गत शुक्रबार प्रकाशित भएको माध्यमिक शिक्षा परीक्षा(एसईई) को नतिजा सम्बन्धि चर्चा अझै सेलाएको छैन । फलामे ढोका नाम दिएर आवश्यकताभन्दा बढी महत्व दिइएका कारण यसको नतिजाको बारेमा सर्वत्र चर्चा हुने गर्दछ । अझ खासगरी निजी विद्यालयहरुले यो नतिजालाई आफ्नो प्रतिष्ठाको विषय बनाउने भएकाले पनि यसको चर्चा अलि बढी नै हुने गर्दछ । यद्यपि कक्षा ११ मा कस्तो विषय अध्ययन गर्ने भन्ने कुराको निक्र्याेल यो परीक्षाको नतिजाले गर्ने भएकाले स्वाभाविक महत्व छ र चर्चा पनि स्वाभाविक नै लाग्छ ।
माध्यमिक शिक्षा परीक्षालाई यो तहको महत्व दिनु अर्थात विद्यार्थीमा यो स्तरको हाउगुजी उत्पन्न गराई राख्नु आवश्यक छ कि छैन भन्ने विषयमा छुट्टै बहस हुनु आवश्यक छ । गतवर्षको निराशाजनक नतिजा र यस वर्ष नतिजामा भएको झण्डै १४ प्रतिशत बढोत्तरीले आम मानिसमा जिज्ञासा छ र चर्चा भएको हो । यस पटक परीक्षाममा सहभागी विद्यार्थी मध्ये झण्डै ६२ प्रतिशत विद्यार्थी ग्रेडेड भए अर्थात कक्षा ११ पढ्न योग्य भए । सामुदायिक विद्यालयको तुलनामा नीजि विद्यालयको नतिजा यसपटक पनि राम्रो आएको छ । यसका पनि विभिन्न कारणहरु छन् तर सतहमा हेर्दा योग्यता र तालिम प्राप्त शिक्षक, राम्रै सेवा सुविधा हुँदा हुँदैपनि किन सामुदायिक विद्यालयको नतिजा सन्तोषजनक हुन नसकेको होला भन्ने प्रश्न उब्जनु स्वाभाविक लाग्छ ।
नतिजा राम्रो वा नराम्रो हुनुमा शिक्षक जिम्मेबार छन् तर त्यसको साथसाथै शिक्षा नीति बनाउने सरकार, शैक्षिक वातावरण निर्माण गरिदिनु पर्ने अभिभावकले पनि विद्यार्थीलाई समय र विषयको महत्व बुझाउन सक्नु पर्दछ । यस वर्षको नतिजालाई कायम राख्न समयानुकूल शिक्षण पद्धति अवलम्बन गरेर बालमैत्री वातावरण सिकाउने अभ्यास शिक्षकहरुले तुरुन्त थाल्नु पर्नेछ । कतिपय शिक्षकमा भएको जागिरे मानिसकता, राजनीतिक भ्रष्टीकरण, कर्तब्यच्यूत खानपान जीवनशैलीले पनि समग्र शिक्षा प्रणालीमा नकारात्मक परिणाम दिएको छ । शिक्षामा गरिने लगानीलाई फजुल सम्झने हाम्रा तीनै तहका सरकार, सामाजिक सञ्जाल वा पब्जी तथा फ्रि फायर जस्ता गेममा चौविसै घण्टा अलमस्त रहने विद्यार्थी र आफ्ना छोराछोरीको लगाव पढाईमा भन्दा कुलतमा गएको तर्फ खास चासो नराख्ने अभिभावक पनि नतिजाप्रति जिम्मेबार हुनेछन् ।
विगतका कमजोरीबाट सिक्दै आगामी दिनमा अझ राम्रो नतिजा प्राप्तीका लागि सामूहिक प्रयत्न आवश्यक छ । सबैभन्दा महत्वपूर्ण कुरा जनमतबाट बनेका सरकारहरु यसमा प्रतिवद्ध हुनु जरुरी छ ।
आशा जगाउने नतिजा-सम्पादकीय
previous post