
अस्ति मंगलबार विश्वभर ‘सुरक्षित इन्टरनेट दिवस’ मनाइयो । सूचना प्रविधिको यो युगमा इन्टरनेट हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । तर, यसको बढ्दो र अनियन्त्रित प्रयोगले केही गम्भीर प्रश्नहरू उब्जाएको छ— इन्टरनेटले हामीलाई जोड्दैछ कि झन् एक्लो बनाउँदैछ ? यसले हाम्रो सिर्जनशीलता बढाउँदैछ कि नष्ट गर्दैछ ?
आजको समयमा इन्टरनेटको दुरुपयोगका कारण बालिका हिंसाका घटना बढेका छन्, पठन संस्कृति लोप हुँदै गएको छ र मानिसहरूको सामाजिकीकरण गर्ने क्षमतामा ह्रास आएको छ । यस्तो चुनौतीपूर्ण घडीमा इन्टरनेटलाई ‘पासो’ होइन, ‘औजार’ बनाउनु आवश्यक छ । इन्टरनेटको अँध्यारो पक्षले समाजका विभिन्न तहमा असर पारेको छ ।‘साइबर बुलिङ’, अनलाइन उत्पीडन र गोपनीयताको हननले महिला र बालिकाहरूलाई असुरक्षित बनाएको छ ।
गहिरो अध्ययन र पुस्तक पढ्ने बानीलाई टिकटकका छोटा भिडियो र फेसबुकका ‘स्क्रोलिङ’ले विस्थापित गरिदिएको छ । अर्काे शब्दमा यसले पठन संस्कृतिमा गहिरो संकट निम्त्याएको छ ।
कोठाभित्र बसेर संसारभरका मानिससँग जोडिने होडमा हामीले आफ्नै परिवार र छिमेकीसँगको जीवन्त सम्बन्ध गुमाउँदै गएका छौं । यसले हाम्रो सिर्जनशीलताको क्षयीकरण गरेको छ । अब व्यक्तिगत सिर्जनशिलताको आवश्कयता नै नरहने अवस्था आएको छ । ‘आर्टिफिसियल इन्टेलिजेन्स’ र तयारी सामग्रीमा अत्यधिक निर्भर हुँदा मानिसको आफ्नै मौलिक चिन्तन र सिर्जना गर्ने क्षमता भुत्ते हुँदै गएको छ । सुरक्षित र सकारात्मक इन्टरनेट प्रयोगका उपायहरू पनि नभएका होइनन् तर त्यतातर्फ हाम्रो ध्यान पुग्न सकेको छैन । हामीले बुझ्नु पर्छ कि इन्टरनेट आफैमा खराब होइन, यसको प्रयोग गर्ने हाम्रो तरिका मात्र गलत हुन
सक्छ । यसलाई सुरक्षित बनाउन के गर्न सकिन्छ भनेर विमर्श र छलफल अब अत्यावश्यक भैसकेको छ ।
प्रविधिको प्रयोग कसरी गर्ने भन्ने मात्र होइन, कुन कुरा सही र कुन गलत हो भनेर छुट्याउन सक्ने क्षमताको विकास गर्नु आजको आवश्यकता हो । विद्यालय स्तरमै ‘डिजिटल एथिक्स’बारे शिक्षा दिनुपर्छ । सामाजिक सञ्जालमा आफ्ना व्यक्तिगत विवरणहरू साझा गर्दा सचेत हुनुपर्छ । बलियो पासवर्ड राख्ने, ‘टु–फ्याक्टर अथेन्टिकेसन’ प्रयोग गर्ने र शंकास्पद लिङ्कहरूमा क्लिक नगर्ने बानी बसाल्नुपर्छ ।
चौबीसै घण्टा अनलाइन बस्नुको सट्टा निश्चित समय इन्टरनेटबाट टाढा बस्ने अभ्यास गर्नुपर्छ । यसले हाम्रो मानसिक स्वास्थ्य सुधार्न र पठन संस्कृति ब्युँताउन मद्दत गर्छ ।
बालबालिकाले इन्टरनेटमा के हेरिरहेका छन् भन्ने कुरामा निगरानी राख्नुपर्छ, तर नियन्त्रण गरेर होइन, संवाद र विश्वासको माध्यमबाट । इन्टरनेटलाई केवल मनोरञ्जनका लागि मात्र नभई नयाँ सीप सिक्न, अनुसन्धान गर्न र आफ्नो प्रतिभालाई विश्वमाझ पु¥याउन प्रयोग गर्नुपर्छ ।
इन्टरनेट एक विशाल महासागर हो, जहाँ रत्न पनि पाइन्छ र फोहोर पनि । हामीले के निकाल्ने भन्ने कुरा हाम्रै हातमा छ । आगामी सुरक्षित इन्टरनेट दिवसले हामीलाई प्रविधिको दास होइन, मालिक बन्न प्रेरित गरोस् । जब हामी प्रविधिलाई विवेक र संयमताका साथ प्रयोग गर्छौं, तब मात्र यो सुरक्षित, समावेशी र सिर्जनशील हुन सक्छ ।
(पोखरेल CSIT का विद्यार्थी हुन् ।)
