“वन्यजन्तु संरक्षणका लागि साझेदारी“ भन्ने नाराका साथ यस वर्षको विश्व वन्यजन्तु दिवस मनाउन लागिएको छ । भोली मार्च ३ तारिखमा मनाइने यो दिवस मनाउनुको उद्देश्य विश्वमा पाइने सम्पूर्ण जगंली जनावर र रुखबिरुवाहरुका बारेमा सचेतना जगाउनु हो । यसका साथै यो दिवस ति जनावर र वनस्पतिको संरक्षण संवद्र्धनमा मानव जातिको भूमिका अनि तिनीहरुसंगको मानवजातिको अन्तर सम्बन्धबारे विश्व समुदायलाई जानकार गराउने ध्येयले मनाउन थालिएको हो । यसका साथै वन्यजन्तु र वनस्पतिको संरक्षणले मानिसहरूलाई प्रदान गर्ने धेरै फाइदाहरूको बारेमा चेतना जगाउने अवसरको रुपमा पनि विश्व वन्यजन्तु दिवसलाई लिन सकिन्छ ।
यो वर्ष अर्थात सन् २०२३ को नाराले भने विश्व समुदाय वन्यजन्तुको संरक्षणका कार्यमा सझेदारी गरेर अगाडि बढ्नु पर्छ भन्ने कुरालाई जोड दिएको छ । किनभने वन्यजन्तुको अस्तित्वसंग अन्योन्याश्रित सम्बन्ध रहेको कुनै पनि देशको नागरिकको अस्तित्व संकटको अर्थ विश्वका अन्य देशका नागरिकको अस्तित्व संकटसंग जोडिएको हुन्छ । र हामी चाहँदैनौं कि हाम्रो अस्तित्व संकटमा परोस्, त्यसैले वन्यजन्तुको संरक्षणमा सबैको साझेदारी आवश्यक छ भन्ने खोजिएको
हो ।
वैज्ञानिकहरुले पृथ्वीमा विभिन्न प्रजातिका झण्डै एक करोड प्राणी एवं वनस्पति हुन पर्ने मान्यता राख्दछन् । तर अहिलेसम्म जम्मा १४ लाख प्रजातिको मात्र एकिन पहिचान भएको छ । ति १४ लाख प्रजाति मध्ये मानिस एक हो र बाँकी अन्य जीव तथा वनस्पति हुन । प्रजातिगत विविधता मात्र होइन् यिनीहरुको वासस्थानको विविधता पनि रहेको छ । हामीले देखेकै छौं कुनै जीव वा वनस्पतिका लागि न्यानो हावापानी चाहिन्छ । कुनैका लागि चिसो हावापानी उपयुक्त हुन्छ । अनि कोही पानीमा वस्छन् त कोही जमिनमा । १४ लाख अस्तित्वमा रहेका जीवात्मा मध्येको एउटा प्रजाति मानिसको व्यवहारले अन्य प्रजातिका जीवात्माको अस्तित्व निर्धारण गर्ने र तिनीहरुको अस्तित्व संकटमा पर्दा स्वयम् मानिसको अस्तित्व समेत संकटमा पर्ने भएकाले हामी मानवजाति यस विषयमा सचेत हुनु जरुरी छ । विश्वमा भएका हरेक प्राणी अनि बिरुवाको लागि यस पृथ्वी साझा थलो हो । सबै प्राणी र बिरुवाहरूको सुरक्षा, सम्बद्र्धन अनि उपस्थिति कायम राख्नु विवेकशील प्राणी भएका नाताले मात्र होइन आफ्नो अस्तित्वसंग प्रत्यक्ष जोडिएकोले विश्व मानव समुदायको दायित्व हो । हामी मानव जातिले बुझ्नै पर्ने सत्य के हो भने मानव जीवनको दीर्घकालीन उपस्थितिका लागि वन्यजन्तु र बिरुवाहरू सबैको रक्षा गर्नु जरुरी छ । अस्तित्वमा रहेका भनिएका १४ लाख जीव तथा वनस्पतिको अन्तरसम्बन्ध कस्तो छ भन्ने बुझ्न केही उदाहरण
हरौं ।
–हाम्रो उत्तरी छिमेकी चीनमा माओत्सेतुङको पालामा भंगेराले हैरान पारे भनेर भंगेरा मार्ने अभियान चलाइयो । राज्य नै लागि परेपछि केही समयमै भंगेराको नाश भयो । तर त्यसको केही समयमा नै चिनीया नागरिकको खेत र भकारीमा धानभन्दा धेरै किरा फट्याङ्ग्रा हुन थाले । यही कारण चीनले भोकमरीको सामना समेत गर्नु प¥यो ।
– प्राकृतिक फोहर व्यवस्थापक भनेर चिनिने गिद्ध दुइ दशक अगाडिसम्म प्रसस्त देख्न
पाईन्थ्यो । सिनो खाएर बाँच्ने यो घिनलाग्दो पंछी हराउँदै जानुसंग हामीले खासै चासो राखेनौं । हामीलाई लाग्यो, सिनो त कुकुर, स्याल, हुँडार तथा कागले खाइ हाल्छन्, गिद्ध लोप भएर के भो त ? तर रेविज, प्लेग, हैजा जस्ता रोगका विषाणु समेत पचाउन सक्ने क्षमता गिद्धमा हुन्छ तर अन्य सिनोमा रमाउने स्याल वा कागजस्ता जनावर वा पंछीमा
हुँदैन ।
–सर्प देख्नासाथ या त हामी डराएर भाग्छौं या त मार्न तम्सन्छौं । तर सर्प यस्तो जीव हो जसले सूर्यबाट आउने परावैजनि किरण सोसेर लिन्छ । परावैजनी किरणका कारण मानिसलाई विभिन्न किसिमका छालाका रोग लाग्न सक्ने तथा क्यान्सर समेत हुन सक्ने अध्ययनहरुले देखाएका छन् ।
–खेतमा भ्यागुता हराउँदै जाँदा किरा फट्याङग्राले धानबाली नष्ट पारेको र विषादीको प्रयोग गरेर नियन्त्रण गर्नु परेको यथार्थ हामीसंग छँदैछ । अनि बाघ, बाख्रा र सागको अन्तरसम्बन्ध पनि हामीले पढेका र बुझेका छौं । तराईमा औलो उन्मूलन गर्न लामखुट्टे मार्ने अभियान चलाउँदा अर्नाको अस्तित्व संकटमा प¥यो भन्दा हावा कुरा लाग्न सक्छ । तर औलो उन्मूलनसंगै वस्ती विकास हुन जाँदा मानव अतिक्रमणका कारण अर्नाको अस्तित्व संकटमा परेको कुरा सत्य हो ।
माटीकोरे होस् या तोपचरो, काग होस् या बकुल्लो कमिला होस् या माहुरी यी सबै हाम्रा प्रेरणाका श्रोत हुन सक्छन् । जंगलमा निर्भयता पूर्वक उफ्रँदै खेलिरहेको मृगको बथान देखेर हामी जति मनोरञ्जन लिनसक्छौं त्यति नै मयुर नाचेको देखेर अनि समुन्द्री सतहबाट आठहजार मिटरभन्दा माथि उडेर हिमाल वारपार गर्ने खोया हाँस देखेर हामी रमाउन सक्छौं । कोइलीको कुहुकुहु सुन्दा हाम्रो मन जति आनन्दित हुन्छ , त्यो आनन्द अरुले केले दिन सक्ला र ?
हिऊँ चितुवा बचाउन सक्दा, बाघ बचाउन सक्दा, अर्ना बचाउन सक्दा, हात्ती र गैंडा बचाउन सक्दा हामीले थुप्रै पर्यटनको विकास मार्फत थुप्रै कमाउन सक्छौं । भनिन्छ, नेपालमा औषधी नहुने कुनै वनस्पति छैन । तिनीहरुलाई वचाइराख्न सक्दा हामीले रोग बोकेर हिँढ्नु पर्दैन । यसरी पृथ्वीमा वस्ने सात अर्ब बढीका मानिसहरुले जिव र वनस्पतिबाट खाना, औषधी, मानोरञ्जन, प्रेरणा पाएका छन् ।
फर्केर हरौं त हामीले तुच्छ ठानेको भंगेराको हाम्रो जीवन अस्तित्वसंग कति महत्व रहेछ । कहिल्यै कसैलाई नमार्ने अनि अरुलाई मार्न परे आफै मर्न तयार हुने गिद्धसंगको गुरु साइनो कति प्रगाढ रहेछ । सर्प अनि भ्यागुता हाम्रा लागि कति महत्वका रहेछन् । कमल र गुलाफ जस्ता वनस्पति हाम्रा ठूला गुरु हुन् ।
त्यसैले आउनुहोस्, हामी बाहेकका पृथ्वीमा भएका सबै जीव तथा वनस्पतिको अस्तित्व रक्षा गर्न संकल्प गरौं । यसो गर्दा हामीले बाँकी जीव तथा वनस्पति प्रति दया गरको भन्ने हुँदैन बरु आफ्ने अस्तित्व रक्षा गरेको हुन्छ । हाम्रो पुस्ता त अभाव, भोकमरी झल्दै अस्तित्व रक्षाको लडाईँ लडौंला र बाँकी जीवन जेनतेन बाँचौला पनि तर के भावि पुस्ताका लागि यस्तै कुरुप पृथ्वी छोड्ने ? प्रश्न यो पनि हो । अब अस्तित्व साझेदारी सुरु गरौं ।