गएको साता साथीहरु संग घुम्न जाने मौका मिल्यो । समूहमा ३० जना थियौं । कोही नाच्न गाउनमा सिपालु त कोही गफिन रमाउने खालमा । मानिस अनुसार फरक –फरक रुचि ,स्वभावका थियौं हामी । गाडीले गति लिना साथ केही साथीहरु नाच गान गर्ने तर्फ लाग्नु भयो । म लगाएत केही साथीहरु अरु नाचेको हेर्ने, अरुले गाउँदा ताली बजाएर साथ दिने र साथिहरुको गाउने अनि नाच्ने कला देखेर दंग पर्ने खालका थियौं । नाच्न वा गाउन आग्रह गर्ने साथहरुलाई ङिच्च दाँत देखाएर आफु असक्षम भएको जनाउ दिनु र कृतिमा हाँसो देखाउनु बाहेक हामी मध्येका केहीसंग अरु उपाए थिएन ।
मसंगैको सिटमा हुनुहुन्थ्यो रुद्र सर । उहाँ पनि नाच्ने गाउने कुरामा कमजोर । सामूहिक घुमघाम, तालिम वा पिकनिकका बेला जान्ने पर्नै काम लाग्छ नाच गान अनि साहित्य सृजना तर एक दुइ दिनमा सबै भुलिन्छ । अर्काे पटक पर्दा अब त केही सिक्छु भन्यो । अर्काे पटक पनि पारा त उही । यो मामलामा मैले आफुलाई कहिल्यै सुधार्न सकिन । सर पनि उस्तै । उस्तै उस्तै मिलेर जाउँ सुस्तै सुस्तै भने झै गरी हामीले आफुले आर्जन गरेको शिक्षाको व्यवहारिकता बारे परस्पर कुरा गर्न थाल्यौं । गाउँ समाजको नजरमा हामी दुवै पढेलेखेका मान्छे । अझ केही वर्ष अगाडीको कुरा गर्ने हो भने त गाउँको डाक्टर, वकिल, न्यायाधिस लगाएत सबै नै शिक्षक । एक प्रकारले भन्दा सर्वज्ञाता । तर के हामी सामजले सोचे जस्ता,े कल्पना गरेजस्तो मान्छे छौ त ? हामीले आफैलाई प्रश्न ग–यौं । तर सकारात्मक जवाफ पाएनौं । कक्षा कोठामा अगणित जिज्ञासा , प्रतिभा र क्षमता बोकेर आएका बालकालिकालाई हामी शिक्षकले किताबको किरो बनाउने बाहेका के गर्न सकेका छौं ? उनीहरुका अगणित जिज्ञासाको समाधान गर्दै उनिहरुमा निहित प्रतिभाको प्रष्फुटनमा हामीले सघाउन सकेका छौं त ? भनेर आफैलाई फेरी अर्काे प्रश्न ग–यौं । कम्तिमा हामी दुइले यसको पनि सकारात्म जवाफ पाउन सकेनौं । मेरा शिक्षक मित्र छवी आलेले भने झै पढेर डिग्री हासिल गरेको युवा भोली पल्टबाट रोजगारीको खोजीमा विदेशिने वा नेपालकै विभिन्न कार्यालय र कारखाना चाहार्ने गर्छ । अहिलेको शिक्षा प्रणालीले उत्पादन गरेको जनशक्ति यही हो । स्वरोजगारी वा स्वावलम्वनको कुनै पाठ पढाउन नसक्दा हाम्रो शिक्षा बेकम्मा बन्दै गएको छ ।
जीवन उपयोगी शिक्षा प्रदान गर्नु आजको आवश्यकता हो। बालबालिकाको सामाजिकीकरणमा सघाउनु शिक्षाको उद्देश्य हो तर होमवर्कको भारले थिचिएका अहिलेका बालबालिकालाई घर बाहिर निस्केर साथीहरु संग रमाउने खेल्ने फुर्सद नै कहाँ छ र ? हाम्रा विद्यालयहरु श्रमको सम्मान गर्ने, स्वावलम्वी बन्ने शिक्षा दिइरहेका छैनन् । अहिले माध्यमिक तहका अनिवार्य गणित र एच्छिक प्रथम विषय बाहेक अन्य ६ विषयमा २५ अंक भारको प्रयोगात्मक परीक्षा लिनु पर्ने व्यवस्था छ । तर अधिकांश विद्यालयहरु त्यो परीक्षा लिंदैनन । परीक्षाहरुमा राम्रो ग्रेड ल्याउन सहयोगी मात्र भएको प्रयोगात्मक परीक्षाको अंक । विद्यार्थीले गरेर सिक्ने मौका कमै मात्र पाएका छन् । थोरै नै सहि, तर जस्तो जनशक्ति उत्पादन गर्ने परिकल्पना शिक्षा प्रणालीले गरेको छ, विद्यालयसम्म आइपुग्दा वा विद्यालय शिक्षा पुरा गर्दा प्रणालीले कल्पना गरे विपरितको जनशक्ति पो तयार हुन्छ । प्राथमिक तहमा सिर्जनात्मक कला भन्ने विषय पठनपाठन हुन्छ । तर कक्षामा टुटेफुटेका गित गुनगुनाउने र समय व्यतित गर्ने विषयको रुपमा यसलाई कतिपय विद्यालयले लिएका देखिएको छ ।
गफकै क्रममा रुद्रसरले एउटा परिकल्पना सुनाउनु भयो । राज्यले बालबालिकाको शिक्षाको सम्पूर्ण जिम्मा लिने र आवासिय विद्यालयहरु सञ्चालन गरेर बालबालिकाको सम्पूर्ण पक्षको विकासमा सघाउने खालका क्रियाकलाप गर्दै जीवन उपयोगी शिक्षा प्रदान व्यवस्था हुन सके राम्रो हुन्थ्यो । उहाँको कल्पना थियो, एउटा बालकले नृत्य, गाएन, संगित, सामाजिकीकरण, नेतृत्व विकास, खेलकुद लगाएत सबै कुरा सिकोस विद्यालय मै । शारिरीक, मानसिक तथा संवेगात्मक विकासमा सबै अवसरहरु बालकले विद्यालयमा प्राप्त गरोस् , त्यस्ता विद्यालयहरु स्थापना गर्न पाए ? बालकमा निहित क्षमतालाई प्रस्फुटन गर्ने खालका क्रियाकलाप विद्यालयमा गर्ने व्यवस्था विद्यालमा हुन सके हातमा डिग्री उत्तिर्ण प्रमाणपत्र लिएर जागिरको खोजीमा भौतारिने अवस्थाको अन्त्य हुने थियो कि । आजको कुनै बालकले हामीले नाच्न गाउन नजानेर हिनता पाल्नु परे जस्तो कुनै कुरा नजानेर हिनता पाल्नु पर्ने अवस्थाको नआउने शिक्षा प्रणाली र विद्यालय आवश्यक हो की ?