अभिभावक भनेको को ? अभिभावक शब्द कसरी बन्यो ? नेपाली भाषामा यो तत्सम शब्द हो कि तत्भव शब्द हो कि आगन्तुक हो ? यसको वास्तविक अर्थ के हो ? अवस्था, समय सापेक्ष यो शब्दको अर्थ कसरी लगाउन सकिन्छ ? यी कुराहरुको विस्तृत जानकारी नेपाल प्रज्ञाप्रतिष्ठानको नेपाली शब्दकोषमा अवश्य पनि छ । तर आजको लेख चाहि शब्दकोषको शब्दहरु ठ्याक्कै सापटी नलिईकन आफ्ने सुझबुझको आधारमा अभिभावक शब्दलाई परिभाषित गरेर, गरौं जस्तो लाग्यो ।
प्रश्न फेरी प्रस्तुत गरें अभिभावक भनेको को हो ? बुवा, आमा, दाईदिदी, बाजेबज्यै ? कसैलाई पालन पालनपोषण गर्ने व्यक्ति ? कसैको सम्पूर्ण जिम्मेवारी लिएको मान्छे ? संरक्षक ? अभिभावक हुन नाता साईनो लाग्नै पर्दछ ? हामीले बुझ्ने गरेको सामान्य भाषामा अभिावक भनेको कुनै पनि बाल बच्चाको बाबुआमा हो । त्यसो भए के अभिभावक हुन बाल बच्चा जन्माउनै पर्दछ त ? मेरो आफ्नो बुझाई चाहि के हो भने सबै बाबुआमा अभिभावक हुन्छ भन्ने छैन र अभिभावक हुन बाबुआमा हुनै पर्दछ भन्ने पनि छैन । किनभने अभिभावक हो भनेको त्यो सम्मानित व्यक्ति हो, जस्ले एउटा बच्चाको अझ भनौं कसैको सम्पूर्ण जिम्मेवारी लिएका हुन्छ । उसको आवश्यकतापूर्ति गर्ने देखि उसलाई सुरक्षाको प्रत्याभूति दिलाउने सम्पूर्ण दायित्व वहन गरेको हुन्छ । त्यतिबेला सम्म गरिरहन्छ, जवसम्मउ आफैमा सक्षम भै सकेको हुँदैन । यस कारण अभिावक हुन बाबुआमा हुनै पर्दछ भन्ने पनि छैन । नातागोता भित्रकै हुनुपर्दछ जस्तो पनि लाग्दैन, मेरो आफ्नो विचारमा ।
यो त भयो एउटा व्यक्तिको कुरा । हामी करिब तीन करोड नेपालीहरुको घर घरमा या त अभिभावक छ या त फेरी हामी आफै कसैको अभिभावक हौ । तर कुरालाई एउटा व्यक्तिको दायराबाट अलि बृहद बनाउँ है । हामी सबै नेपाली जो नेपाल भनिएको जमिनको परिधिभित्र बसोबास गर्दछौंं । हामी सबैको अभिभावक चाहि को ? उत्तर सजिलो छ । तर राज्य भन्ने शब्द त आफैमा निर्जिव शब्द हो । किनभने राज्य भनेको त एउटा निश्चित सीमाना भित्र पर्ने जमिन न हो । त्यसो भए हामी सबैको नेपालीको अभिभावक को हो त भन्दा त्यो जसले राज्य चलाउँछ, अर्थात हाम्रो सरकार, नेपाल सरकार । यस अर्थमा नेपाल सरकारले हाम्रो आवश्यकताहरु परिपूर्ति गर्नु पर्दछ, हामीलाई सुरक्षाको प्रत्याभूति दिनु पर्दछ । हाम्रो जिम्मेवारी बहन गर्नु पर्दछ । त्यो भनि कोही कसैलाई विना भेदभाव जसरी एउटा अभिभावकले आफ्नो सन्तानको लागि गर्दछ । तर हाम्रो दुर्भाग्य भनौं या विडम्बना । नेपाल सरकार हाम्रो अभिभावक बन्न सकने ।
मैले यहाँनेर सरकार अभिभावक बन्न सकेन भन्दै गर्दा ति मित्रवर्गहरुलाई चित्त नबुझ्न पनि सक्दछ । जो सरकार चलाउने पार्टीको समर्थक हुनुहुन्छ । तर म यो लेख कुनै पनि पार्टीको आस्था र विचारको परिधिभन्दा बाहिर रहेर लेख्दैछु । म फेरी पनि दोहो¥याउँछु । सरकार हाम्रो अभिभावक बन्न सकेन । अहं सक्दै सकेन । मैले यो आरोप त्यसै लगाएको होइन । यसका पछाडी अनगिन्ती कारणहरु छन् जसमध्ये केहीको बारेमा यो लेखमा चर्चा गर्ने प्रयास गर्नेछु । पहिलो कारण सरकारले हाम्रो आवश्यताहरु पुरा गर्न सकेन । गासवास कपास शिक्षा र स्वास्थ्य जस्तो न्यूनतम अधरभूत आवश्यकतारु पनि पुरा गर्न सकेन । अब जनता भोकले मर्न पर्दैन । किनभने अब जनताको सरकार बन्छ भन्दै चुनावी मैदानमा उत्रिएको केपी ओली आज प्रधानमन्त्री छन् । कसैको घरमा दालचामल सकिए मेरो घर देखाई दिनु भन्ने हाम्रो प्रधानमन्त्री ओलीलाई आजकै मितिमा कति नेपाली भोकसंग जुधिरहेका छन भन्ने कुराको हेक्का पनि छैन होला । कति नेपालीको घामपानी, हुरी बतास त्रिपाल र जस्तापाताकै सहारामा वित्छ भन्ने पत्तो छैन होला । दूरदाराजका सरकारी विद्यालयहरु विद्यालय भवन हुन् कि गोठ या धन्सार चिन्न गाह्रो पर्दछ । शिक्षाको लागि बजेट छुट्टिन्छ दश प्रतिशत भन्दा पनि कम । त्यसमा पनि अधिकाँश त शिक्षकहरुको तलबभत्ता र प्रशासनिक काममै सकिन्छ । अनि सरकार गफ लगाउँछ, हामी प्रविधिको युवामा छौ । अब शिक्षालाई आधुनिक र प्रविधि मैत्री बनाउनु पर्दछ । काठमाण्डौंलाई हेरेर, बोलेर मात्र हुन्छ ? अहिलेको यो महामारीमा जनताहरु अक्शिन नपाएर भुतुभुतु ढलिरहेका छन् । बाँच्न्का लागि पनि विदेशीको सहयोगको आशा गरेर बस्नु पर्ने अवस्था भएको
छ । स्वास्थ्य क्षेत्रमा ब्रम्हलुट मच्चिएको छ, त्यसको पर्दाफास गर्न सामाजिक अभियान्ताहरु कस्सिनु परेको छ । सरकार मौन भएर मुकदर्शक बनिरहेको छ । तर सरकार भन्न छोड्दै न कि अनियमितता र भ्रष्ट्राचार गर्न दिन्न । अनि कसरी मान्नु, नेपाल सरकार मेरो अभिभावक हो
भनेर । जसले मलाई बाँच्न सक्ने अवस्थासम्म मिलाउँदैन ?
दोस्रो कारण सरकारले मलाई सुरक्षाको प्रत्याभूति दिन सकेन । आज पनि हातमा सीप र योग्यताको सर्टिफिकेट बोकेका लाखौं नेपाली युवाहरु या त विदेशमा पैसासंग रगत पसिना साट्दैछन् । या त डिग्री र पिआरको नाममा विदेशी भएका छन् । बचेका केही जो नेपालमै भविष्य खोज्न चाहन्छन्, बेरोजगार भएर भौतारिई रहेका छन् । खै सरकारले तिनीहरुको व्यवस्था गर्न सकेको ? कम्यूनिष्ट सरकार आएपछि पाँच लाख युवाले रोजगारी पाउँछन् भनेर गफ छाँटेर मात्र हुन्छ ? समृद्ध नेपाल, समृद्ध नेपाली कति राम्रो छ नारा । तर नारा दिएर मात्र हुन्छ ? त्यो नारा पुरा गर्नेतिर पनि सोच्नु पर्दैन ? खाली कुर्चिको जोड घटाउमा भुल्ने, आफ्नो नागरिकले दुःख पाउँदा पनि आँखा चिम्म गरेर सब ठीक भन्ने सरकारलाई मेरो अभिभावक भनेर कसरी मान्ने मैले ।
योग्यताको सर्टिफिकेटको आधारमा २५ लाखसम्म ऋण पाईन्छ भनेर बजेट भाषणमा बोलिदिएर हुन्छ सरकार ? यथार्थ के छ जान्नु पर्दैन ? सरकार २५ लाखको कुरा गर्छ, यहाँ सुन घर घडेरी धितो नराखी ऋण दिदैन बैंकले, सर्टिफिकेट धितो राखेर २५ लाख दिन्छ ? आश्वाशन पनि अलि पत्याउने खालको दिनु नि ? ल मानौं यो नीति एकदम ठीक
छ । भोलि सर्टिफिकेट धितो राखेर ऋण दिन नमान्ने बैंकलाई कारवाही गर्ने तागत छ सरकारसंग ? अनि यो केटाकेटी फकाए जस्तो, ठूलो ठूलो मिठो मिठो, गफ मात्रै लगाउने सरकारलाई कुन आधारले विश्वास गरौं अभिभावक
बनेर ।
अर्को कारण यो सरकारले भेदभाव गर्दछ, कुनै पनि अभिभावकले आफ्नो सन्तानहरुमा भेदभाव गर्दैनन् । सबैलाई समान व्यवहार गर्दछ । तर यो सरकारले सबैलाई समान व्यवहार गर्दैन । अस्ति भरखरकै कुरा गरौं, बजेट भाषण भयो, यो विषम परिस्थितिमा तलब बढ्ला नबढ्ला धेरैलाई चासोको कुरा थियो । नबढाएको भए पनि चित्त बुझाउनु पर्दथ्यो किन भने अहिले अवस्था नै त्यस्तै छ र पनि दुई हजारका दरले समान रुपमा बढायो । त्यो पनि ठीकै छ तर यति ठूलो भेदभाव
किन ? उही योग्यताको उतिनै समय काम गर्ने निजामति कर्मचारीलाई कत्रो सेवा सुविधा, शिक्षकहरुलाई बस दुई हजार ? शिक्षक, सेना प्रहरी, के यी यो देशका कर्मचारी नै होइनन् । निजामति कर्मचारी मित्रहरुलाई चित्त नबुझ्ला तर तुलनात्मक रुपमा शिक्षक, सेना, प्रहरीको भन्दा निजामति कर्मचारीको काम सजिलै हुन्छ जस्तो लाग्छ । अनि फेरी सेवा सुविधा जति सबै निजामतिलाई मात्र ? सेवा सुविधामा १९÷२० को फरक पर्नु स्वभाविक कुरा हो तर दशौं गुना फरक पारेर भेदभाव गर्ने सरकारलाई कसरी मानौं मेरो अभिभावक भनेर ? कसरी पत्याउनु सरकार सबैप्रति समान जिम्मेवार छ भनेर ?
ज्येष्ठ नागरिकहरुको सेवा सुविधामा बृद्धि भएको छ, त्यो राम्रो कुरा हो, तर बाजेको हातमा चार हजार थमाएर नातीको निधारमा बेरोजगार निकम्माको विल्ला टाँस्ने सरकारलाई मैले कसरी मान्नु मेरो अभिभावक ? आफूले कमाएर बाबुआमा पाल्नु पर्ने उमेरमा कहिले सत्तरी पुग्लान र मैनाको आठ हजार भत्ता आउला भनेर पर्खनु पर्ने भएपछि मैले अरु के आश गर्नु यो सरकारबाट ? अनि यो सरकार जो मेरो आवश्यकता पुरा गर्दैन, मलाई आश्वस्त बनाउन सक्दैन, मलाई भेदाभव गर्दछ भने मैले कसरी मान्नु मेरो अभिभावक ?
अभिभावक बन्न नसकेको सरकार
previous post