म सुन्छु म विर्सन्छु,
म देख्छु म सम्झन्छु
म गर्छु म सिक्छु
एउटा चित्र हजार शब्द भन्दा शक्तिशाली हुन्छ ।
माथि उल्लेख गरिएका दुईइ भाईहरु शिक्षण सिकाईको सन्दर्भमा एकदमै व्यवहारिक र सत्य लाग्दछन् । वास्तवमा कोरा किताबी ज्ञान घोकाएर कक्षामा शिक्षक कराएर मात्र कहिल्यै पनि बालबालिकाको सिकाई पुरा हुँदैन । उनिहरुलाई सकेसम्म धेरै आफै सहभागि हुने र अनुभव गर्ने मौका दिंदा उनिहरुको चौतर्फि विकास राम्रोसंग हुने कुरामा दुईमत छैन । नयाँठाउँमा घुम्दा विद्यार्थीहरुले नयाँकुराहरु देख्ने सिक्ने र अनुभव गर्ने मौका पाउँदछन् । यही कुरालाई मध्यनजर गर्दै मेरो विद्यालयले प्रत्येक बर्ष शैक्षिक भ्रमण कार्यक्रम राख्ने गरेको छ । यो बर्षको हाम्रो कार्यक्रम चाहिँ कार्तिक २८ गतेका लागि तय गरिएको थियो । कक्षा ८, ९ १० र ११ का विद्यार्थीहरुलाई हेटौडाको यात्रा गराउने निश्चित भयो । कुन कुन समूहको जिम्मेवारी कसकस्ले लिने भन्ने तय हुँदा पंक्तिकारलाई हेटौंडा जाने मौका मिल्यो । कार्यक्रम २८ गतेको लागि भएपनि विद्यार्थीहरुमा हप्तादिन पहिलेदेखिनै उत्साह थियो भने हामी शिक्षकहरुलाई पनि जिम्मेवारी महसुस भैसकेको थियो । सकेसम्म सबै विद्यार्थीहरुलाई सहभागि गराउने हाम्रो उद्देश्य थियो । तर केही विद्यार्थीहरु भने भ्रमणमा सहभागि भएनन् । उनिहरुका आ–आफ्नै कारण होलान् । २७ गते विद्यालय सकिएपछि भ्रमण जाने विद्यार्थीहरुलाई भेला गरेर भोलि कतिबजे भेट हुने देखि अन्य अनुशासनका कुराहरु पनि सम्झाई बुझाई गरी घर पठायौं । भोलिको दिन सम्झेर उत्साहित हुँदै रमाउँदै विद्यार्थीहरु घरतिर लागे । जिम्मेवारीको पोको बोकेर हामी पनि ।
कार्तिक २८ गते हाम्रो शैक्षिक भ्रमणको दिन ६ बजे भेट हुने कार्यक्रम थियो । म विहान पाँच बजेतिर विउँझिएँ । उठि हालौं या अलिक समय सुतौं सोच्दै थिएँ, अचानक एक हुल विद्यार्थी छवि सर छवि सर भन्दै बोलाउन आई पुगे । ति विद्यार्थीहरुलाई हाम्रो घरसम्म आईपुग्न कम्तिमा ४५ मिनट लाग्दथ्यो । उठेर नुहाई धुवाई गरी ४५ मिनटको यात्रा पार गरेर पाँच बजेनै मेरोमा आईपुगेका थिए, कति छिटो उठेछन् ? सायद कतिलाई रातभर राम्रोसंग निंद्रा पनि नलागेको हुँदो हो । घुम्न जानका लागि चार बजेनै उठ्न सक्ने हाम्रो विद्यार्थी अरु समयमा चाँँही छ बज्दासम्म पनि नउठ्ने गुनासो सुनाउँनु हुन्छ अभिभावकहरु । विद्यार्थीहरु घुम्नजान जति उत्साहित छन्, उनिहरुलाई पढाईमा पनि त्यतिनै उत्साहित गराउन कसरी सकिएला ? यस्तै कुरा सोच्दा सोच्दै म पनि तयार भएँ र विद्यार्थीहरुलाई लिएर लागें रोडतिर ।
बस आउने स्थानमा केही विद्यार्थीहरु आईसकेका राहेछन् अरु आउँदै थिए । पोखरा जाने समूहका पनि केही विद्यार्थी आई सकेका रहेछन् । कतिलाई भने अभिभावक नै पु¥याउन आउनु भएको थियो । अन्य सर म्याडमहरु दमौलीबाट आउने हुनु भएकोले उहाँहरुको अनुपस्थितिमा विद्यार्थीहरु सम्हाल्ने जिम्मा म एक्लैले लिईरहेको थिएँ । निर्धारित समय भन्दा आधा घण्टा ढिलो गाडि आई पुग्यो । यसरी २०७६ कार्तिक २८ गते विहान ६ः३० बजे सिद्धेश्वारी माविको हेटौंडा जाने समूह शैक्षिक भ्रमणका लागि कमलवारीबाट रमाना भयो । बीचमा केही विद्यार्थीहरु देउरालीमा पनि राखियो र गाडि अगाडि बढ्यो । रमाईलोका लागि एउटा एउटा मादल छात्रहरुको बस र छात्राहरुको बसका लागि व्यवस्था गरिएको थियो । हामी शिक्षक साथीहरु पनि बाँडिएर बसेका थियौं । गाडिको रफ्तार संगै विद्यार्थीहरुको गीत फुरीरहेको थियो, कोही सुत्दै थिए । कोही नाँच्दै थिए त कोही गाउँदै । केही विद्यार्थीहरु भने केटा केटीलाई छुट्टाछुट्टै गाडिमा राखिएको गुनासो पोख्दै थिए, गीत गीतमा । जे होस माहोल रमाईलो थियो । पंक्तिकारको रमाईलो चाहि एकाविहानै शुरु भएको थियो । भयो के भने केटा र केटीको लागि छुट्टाछुट्टै बसको व्यवस्था थियो । गाडि हिड्ने बेलामा म मादल दिनको लागि छात्राहरुको बसमा चढें । गाडिको सहचालकले फ्याट्ट भने, भाई केटाहरुको बस अर्को हो…..। सायद उनले मलाई पनि विद्यार्थी नै सम्झे । मेरो शारीरिक कदकाठी सानो भएकोले होला । यस्तो रमाईलो अक्सर हुने गर्दछ ।
यात्रा शुरु भएको केही समयसम्म त विद्यार्थीहरु निकै गाए नाँचे । करिब एकघण्टा पछि चाहि अलि कम भयो । सायद थाके अनि भोकाए पनि । छात्राहरुको बसमा पनि अवस्था उस्तै थियो सायद । त्यसकारण म्याडमसंग सम्पर्क गरी बीचमा रोक्यौ र केही नास्ता पानीको व्यवस्था ग¥यौं । त्यसपछि हाम्रो गाडि निरन्तर अगाडि बढी रह्यो । अब सोझै हेटौडा पुगेर मात्र रोकिने वाला थियो । विद्यार्थीहरुले घरबाट सुन्तला, मकै भट्ट, आदि ल्याएका रहेछन् । एक आपसमा बाँडे । हामीले पनि खायौं । यतिबेला चाहि विद्यार्थीहरु पुरै शान्त थिए । भोकले, गाडि लागेकोले पनि होला शिथिल देखिन्थे । हामी शिक्षकहरु पनि एक आपसमा गफ गर्दैै थियौं, कतिबेलो मेरा आँखा लागेछन्, पत्तै भएन । एकै चोटी हेटौंडा बस पार्कमा गाडि रोकेपछि झल्यास्स ब्यूँझे । विद्यार्थीहरुलाई बसमै राखेर हामी खानाको व्यवस्था गर्न लाग्यौं । कति सजिलो भयो भने ठ्याक्कै एउटा भनेजस्तै थकाली भान्छाघर भेटियो । झण्डै सयजना मानिसले एकै पटक खाना मिल्ने । खानाको जिम्मा त्यही दिएर लाग्यौ, भुटनदेवीको दर्शन गर्न । भुटनदेवी हाम्रो यात्राको पहिलो गन्तब्य । साह्रै राम्रो रहेछ मन्दिर । फराकिलो प्राङ्गण अनि कलैकलाले भरिपूर्ण । मन्दिर प्रवेश गर्ने वित्तिकै विद्यार्थीहरु फोटो खिच्न थालि हाले । हामीले पनि केही तस्विरहरु लियौं र बीस जति समय वितेपछि बस भए तर्फ लाग्यौं । फोटो खिच्न भने शिक्षक र विद्यार्थीको राम्रै प्रतिष्पर्धा चल्दै थियो, विद्यार्थीहरु पनि खुलेका, हामीले पनि भ्रमणको समय भनेर त्यति धेरै कराएनौं । शैक्षिक भ्रमणका राम्रो पाटो मध्ये एउटा यो पनि हो । विद्यार्थीहरुलाई आपसमा घुलमिल हुन, नजिक हुन धेरै मद्दत गर्दछ । एउटा रमाईलो घटना यहाँ पनि भयो । मन्दिर दर्शन गरेर फर्किदा केही सर म्याडमहरुले नै बाटो भुल्नु भएछ । विद्यार्थी छुट्लान् हराउलान् भन्ने डर मान्दा मान्दै आफै हराएर कत्रो आपत ।
भुटनदेवीको दर्शन पछि हामी हाम्रो दोश्रो गन्तब्य त्रिवेणीधाम तर्फ लाग्यौं । त्यहाँ पुगेपछि विद्यार्थीहरुलाई उक्त ठाउँका विशेषता महत्वका बारेमा जानकारी गरायौं । केही तस्विरहरु लियौं । समय निकै वितिसकेको थियो, विद्यार्थीहरुको मुहारमा भोक लागेको कुरा प्रष्टै झल्किन्थ्यो । अतः हामी खाना खान गयौं । होटलमा होटलकै स्टाफसंग हातमालो गर्दै विद्यार्थीहरुलाई खाना ख्वायौं र हामीले पनि खायौं । खाना पछि हाम्रो तेस्रो तर प्रमुख गन्तब्य सहिद स्मारक पार्क तर्फ लाग्यौं । पेट पनि अघाएको र प्रमुख गन्तब्य तर्फ लाग्दै गर्दा विद्यार्थीहरु निकै उत्साहित देखिन्थे । नाँच्दै गाउँदै हामी पार्क पुग्यौं । पार्क साँच्चे सुन्दर रहेछ । तनहुँदेखि मकवानपुर सम्मको यात्रा व्यर्थ नभएको आभाष भयो । विद्यार्थीहरु पिङ खेले । फोटो खिचे । अनि मिनि चिडिया घरमा रहेका जनावर पनि हेरे । धेरै बेर पार्कभित्र घुमिरहे । कहिले यता कहिले उता । निकै बेर पार्क घुमेपछि हामी करिब पाँच बजेतिर त्यहाँबाट निस्कियौं । फर्कदा चौधरी ग्रामको शाश्वत धाम पुग्ने योजना थियो । तर घर पुग्न धेरै ढिला हुने भएकोले त्यहाँ गएनौं । यतिखेर चाहि विद्यार्थीहरु केही खिन्न देखिए । तर त्यो खिन्नता धेरै समय टिकेन । एकै छिनमा फेरी उनिहरु गाउँन नाँच्न मै व्यस्त भइहाले । विद्यार्थीहरुको रमाईलो अझै उत्कर्षमा थियो । कारण उनिहरु घर फर्कदै छन् र भोलिबाट फेरी उही दैनिकी शुरु हुन्छ । हामी चाहि विद्यार्थीलाई दिनभर सकुसल राख्न सकेकोमा सन्तुष्ट थियौं । अर्को तर्फ चिन्ता पनि थपिदै थियो । अभिभावकको फोन आउन थालि सकेको थियो । केही विद्यार्थी अलि टाढाका थिए । उनिहरु सुरक्षित पुग्लान कि नपुग्लान भन्ने पनि चिन्ता थियो । केहीको भने अभिभावक लिन आउने कुराले राहत दियो । मेरो घर छिमेकका केही नानीहरु पनि भएको हुँदा उनिहरुलाई पु¥याउनु पर्ने भएकाले फर्कदा म छात्राहरुको बसमा थिएँ । बाटैभरि विद्यार्थीहरु गाईरहे । नाँची रहे । कक्षामा धेरै शान्त देखिने विद्यार्थीहरु पनि खुलेर नाँची रहेका थिए । मलाई शैक्षिक भ्रमणको अर्को महत्वपूर्ण पक्ष यो पनि हो भन्ने लाग्यो । यसले विद्यार्थीहरुलाई शिक्षकसंग नजिक हुन र शिक्षकहरुलाई विद्यार्थीहरुको व्यक्तिगत स्वभाव जान्न तथा बुझ्न धेरै मद्दत गर्दछ । बाटोमा विद्यार्थीहरुलाई झार्दै अभिभावको जिम्मा लगाउँदै अन्तिम गन्तब्यसम्म आउँदा रातीको करिब नौ बजेको थियो । छिमेकका नानीहरुलाई घर पु¥याए फर्कदा करिब साढे नौ भैसकेको रहेछ । कपडा फेरे । हातमुख धोएँ । अभिभावक लिन नआएका विद्यार्थी सुरक्षित घर पुगे पुगेनन्, विद्यार्थीहरु सन्तुष्ट भए भएनन् । ओछ्यानमा पल्टिएर यस्तै यस्तै सोँच्दै थिएँ । कतिखेर निँद्रादेवीले अँगालिन् थाहै भएन ।