
पृष्ठभूमिः
राष्ट्रिय स्वतन्त्र पार्टीले आमनिर्वाचन २०८२ मा प्रत्यक्षमा दुई सय २५ सिट सहित समानुपातिक सिट जोड्दा दुइ तिहाइ सिट संख्याको नजिक पुग्ने निश्चित भएको छ । निर्वाचनमा जाँदा भनौंं या राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्दा बालेन्द्र शाहले गरेको सहमति अनुसार यो सरकारको नेतृत्व बालेन्द्र शाहले गर्ने सवालमा चुनावी परिणाम पछि रवि लामिछाने र डीपी अर्यालको कुटनिधि प्रतिक्रियालाइ मनन गर्दा पूर्वसहमति सहज रुपमा कार्यान्वयन हुने देखिदैन । यो अवस्थामा विधान बमोजिम जानुपर्ने अवस्था आउँछ । त्यसैले रास्वपाको विधान चर्चामा रहेको छ ।
विधानको व्यवस्थाः
रास्वपाको विधानको भाग २१ मा संसदीय दल सम्बन्धी व्यवस्था छ । सो भाग अन्तर्गतको धारा ६६ ले संसदीय(प्रतिनिधि सभा र राष्ट्रिय सभा) प्रदेश सभा संसदीय दल र स्थानीय तह दल सम्बन्धी व्यवस्था गरेको छ । विशेष गरी संसदीय दलको निर्वाचन सम्बन्धी व्यवस्था उपधारा ८ ले गरेको छ । सो अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले संघीय निर्वाचन अगावै पार्टीको तर्फबाट संघीय निर्वाचनका लागि समानुपातिक र प्रत्यक्ष तर्फबाट छनौट भएका उम्मेदवारहरु मध्येबाट इच्छुक उम्मेदवार बीच निर्वाचन हुने व्यवस्था गरेको छ । सो निर्वाचनमा पार्टीका सम्पूर्ण साधारण सदस्यले मतदानमा भाग लिन पाउने व्यवस्था गरेको छ । प्रस्तावित उम्मेदवार निर्वाचनमा पराजीत भएमा वा रिक्त भएमा पार्टीका तर्फबाट विजयी इच्छुक उम्मेदवारहरु बीच निर्वाचन हुने व्यवस्था विधानले गरेको छ । सो निर्वाचनमा पार्टीका सम्पूर्ण साधारण सदस्यहरुले मतदान गर्न पाउने व्यवस्था रहेको छ ।
संघीय निर्वाचन अगावै छनौटः
रास्वपाको विधानले संघीय निर्वाचन अगावै प्रत्यक्ष र समानुपातिक तर्फका छनौट भएका उम्मेदवारहरु मध्येका संसदीय दलको नेता बन्न इच्छुक उम्मेदवारहरु एक भन्दा बढी भएमा सम्पूर्ण साधारण सदस्यहरुले निर्वाचन गर्ने व्यवस्था विधानले गरेको पाइयो । रास्वपाले एकिकृत पार्टी निर्माण गरेर बरिष्ठ नेता सहितको उम्मेदवार चयन गर्दा नै विधानको धारा ६६ को उपधारा ८ को ‘क’ बमोजिम सर्वसम्मत रुपमा बालेन्द्र शाहलाइ संसदीय दलको नेता चयन गरिसकेको तथ्य बालेन्द्र शाह र रास्वप बीच सम्पन्न सहमति र विधानले पनि पुष्टि गरेको छ । संसदीय निर्वाचन अगावै सर्वसम्मत रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेता बालेन्द्र शाह बनाउने गरी सो पार्टी निर्वाचनमा होमिएको कारण अहिलेको जनादेश पाएको तथ्य विधानले पनि पुष्टि गरेको छ ।
दलको नेता बालेनः
संघीय निर्वाचनमा बालेन्द्र शाह निर्वाचित भैसकेपछि विधानतः रास्वपाको संसदीय दलको नेता बालेन्द्र शाह हुन् ।
रास्वपाले बालेन्द्र शाहसंग गरेको राष्ट्रिय सहमति अनुसार सर्वसम्मत रुपमा बालेन्द्र शाह चयन भएको तथ्य आजका मिति सम्ममा कुनै द्विविधा छैन । सो पार्टीका तर्फबाट कसैले प्रश्न उठाएको छैन ।
जनादेशको अनादरः
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेता बालेन्द्र शाह बनाउनुको विकल्प अब छैन । रास्वपाले त्यस्तो विकल्पको खोजी गरेमा त्यो जनादेश विपरित र जनादेशको अनदार हुन्छ ।
निष्कर्षः
यो मुलुकलाई संकटबाट मोचन गर्ने अवसर रास्वपाले पाएको छ । स्वार्थ, दम्भ, हठ, निकट र टाढाको भावना त्यागेर दलगत सर्वसम्मतीबाट सरकार गठन र सञ्चालन गर्ने, सरकारमा नपर्नेहरुले धैर्यतापूर्वक प्रतिक्षा गर्ने यो जनादेश अनुसारको राष्ट्रिय स्वार्थ पनि हो ।
