विवाह, एक सामाजिक प्रचलन, जुन हाम्रो समाजमा मात्र होइन संसारभर गरिन्छ । फरक यक्ति हो देश, समाज, संस्कृति र परम्परा अनुसार विवाह फरक फरक तरिकाले गरिन्छ । विवाह मानव जीवनको एक महत्वपूर्ण घटना हो तर महत्वपूर्ण छ भन्दैमा सबैले विवाह गर्नैपर्छ भन्ने अनिवार्य त छैन र सबैले गर्दैनन् पनि । विवाह गर्ने प्रचलन कसरी सुरुवात भयो ? आज पनि संसारभर अरबौं प्रजातिका किरा फट्याङ्ग्रा, चरा चुरुङ्गी देखि लिएर भीमकाय जीवजन्तुहरु पनि अस्तित्वमा छन् । भलै जोडी बनेर रमाउन् तर उनीहरुमा विवाहको औपचारिकता हुँदैन । चराचुरुङ्गी जीवजन्तुमा पनि कुनै आजिवन एउटै जोडीसंग रहेने प्रजाति पनि छन् कुनै मौसमी जोडी बनाउने प्रजाति पनि छन् । जोडी त मानिसले पनि बनाउँछन् । प्रकृतिको नियम अनुसार सृष्टिलाई निरन्तरता दिन वा चलाई राख्न पनि भाले जाति र पोथी जातिको जोडी नबनि हुँदैन । त्यसो भए मानिसलाई मात्र विवाह किन चाहिएको त ? के विवाह विना मानव जातिको वंशज अगाडि बढ्न सक्दैनथ्यो ? अवश्य पनि सक्थ्यो । तर मानव प्रजातिको वंशजलाई सभ्य र अनुशासनको एउटा दायरा भित्र रहेर सृष्टिलाई अगाडि बढाउने हेतुले नै विवाहको अवधारणा शुरु भएको हुनुपर्छ ।
विवाह गर्नैपर्छ भन्ने अनिवार्य छैन तर संसारमा अविवाहित मानिसहरुको संख्या अत्यन्तै थोरै छ । सिमित मात्रमा, नगन्य प्रायः । मानिसहरु प्रायः भन्ने गर्दछन् एकबारको जुनीमा वैवाहिक जीवनको अनुभव त बटुल्नु पर्छ । जीन्दगी काट्न त एक्लैभन्दा दुइ जना मिलेर नै सजिलो हुन्छ । त्यसो त दाम्पत्य जीवनको मन मुटाव र झै झगडा कलह देखेर एक्लो जीवन नै उत्तम हो भन्नेहरुको पनि आफ्नै तर्क छ । एउटा दृष्टिकोणबाट हेर्दा त्यसलाई सहि पनि भन्न सकिन्छ । तर विवााहकै कुरा गर्दै गर्दै प्रायः मलाई जिज्ञासा लागिरहने केहि प्रश्नहरु छन् ।
विवाह गर्ने उपयुक्त उमेर कुन हो ? आफु जिम्मेबार बनेपछि विवाह गर्ने हो या विवाह गरेपछ जिम्मेबार हुन सिक्ने हो ? विवाह कस्को लागि गर्ने हो ? आफ्नो या परिवारको लागि ? या दुबैको लागि ? विवाह गरेपछि श्रीमतीको अनुकुल आफु बन्ने कि आफु अनुकुलको श्रीमती बनाउने ? आफु अविवाहित भएकैले होला बेलाबखतमा यस्ता खालको प्रश्नहरुले पनि मस्तिष्कमा डेरा खोज्न आउँछन् । कहिले गम खाएर सोची पनि दिन्छु । कहिले यसै टारी पनि दिन्छु । साथीभाइ अग्रजहरुसंगको गफगाफमा पनि कहिलकाहिँ यस्ता प्रश्नहरुको उत्तर खोज्ने चेष्टा गरिदिन्छु । केहिलेकाहिँ त्यसै बित्छ ।
विवाह र यससंग सम्बन्धित कुरामा व्यक्ति पिच्छे फरक धारणा हुन्छ । उसो त देश, समाज, संस्कृति, परम्पराले पनि यसमा ठूलो प्रभाव पारेको हुन्छ । विवाह सम्बन्धि कुरा चल्दै गर्दा यहाँ एउटा अनुभव बाँड्न चाहन्छु ।
“अब त उमेर पनि ढल्किन लाग्यो , बुढो कुमार नै बस्ने हो क्या हो ? बिहे गर्ने सुरसार छैन ?” साथीभाई, इष्टमित्र, छरछिमेकीले प्रायः मलाई सोधिरहने प्रश्न । अझ अलि उमेर पुगेका बुढाबुढीको घुमाउरो सोधाई, तिम्रो घरमा एकदिन त मज्जाले नाचौंला भनेको, खोई पहिल्यै मरिन्छ क्या हो । अचम्म लाग्छ, २८÷२९ वर्षमै मानिसको उमेर ढल्कि हाल्छ र ? भन्या । अनि ती बुढाबुढी भएका छरछिमेकी बाजे बज्यै कतै मरिहाल्छन् कि भनेर मैले विहे गर्दिनु ? दिन उमेर पुगेपछि त मैले विहे गरेपनि नगरेपनि उहाँहरु जानै पर्छ । पर्दैन र ?
केही बडो अचम्मको प्रश्न गर्छन्, अब त कमाउने भइसकिस् । एउटी श्रीमती जसोतसो पालिहाल्छस् नि किन डराको विहे गर्न ? म छक्क पर्छु । यदि म कमाउन सक्ने नभएको भए त ५० कट्दासम्म पनि यिनले मलाई विहे गर नभन्दा हुन कि ? अनि फेरी मैले नै श्रीमती पाल्नु पर्छ भन्ने छ र ? मलाई पाल्न सक्ने, कमाउन सक्ने श्रीमती विहे गर्दा पनि हुँदैन र ?
अलिक उमेर कटेका बुढाबुढीहरु सम्झाउँछन् अब त उमेर पनि भयो । घाँस दाउरा मेलापात गर्न सक्ने, घर गरी खाने एउटा विहे गर । बा आमालाई दुःख भो । बुढाबुढी संग बहस गर्ने कुरा आएन । तर आजको जमानामा पनि घाँस दाउरै मात्र गर्ने, मेलापात मात्र धाउने श्रीमती विहे गरेर जीवन सहजै कट्ला त ? फेरी विहे गर्दैमा बा आमाले सुख पाउँछन् भन्ने के ग्यारेन्टी ? अचेल त छोराले बुहारी ल्याएपछि बाआमाले सुख पाएको भन्दापनि दुःख पाएको धेरै देखिन्छ ।
साथी भाइको फेरी छुट्टै गफ । उनीहरु भन्छन्, विहे त अलिअलि भएनी पढेकी, जागिरसागिर खाको केटीसंग गर्नुपर्छ । अहिलेको जमानामा घाँस दाउरै मात्र गर्ने केटी विहे गरेर काम छैन । म त्यतिखेर पनि जिल्ल पर्छु । सबैको जिन्दगी आफैले सोचेको जस्तो हुन्छ र भन्या ?
अझ पिडा त त्यतिबेला हुन्छ जब आफुभन्दा कम उमेरका कोही ससुराली जान हिड्छन् । अनि कोही माइत आउँछन् । त्यही मौका छोपेर घरभरिकाले भन्न भ्याईसक्छन्, हेर त फलानो तँ भन्दा यति वर्षले कान्छो बाऊ भैसक्यो, आमा भईसकी । हरे म भन्दा २४ वटा भोटो बढीनै फटाएका पनि विहे गर्ने बाँकी नै छन् नि, कहिलेकाँही त उनिहरुलाई पनि हेर्नु न भन्न मन लाग्छ । तर होस् भन्छु, भन्दिन ।
सबैको आ–आफ्नो बुझाई छ, आ–आफ्नै अनुभव छ । आ–आफ्नै भोगाई छ, तर्क छ । कोही बेलैमा विहे गरे आनन्द भन्छन् । कोही उमेर नपुगी विहे गर्नु हुन्न भन्छन् । अब बेलैमा भनेको कुन उमेरलाई हो ? उमेर पुग्ने भनेको कुन उमेर हो ? कोही भन्छन्, कमाउने भएपछि मात्रै विहे गर्नुपर्छ । नत्र दुःख पाईन्छ । कोही भन्छन् विहे गरेसी एउटा न एउटा बाटो लागि हाल्छ । कोही भन्छन्, घर गरी खाने विहे गर्नुपर्छ । कोही भन्छन् पढेलेखेकी जागिर खाने केटी विहे गर्नुपर्छ । कोही भन्छन्, बाबुआमालाई मायाँ गर्ने विहे गर्नुपर्छ । कोही आफुलाई माया गर्ने विहे गर्नुपर्छ भन्छन् । कोही रुप त चाहिन्छ है भन्छन् अनि कोही गुण चाहिन्छ भन्छन् । सबैको आ–आफ्नो सल्लाह छ । बेग्ला बेग्लै चाहना छ । म एउटाले विहे गरेर कति जनाको चाहना पुरा गर्नुहोला त ? विहे गरेपछि मेरो आफ्नै इच्छा चाहना पुरा हुन्छ कि हुँदैन थाहा छैन । सबैले आफ्नो इच्छा सुनाउँछन् , बुढी त यस्तो ल्याएस् है । बरु खोज्नुपरे हामी पनि खोजी दिउँला । अहो प्रभु क–कसको कुरा सुन्नु ।
५÷६ वर्षजति पहिलेको आफ्नो विहे हुनु अगाडि एकसाँझ सन्ध्याकालिन वसाईमा आफ्नो भोगाईका अनुभवहरु यसरी सुनाउँदै हुनुहुन्थ्यो एकजना अग्रज, दाइ । समय र परिस्थितीले त्यो दाइको ठाउँमा आज आफुलाई उभ्याई दिएको हो कि भन्ने महशुस हुन थालेको छ, आजभोली ।
1 comment
nice