
–करोडौं खर्चेर दमौलीमा सभाहल बन्यो । वातानुकलित उक्त हल ह्वील चियरको भरमा हिँडडुल गर्नुपर्ने व्यक्तिहरुका लागि भने कुनै संरचना बनेन । हल अपाङ्ग मैत्री नहुँदा विरोधका स्वरहरु उठन थाले र पछि त्यसलाई अपाङ्ग मैत्री बनाइयो ।
–विद्यालयहरुलाई अपाङ्ग मैत्री बनाउन भन्दै ¥याम्प सहितको भवन निर्माण गर्ने गरी सम्झौता गरेका कतिपय विद्यालयले अरु काम ठिकठाक गर्छन् तर ¥याम्प बनाउँदैनन् । तर कसरी कार्यसम्पादन प्रतिवेदन जान्छ र रकम निकासा हुन्छ ? सुल्झन नसकेको गुथ्थी भएको छ
–दमौली बजारको मुख्य सडकमा यतिबेला दुबै तर्फ दुइ मिटरको दृष्टि विहिनका लागि समेत हिँडडुल गर्न सहज हुने पैदल मार्ग (फुटपाथ) बनाइएको छ । तर व्यापारीहरुले फुटपाथ नै ओगटने गरी सामान राखिदिँदा अपाङ्गको त कुरै भएन साङ्ग समेत हिँडन अप्ठ्यारो हुने गरेको छ । अझ साँझ वा विहान सबैरै जाने हो भने फुटपाथमा दुइ पाङग्रे तथा साना चारपाङ्ग्रे सवारी पार्किङ गरिएको देख्न पाईन्छ ।
–नारायणगढ–हटौडा सडक विस्तारका लागि आगामी फागुनमा ठेक्का लाग्दैछ । यो सडक खण्ड अन्तर्गत चितवनको टिकौली जंगलमा दुइ किमि लामो फ्लाइओभर निर्माण गरिँदैछ । करिब सात अर्बको लागतमा निर्माण हुने उक्त फ्लाइओभरको माथिबाट यातायातका साधन गुड्ने तथा पैदल यात्रु ओहोर दोहोर गर्नेछन् भने तलबाट वन्यजन्तु आहोरदाहोर गर्नेछन् ।
पहिलो तीन दृष्टान्तले हामी आफुजस्तै मानिस तर फरक क्षमता भएकाहरुका प्रति कति असंवेदनशील छौं भन्ने कुराको उदाहरण हुन् । लाखौं र करोडौं खर्चेर बनाइएका सरकारी तथा गैर सरकारी संरचनालाई अपाङ्ग मैत्री बनाउनेमा हाम्रो ध्यान छैन मात्रै होइन उनीहरूको सहज र सम्मानित जीवनका प्रति हाम्रो चरम वेवास्ता दर्शाउँछ । सरकारले बनाएको अपाङ्ग मैत्री संरचनाको प्रयोगमा समेत हामीले कसरी अवरोध गरिरहेका छौं र अपाङ्गता भएकाहरूलाई सहज जीवन यापनमा कसरी व्यवधान खडा गरिरहेका छौं भन्ने कुरा तेस्रो दृष्टिान्तले बताएको छ ।
चौथो दृष्टान्त चाहिँ वन्यजन्तुको सहज जीवनका लागि अर्वाै खर्च गर्न तयार हुने हामी आफु जस्तै तर फरक क्षमता भएका मानिसको सहज जीवनका लागि संवेदनशील कहिले हुन्छौं होला ? भन्ने प्रश्न मनमा उब्जेकाले राखेको हुँ । व्यापारिक स्वार्थका लागि फुटपाथमा सामान थुपार्न छोड्ने आशाका साथ अनि भौतिक संरचना निर्माण गर्दा अपाङ्ग मैत्री बनाउनेमा हाम्रो ध्यान जाने आशामा ।
शारीरिक रुपमा अपाङ्गता भएका मािनसको सामाजिक, आर्थिक विकास र सहज जीवन यापनमा साङ्ग भनिएका अरुहरूको अपाङ्ग मानसिकताले कसरी अवरोध खडा गर्छ भन्ने कुराका उदाहरण पनि हुन भन्न मिल्छ सायद पहिलो तीन वटालाई । यि कुराहरू गर्दै गर्दा मैले तीन वर्ष अगाडी शिक्षक सेवा आयोगको परीक्षा पास गरेर आएका एक शिक्षकलाई अपाङ्ग भएकै कारण खटाइएको विद्यालयले हामीलाई अपाङ्ग शिक्षक पठाएर के काम भन्दै पालिकामा गुनासो गरेको र हाजिर गर्न आनाकानी गरेको कुरा सम्झिरहेको छु । यसले पढेलेखेका र बौद्धिक भनिएकाहरू नै अपाङ्गहरू प्रति कस्तो दृष्टि राख्छन् भन्ने प्रष्ट हुन्छ ।
कुनै न कुनै प्रकारको अपाङ्गता भएको जनसंख्याको आकार नेपालमा ठूलै रहेको छ । समाजमा उनीहरूलाई हेरिने दृष्टिकोण र संरचनागत अवरोधका कारण उनीहरूले अनेकौं समस्या भोग्नुपरेको छ । जसका केही दृष्टान्तहरु मैले माथि प्रस्तुत गरेको छु । अपाङ्गता भएकाहरुले भोग्नु पर्ने दुःखका कुरा यतिमै सीमित छैनन् । दैनिक जसो भोग्नु पर्ने समस्याहरुमा सार्वजनिक भवन, सडक, शौचालय, यातायातका साधनहरू (बस, ट्याक्सी आदि) अपाङ्गतामैत्री नहुँदा ह्वीलचेयर प्रयोगकर्ता वा अन्य शारीरिक अपाङ्गता भएका व्यक्तिलाई हिँडडुल गर्न, यात्रा गर्न वा दैनिक काम गर्न भएको कठिनाई प्रमुख रुपमा रहेको छ ।
अस्पताल र स्वास्थ्य केन्द्रहरूमा पहुँचयुक्त संरचनाको कमी, अपाङ्गतामैत्री स्वास्थ्य उपकरण र प्रशिक्षित स्वास्थ्यकर्मीहरूको अभावले गर्दा उनीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा पाउन मुस्किल परिरहेको छ । परिवारले अपाङ्गता भएका सदस्यलाई बोझ ठान्ने र उनीहरूलाई उचित स्याहारसुसार वा प्रोत्साहन नदिने समस्या त छँदैछ समाजको अपाङ्गता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोण नै भिन्दै छ । उनीहरु समाजिक गतिविधिहरुमा सहभागी हुन र आत्मसम्मानका साथ बाँच्न कठिन छ ।
विद्यालयका कुरा अगाडि पनि गरियो । थप विद्यालय तथा उच्च शिक्षा संस्थाहरूमा अपाङ्गतामैत्री कक्षाकोठा, सहायक सामग्री र विशेष आवश्यकता बुझ्ने शिक्षकको अभाव छ । रोजगारीका अवसरहरुमा सीमिततासंगै कार्यस्थहरु अपाङ्ग मैत्री नहुँदा क्षमता अनुरसार काम गर्ने र आफ्नो सक्षमता प्रर्दशन गर्ने अवसर अपाङ्गता भएकाहरुले पाएका छैनन् ।
नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण र प्रवद्र्धनका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूलाई आत्मसाथ गर्दै अपाङ्गता भएका व्यक्तिहरुका लागि विभिन्न कानुनी प्रबन्धहरु गरेको छ । नेपालको संविधान–२०७२ ले अपाङ्गताको आधारमा भेदभाव गर्न नपाइने उल्लेख गरेको छ । यसैगरी सोही संविधानमा सामाजिक न्यायको हक अन्तर्गत अपाङ्गता भएका व्यक्तिलाई शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर तथा लाभ पाउने हक हुने उल्लेख छ ।
अपाङ्गता भएका व्यक्तिका अधिकारहरूको संरक्षण, प्रवद्र्धन र उपभोगका लागि अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन बनेर कार्यान्वयनमा आएको छ । माथि उल्लेख गरिएका कानुनी र नीतिगत पहलहरूले अपाङ्गता भएका व्यक्तिको जीवनलाई सहज र सम्मानजनक बनाउन आधार प्रदान गरेका छन् । तथापि, यी कानुनहरूको प्रभावकारी कार्यान्वयन र स्थानीय तहसम्म सेवाहरूको पहुँच सुनिश्चित गर्नु नै अहिलेको मुख्य चुनौती हो । आलेखको प्रारम्भमा भएका र गरिएका गल्ती र कमजोरीहरु पुनः दोहोरिने वातावरण नबनोस् । अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको शुभकामना ।
