आज इस्वी सम्वतको अक्टोबर महिनाको दोस्रो विहिबार । संसारभर आजकै दिन विश्व दृष्टि दिवस मनाउने गरिन्छ । आँखा, नयन, चक्षु, आइ अनेक नाम, एक काम । आँखा नदेख्दा वा दृष्टि कमजोर हुँदा हामीले अनेकौं समस्या झल्नु पर्ने हुन्छ । तर आँखा नदेख्नु वा दृष्टि कमजोर हुनु भनेको जीवनका सम्पूर्ण खुसी मेटिनु होइन । बरु आफुमा आत्मविश्वास हुने हो भने आँखा नदेखेर वा दृष्टि कमजोर भएर पनि हामी धेरै काम गर्न सक्छौं । फेरी यसको अर्थ आँखा नभएर पनि केही फरक पर्दैन भन्ने होइन् र यस्तो अर्थ लगाउनुले अनर्थ निम्तिन सक्छ ।
यतिबेला हल्दीबारी झापाकी युवती मेनुका पौडेल भारतीय टेलिभिजनको रियालिटी सो इण्डियन आइडलको सिजन १४ को अडिसनमा सहभागी भएर अनि उत्कृष्ट गाउनेलाई मात्र दिइने सुनौलो माइक (गोल्डेन माइक) पाएर चर्चामा छिन् । निर्णायकहरुको मुखबाट यसरी अन्तरआत्माबाट गाइएको पहिलो गीत भएकोभन्दै प्रसंशा पाएकी पौडेल दृष्टिविहिन हुन् । उनी भन्दै थिइन, म आम मानिसले गर्न सक्ने सबै काम गर्न सक्छु । एउटै काम छ, त्यो हो सवारी चालक बन्नु जुन मैले गर्न सक्दिन तर मलाई थाहा छ, पाइलट बन्न चाहेर पनि सबै पाइलट बन्न सक्दैनन त्यसरी नै म सवारी चालकको सिटको पछाडि बसेर आफ्नो चाह पूरा गर्छु ।
माथि नै भनियो कि दृष्टि विहिन हुनुको अर्थ जीवनका सबै खुसी र रंगहरु सकिए भन्ने होइन तर हामीले आँखाको मायाँ गर्नुुपनि त्यत्तिकै जरुरी छ । प्रविधिको विकाससंगै कम्प्युटर, ल्यापटप, मोबाइल आदिको पर्दामा धेरै समय हेर्ने भएका कारण धेरै मानिस असमयमै दृष्टिदोषको शीकार हुने गरेका
छन् । यस्ता कुरामा ध्यान दिएर आँखाको जतन र स्याहरमा ध्यान दिने हो भने अवश्य हामी दृष्टिदोषको समस्याबाट उम्कन सक्छौं ।
विश्व दृष्टि दिवसको अवसरमा तपाईँ पाठकहरुसंग हाम्रो आग्रह, आफ्नो आँखाको ख्याल गर्नुहोला, अनि आँखा नहुनेहरूलाई माया र सदाशयता देखाउनुहोला । बाहिरी आँखा र मनको आँखा दुबै सफा राख्न र स्वस्थ राख्ने प्रयत्न गरौं ।
आँखालाई मायाँ गरौं
previous post