयार भइन्, गरिबी उनीहरुको सपनाको बीचमा पर्खाल बनेर आईदियो । जीवनमा केही बन्छु भन्ने आफ्नो सपनालाई मारेर आफ्नो बुबाको विवशतासंग सम्झौता गर्न बाध्य भईन् । आफ्नो नयाँ जीवनसंग पनि उनी खुसी नै थिईन तर भगवानलाई यो खुसी पनि सह्य भएन । बिहे भएको केही वर्षमै उनको सिउँदो उजाडियो । आफ्नै कर्मलाई दोष दिँदै भाग्यको नियतीलाई उनले स्वीकारिन् । जसोतसो खुसी देखिने प्रयास गर्दै जिन्दगी बाँचिरहेकी थिईन् उनी । यही क्रममा उनको उ संग भेट भयो । उनीहरु एक अर्काप्रति नजिकिए । उनले पनि जीवनमा नयाँ नयाँ सपनाहरु देख्न थालिन् । उनलाई पनि लाग्न थाल्यो, जिन्दगी अझै बाँकी छ । ऊ संग आफ्नो भविष्य सुमधुर हुनसक्छ । र त धेरै दिनदेखि सोध्न मन लागेको कुरा आज ऊसंग सोधिन्,“हामी केहिले बिहे गर्छाै ? ”
भनिन्छ, मायाँमा जातपात, धर्म, उमेर(अवस्था केहि देखिँदैन । ऊसले यो कुरा धेरै पटक पढेको थियो । सुनेको पनि थियो । तर आज त्यहि कुरालाई व्यवहारमा उतार्न उसलाई किन यति गाह्रो भइरहेको छ ? फोन काटिसकेपछि उसलाई यहि कुराले सताउन थाल्यो । हो, उनको सबै विगत थाहा भएरैपनि उसले प्रेम गरको हो । तर जब विहेको कुरा आउँछ किन हरेक पल्ट समाज भन्ने शब्द उसको मस्तिष्कमा आउँछ ? के प्रेम र विवाह नितान्त फरक कुरा नै हुन् त ? यीनीहरुको आपसमा कुनै सम्बन्ध नै छैन त ? के प्रेम चाहिँ जोसंग गर्दा पनि हुने तर विहे चाहिँ समाजले तोकिदिएको कथित नियम र परिधि भित्र बसेर नै गर्नुपर्ने हो ? या फेरी प्रेममा विवाह नै आवश्यक हुँदेन ? उनीहरु एक अर्कालाई प्रेम गर्छन् । असिम प्रेम र त बाँकी जीवन एकाकार हुन चाहन्छन् । तर हरेकपल्ट उसले किन यो सोच्नु परको छ कि समाजले के भन्ला ? उनको प्रश्न पछि आज पनि ऊ यहि खुट्याउने प्रयास गरिरहेको छ कि उनीहरुको प्रेमलाई अन्तिम रुप दिनमा बाधा के हो ? ऊ अविवाहित हुनु या उनी कसैकी विधवा हुनु ?
माथिको काल्पनिक कथाले कहिँ कसैलाई व्यक्तिगत रुपमा चोट पुगेमा पङ्तिकार हृदयदेखि ने क्षमा याचना गर्दछ । तर यो कथा आजसम्म पनि हाम्रो समाजको वास्तविकता हो । ईतिहासका कालखण्डमा नेपालमा कुनै समयमा यस्तो पनि थियो जहाँ श्रीमान्को मृत्यु पश्चात श्रीमतीले सती जानु पथ्र्याे । सामान्य जीवन यापन गर्ने गरिब जनताको त कुरै छोडौं रानी, महारानीहरु समेत सती जाने गर्दथे । मानव सभ्यताको इतिहासमा यो एउटा निकै नै बर्बर, दयनिय र डरलाग्दो समयखण्ड थियो । यस्तो अवस्थाबाट राणा प्रधानमन्त्री चन्द्रसमशेरले नेपाललाई मुक्त गराए । हो, चन्द्रसमशेरले नेपालबाट सती प्रथा हटाए । अब कुनैपनि नारीले आफ्नो श्रीमान्को मृत्युसंगै आफ्नो पनि जीवनलिला समाप्त पार्नु नपर्ने भयो । आफ्नो जिन्दगी बाँच्ने उनीहरुलाई पूरा अधिकार भयो । तरपङ्तिकारलाई के लाग्छ भेन सती प्रथा कानुनी रुपमा समाप्त भएको यति लामो समयपछि पनि समाजलाई यदि मिहिन ढंगले हेर्ने हो भने नेपाली समाजमा अझैपनि सतीहरु छन् । ति अभागी सतीहरु जसलाई कानुनले मर्न दिँदैन र समाजले सजिलोसंग बाँच्न दिँदैन ।
समाजबाट सतीप्रथा उन्मूूलन हुनु एकदमै राम्रो कुरा हो । तर सती प्रथा बन्दमात्र गराएर आधा काम मात्र भएको छ । नारीहरुले अरुको मृत्युसंगसंगै आफु मर्नु त नपर्ने भयो तर त्यसपछि के ? उसको बाँकी जीवन ? बरु सती प्रथामा नारीलाई एकछिन् शारीरिक पिडा हुन्थ्यो तर एकछिन् पछि सबै आनन्द सबै खत्तम । तर अहिलेको समाजमा मर्न कानुनले छेकेको छ । बाँच्न पनि सजिलो छैन । पल(पल शारीरिक र मानसिक पिडासंग जुधेर, समाजसंग डराएर मर्दै बाँच्नुपर्ने अवस्था छ । आफ्नो परिवारलाई चलाउन आर्थिक व्यवस्थापन गर्न एक्लैलाई कम्ती गाह्रो हुुँदैन र ? आर्थिक पाटोको कुरा त सबैलाई एकै नहोला । पारिवारिक रुपमा सम्पन्न अवस्था भएकालाई समस्या नहोला । तर आर्थिक रुपमा सम्पन्न भएपनि नभएपनि के एउटा विधवा नारीको मनले पनि कसैको न्यानो साथ खोज्दैन होला ? के उसका शरीरले पनि अरु नारीको शरीरले जस्तै प्राकृतिक रुपमै आफ्नो आवश्यकताहरु महशुस गर्दैनन् होला त ? अवश्य पनि गर्छ । तर विडम्बना के चाहिँ हो भने उसले आफ्नो यी सबै आवश्यकता र भावनाहरुलाई दबाएर, मारेर जीवन जीउन पर्ने अवस्था छ आजको २१ औं शताब्दीमा पनि । एकाध व्यक्तिको जीवनमा यस्तो नहोला तर ति एकाध व्यक्तिले सिङ्गो समाजको प्रतिनिधित्व गर्न सक्दैन । यदि सास फेर्नुमात्र बाँच्नु हो भने अलग कुरा नत्र विधवा महिलाहरु आजपनि समाजमा पलपल मरिरहेका छन् । उनीहरुको एक्लोपनको फाइदा उठाउँदै ढाढस र आश्वासनको शब्दमा फसाएर क्षणिक रुपमा उनीहरुलाई आफ्नो बनाउन चाहने स्याल र व्वाँसोहरु पनि छन्, समाजमा । तर समाजमा त्यस्ता व्वाँसोहरुमात्र छैनन्, प्रेमलाई साँच्चै नै निष्ठा र पवित्र नजरले हेर्ने कथाको ऊ पात्रहरु जस्ता सज्जन पनि छन् । तर त्यस्ता सज्जन ऊ पात्रहरुको पवित्र प्रेमको बाधक बनेर आईदिन्छ, यही समाज ।
कतिले यसलाई पित्रृ सत्तात्मक समाजको उपजको रुपमा लिन्छन् तर मलाई यो कुरा ठ्याक्कै सत्य हो भन्नेपनि लाग्दैन । यदि त्यस्तो हुँदो हो र समाज पूर्ण रुपमा पितृसत्तात्मक हुँदो हो त एउटा पुरुषलाई हरेक कुरामा स्वतन्त्रता हुनुपर्ने । सबै कुरामा उसको हालिमुहाली हुनुपर्ने । एउटा अविवाहित पुरुषले एउटी एकल महिलालाई अपनाउन दसौंपल्ट सोच्नुपर्ने अवस्था नुहुन पर्ने । उदेक लाग्दो कुरा त के पनि छ भने एउटा उच्च ओहोदाको अथवा भनौं चर्चित अनुहारले यो काम गरे उसलाई उदाहरणिय नारीको रुपमा माला पहि¥याई दिन्छ । तर सामान्य अवस्थाकी नारीले त्यही काम गर्दा चरित्रहिन आइमाईको बिल्ला भिराईदिन्छ,यहि समाजले । बरु आज समाजमा ससाना कुरामा पनि सम्बन्ध विच्छेद गरेर पुनःविवाह गर्ने, महिला स्वतन्त्रता र समानताको नाममा छाडापनमा रमाउने महिलाहरुको जीवन सहज छ तर उमेरमै सिंदुर पुछिएका नारीहरुको जीवन अत्यन्तै कठिन छ ।
कानुन सबैको रक्षक हो, सबैको लागि कानुन बराबर हुन्छ । बदलिँदो समाज र आवश्यकता अनुरुप न्यायोचित कानुनहरु बन्नु पर्दछ । नेपालको कानुनले पनि यो कुरालाई सम्बोधन गरको छ । तर कागजमा लेखिएको कानुनका अक्षरहरुले मात्र परिवर्तन सम्भव छैन । संविधानको धारा र उपधाराहरु राम्रो लेखिएर मात्र समाज अगाडि बढ्न सक्दैन । त्यसको लागि हाम्रो समाजको चिन्तन शैलीमा परिवर्तन आवश्यक छ । समाजको चिन्तन शैली फेरिनु भनेको तपाईँको, मेरो हामी सबैको अर्थात व्यक्ति(व्यक्तिको सोच फेरिनु हो । न्याय कहाँ छ, न्याय कसरी हुन्छ, हेर्न सक्नुपर्छ, खोज्न सक्नुपर्छ । जबसम्म हामीमा समाजको गर्भमा रहेका हेर्दा सामान्य लाग्ने तर गहिरो र पेचिलो यस्ता विषय प्रति सकारात्मक र न्यायोचित दृष्टिकोणकोे विकास हुँदैन तबसम्म हाम्रो समाजमा यस्ता सयौं पवित्र प्रेमहरु अधुरै रहन्छन् । (प्रेमको महिना भनेर चिनिने फेब्रुअरी महिनाको १४ गते पर्ने प्रणय दिवसको सम्पूर्ण सच्चा प्रमीहरुमा शुभकामना ! )