शिक्षा शास्त्र संकाय अन्तरगत अध्ययन गर्ने विद्यार्थीहरुले कक्षा १२ मा, स्नातक तहमा र स्नातकोत्तर तहमा प्रयोगात्मक परीक्षाको रुपमा अभ्यास शिक्षणमा सहभागि हुनु पर्दछ । सामान्यतः कक्षा १२ को अभ्यास शिक्षणमा आधारभूत तह (कक्षा ८ सम्म) स्नातक तहमा साविकको माध्यमिक (९ र १०) र स्नातकोत्तर तहमा ११ देखि स्नातकसम्म अभ्यास शिक्षणमा सहभागि हुन पाईने व्यवस्था र प्रचलन छ । यो शिक्षाको बारेमा थोरै चासो राख्ने प्रायः हर कोहीलाई थाहा भएको विषय हो । हालसम्मको प्रचलनलाई सरसर्ती हेर्दा प्रायः हिउँद शुरु भएपछि पुस माघ तिर क्याम्पसहरुले आफ्ना विद्यार्थीहरुलाई विभिन्न विद्यालयहरुमा अभ्यास शिक्षणको लागि पठाउने गरेको पाईन्छ । अभ्यास शिक्षण शिक्षा शास्त्र संकायमा एउटा अनिवार्य प्रक्रिया हो, निश्चित तह पास गर्नका लागि । स्नातक तह र स्नातकोत्तर तहको अभ्यास शिक्षण गर्ने समयसम्ममा प्रायः शिक्षण पेशामा सम्लग्न भैसक्ने हुँदा त्यति समस्या हुँदैन तर कक्षा १२ को अभ्यास शिक्षणमा, पढ्दै गरेको एउटा विद्यार्थी आफ्नो सैद्धान्तिक ज्ञानको व्यवहारिक प्रयोगका लागि पहिलो पटक वास्तविक कक्षा कोठामा प्रवेश गर्ने हुँदा धेरै चुनौतीहरु हुन सक्दछन् । ती चुनौतिहरुको सही व्यवस्थापन नहुँदा विभिन्न अप्ठ्याराहरु आई पर्दछन् । सायद त्यसैले पनि होला कतिपय विद्यालयहरुले अभ्यास शिक्षणलाई समस्याको रुपमा लिएको पाईन्छ ।
अभ्यास शिक्षणको क्रममा सबैभन्दा धेरै चुनौतीको सामना छात्र÷छात्रा शिक्षकले गर्नुपर्ने हुन्छ । किनभने यो उनिहरुको लागि एकदमै नौलो अनुभव हो । जुन उनिहरु पहिलो पटक अभ्यास गर्दै हुन्छन् । हुन त प्रत्येक क्याम्पसले विद्यार्थीहरुलाई के गर्ने कसरी गर्ने जस्ता तौर तरिका सिकाएर मानसिक रुपमा कक्षा कोठामा जान तयार पारेर पठाएका हुन्छन् । र पनि नयाँ अनुभव भएको हुँदा छात्र÷छात्रा शिक्षकहरु केही आत्तिने गरेको पाईन्छ । छात्र शिक्षकहरुले के बुझ्नु जरुरी छ भने उनिहरु शिक्षक भएर विद्यालय पढाउन आएका होइनन् । शिक्षक हुनको लागि अभ्यास गर्न आएका हुन् । बर्षौंदेखि कार्यरत शिक्षकबाट त कहिले काही गल्ति हुने सम्भावना रहन्छ भने उनिहरु त झन सिक्न आएका हुन् । गल्ति नहुने भन्ने कुरै हुँदैन । फेरी गल्ती गर्नु भनेको नै सिक्नु हो । तसर्थ मानसिक रुपमा यस्ता कुराहरु बुझेर क्याम्पसमा प्राध्यापकहरुले दिएको निर्देशन अनुसार जाने हो आत्तिनु पर्ने कुरै हुँदैन । आफूमा आत्मविश्वास हुनु पनि त्यतिकै जरुरी छ । कतिपय अवस्थामा अभ्यास शिक्षणमा आएका छात्र शिक्षकहरुले कार्यरत शिक्षकहरुले भन्दा पनि प्रभावकारी ढंगमा कक्षा सञ्चालन गरेको पनि पाईन्छ । त्यस्तै आफूले नजानेका नबुझेका कुराहरु सम्बन्धित विषय शिक्षकसंग सल्लाह गर्न अप्ठ्यारो मान्न हुँदैन । कतिपय अवस्थामा यसलाई केही नआउँदो रहिछ भन्ने होकि भन्ने डरले अप्ठ्यारो मानेको पनि पाईन्छ तर हामी सिक्नका लागि आएको हौं भन्ने कुरा स्मरण गर्न सके आफ्नो प्रस्तुतिमा सुधार ल्याउन सकिन्छ । अभ्यास शिक्षणले ल्याउन सक्ने चुनौति र समस्याहरु विद्यार्थीहरुमा मात्र सीमित नभई यो शिक्षक विद्यालयसंंग पनि गाँसिएको हुन्छ । पक्कै पनि सबै शिक्षकहरु त्यो वर्गमा पर्नुहुन्न । तर अझै पनि कतिपय यस्ता शिक्षकहरु हुनुहुन्छ, जो आफ्नो धेरै भन्दा धेरै पिरियड अभ्यास शिक्षणमा आउने छात्र शिक्षकहरुलाई दिएर डेढ महिना जति आराम गरौं भन्ने मानसिकता राख्नु हुन्छ । अझ समस्या त्यतिखेर पर्दछ जब उहाँहरु के गर्दैछ कस्तो गर्दैछ भनेर बुझ्न समय समयमा कक्षामा गैदिनु हुन्न । अभ्यास शिक्षणमा आउने छात्र÷छात्रालाई सहयोग गर्नु आफ्नो दायित्व हो, उनिहरुको सुधार गर्नुपर्ने पक्षलाई औंल्याईदिनु आफ्नो कर्तब्य हो भन्ने भुलिदिनु हुन्छ । अनि अन्त्यमा टिचिङ्ग प्राक्टिसमा आउनेले खत्तम पारेर गएछन् भनेर चोखिन खोज्नु हुन्छ । त्यसकारण हामी शिक्षकहरु पनि आफ्नो दायित्वप्रति अझै बढी जिम्मेवार बन्ने हो कि !
कतिपय अवस्थामा क्याम्पस क्याम्पस बीच तथा क्याम्पस र विद्यालय बचि समयमै आवश्यक समन्वय हुन नसक्दा पनि अभ्यास शिक्षणले समस्या निम्त्याई रहेको हुन्छ । जस्तो कि एउटै विद्यालयमा धेरै कलेजहरुले अभ्यास शिक्षणका लाग विद्यखर्थी पठाई दिंदा कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा विद्यालयलाई समस्या पर्न सक्दछ । कतिपय अवस्थामा विद्यार्थी संख्या अनुसार चाहिने भन्दा पनि बढी छात्र शिक्षकहरु अभ्यास शिक्षणको लागि एउटै विद्यालयमा आउँदछन् । यस्तो अवस्थामा व्यवस्थापनको दृष्टिकोणले विद्यालयलाई त समस्या हुन्छ नै प्रशिक्षार्थी शिक्षकहरुले पनि राम्रोसंग सिक्ने मौका पाउँदैनन् । जसको सिधा अर्थ अभ्यास शिक्षण केवल एउटा औपचारिक प्रक्रियामा सीमिति हुन जान्छ । भविष्यमा शिक्षक बन्ने लक्ष्य राखेका छात्र÷छात्राहरुले जति सिक्ने मौका पाउनु पर्ने हो त्यति पाउँदैनन् । त्यस कारण यस्ता कुराहरुमा पनि ध्यान पु¥याउनु पर्दछ । यस्ता अप्ठ्याराहरु समाधान गर्नका लागि क्याम्पसहरु र विद्यालयहरु बीच आवश्यक समन्वय हुनु जरुरी छ । कुन कुन क्याम्पसले कुन कुन विद्यालयमा कति कति विद्यार्थी पठाउने कुन कुन समयमा पठाउने जस्ता कुराहरुमा समन्वय हुनु पर्दछ । एउटै समय गर्दा चाप बढी पर्ने भए केही समय अघिपछि पनि गर्न सकिन्छ । साथै क्याम्पसले विद्यालयसंग विद्यालयले कति जनशक्ति थेग्न सक्ने हो त्यो कुराको पनि जानकारी लिनु पर्दछ । अन्यथा खाली एउटा पत्र पठाएको भरमा आवश्यक सहयोग गरिदिनु होला भनेर मात्र आफ्नो जिम्मेवारी पुरा भएको ठानी दिंदा त्यसले विद्यालयमा समस्या पर्न सक्दछ । साथै आन्तरिक तथा बाह्य सुपरिवेक्षण समयमै होस् भन्ने कुरामा पनि कलेजहरु सचेत हुनु पर्दछ । त्यस्ता प्राविधिक कुरा तर्फ पनि ध्यान पु¥याउन सके यसले अभ्यास शिक्षणलाई प्रभावकारी बनाउन पक्कै मद्दत पु¥याउँदछ ।
अभ्यास शिक्षणको कुरा गर्दै गर्दा विद्यालय प्रशासनसंग सम्बन्धित एउटा कुरा यहाँ उठान गर्न मन लाग्यो, त्यो के भने कतिपय विद्यालयमा अभ्यास शिक्षणको अनुमति दिईदैन । सोझो भाषामा भन्नु पर्दा नाम चलेका भनेका विद्यालयहरुमा । कारण सबैको एउटै हुन्छ, अभयस शिक्षणमा आएकाहरुले विद्यार्थीको पढाई विगार्दछन् । अभिभावकको गुनासो आउँदछ त्यसैले समितिले हुन्न भनेको छ । यदि ती नामचलेको भनिएका विद्यालयहरुको कुरालाई आधार मान्ने हो भने के अरु विद्यालयका विद्यार्थीको चाहि पढाई विग्रदैन । के त्यो स्कूलमा पढ्ने विद्यार्थी चाहि विद्यार्थी हो, अन्तको होइन ? के ति विद्यालयमा पढ्ने बालबालिकाको पढाई मात्रै राम्रो हुनु पर्ने हो ? होइन भने अभ्यास शिक्षण नेपाल सरकारले नै आवश्यक ठानेको शैक्षिक कार्यक्रम हो । सरकारले निर्धारण गरेको शैक्षिक कार्यक्रमलाई सामुदायिक विद्यालयले मान्दिन भन्न मिल्छ र ? अझ रोचक कुरा त के छ भने आफ्नो विद्यालयमा अभ्यास शिक्षणमा आउने छात्र छात्राले पढाई विगार्दछन् भनेर शिक्षण अनुमति नदिने विद्यालयले आफ्ना विद्यार्थीलाई भने सजिलैसंग सोही कामका लागि अन्य विद्यालयमा पठाई रहेको हुन्छ । अतः कुनै विद्यालयले क्षमता नहुँदा नहुँदै पचासौं विद्यार्थीलाई मौका दिनु पर्ने, कुनैले क्षमता हुँदा पनि दिन्न भन्न पाईने वातावरणको अन्त्य गरी सबैलाई समानुपातिक मौका दिन सम्बन्धित निकायले पनि ध्यान दिने हो कि । यसो गर्न सके केही मात्रामा भएपनि अभ्यास शिक्षण प्रभावकारी बनाउन मद्दत पुग्थ्यो कि ? अन्त्यमा अभ्यास शिक्षण विश्वविद्यालयको एउटा शैक्षिक कार्यक्रम हो तर यो केबल एउटा औपचारिक प्रक्रिया मात्र भने होइन । भविष्यका शिक्षकहरु तयार पार्ने आधारशिला हो । भविष्यमा कस्तो जनशक्ति शिक्षण पेशामा आउँदैछ भनेर चिहाउने आँखीझ्याल हो । तसर्थ यसलाई केबल एउटा औपचारिक प्रक्रिया भन्दा माथि राखेर महसुस गरौं । यसलाई कसरी प्रभावकारी बनाउने भनेर बहस शुरु गरौं । नेपालको शैक्षिक क्षेत्रको प्रगतिको लागि यसले पनि केही मद्दत गर्ला कि !
1 comment
nice article sir.