–चितवनमा कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसेका चिकित्सकको घरमा वडा सदस्य समेतको सल्लाहमा टोलविकास संस्थाले कोरोना प्रभावित क्षेत्र भनेर सूचना टाँस्यो । राजधानी काठमाण्डौमा डेरामा बसेका स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण हुने भन्दै घरबेटीले डेरा छोड्न दवाव दिएका समाचार हामीले सुन्दै आएका छौं ।
–कोरोना भित्रियसंगै सोको उपचारका लागि आवश्यक उपकरण र औषधी चीनबाट खरिख गर्न सरकारले ओम्नी नामको समूहलाई जिम्मा दियो । तर ओम्नीले खरिद गरेर ल्याएका उपकरण तथा औषधी बजार मुल्य भन्दा कयौ गुणा महंगा मात्र थिएनन् कतिपय उपकरण प्रयोगमा नै नआउने खालका समेत पाइए ।
– कोरोनाको उपचारमा प्रयोग हुने कतिपय औषधी भारतबाट आयात गर्ने गरिन्छ । भारतमा चार हजार आठ सय नेपाली रुपैयाँ पर्ने औषधी काठमाण्डौं आइपुग्दा ५० हजार सम्म पर्ने गरेको समाचार पनि पढ्न र सुन्न पाइएको छ ।
–स्वाव संकलन गर्ने तर पिसिआर टेष्ट नै नगरी रिपोर्ट नेगेटिभ आएको भनेर परिक्षण बापतको रमक असुल्ने धन्दा कतिपय अस्पतालहरुले गरिरहेका खबर पनि सुन्नमा आएको छ ।
– साउन ३० गते शुक्रबार विहान सिन्धुपाल्चोक जिल्लाको जुगल गापा–२, लिदीमा आएको पहिरोले ३९ जनाको ज्यान लियो । ३७ घर कहाँ थिए भन्ने नाम निशान छैन । लिदीका वासिन्दाले २०७२ को भूकम्पका कारण गाउँ माथि धाँजा फाटेर बस्न अयोग्य भएकोले बस्ती स्थानान्तरण गर्न आग्रह गर्दै संघिय सरकार, स्थानीय सरकार तथा स्थानीय प्रशासनलाई बारम्बार आग्रह गरे तर कसैले सुनेन र लिदीले त्यो दुर्नियति भोग्नु प¥यो ।
माथि उल्लेख गरिएका केही घटना विवरणले नेपाली समाज र हाम्रो सरकार कता जाँदैछ भन्ने स्पष्ट चित्र दिन्छ । चित्र त स्पष्ट छ तर सो चित्रले नेपाली समाज र सरकार जाँदै गरेको जुन मार्ग देखाएको छ त्यसले भने धेरैलाई चिन्तित तुल्याएको छ । चितवन र काठमाण्डौं लगाएतका विभिन्न ठाउँमा भएका स्वास्थ्यकर्मी माथिको दुव्र्यवहार र आफ्नो नजिक आइसोलेसन राख्न नदिन देशका विभिन्न ठाउँमा गरिएका अवरोधका घटनालाई हरौ न । आफ्नै परिवारको सदस्य वा छिमेकको दाजुभाइ वा अन्य कोही जो कोरोना संक्रमणबाट मृत्युको मुखमा छ, त्यसको उपचारमा आफुलाई समेत जोखिममा राखेर दिनरात संलग्न चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई गरिएको व्यवहार अनि आफ्नो वस्ती नजिक संक्रमितलाई राख्न नदिन गरिएको अवरोध के मानवता भित्र पर्छ ? भोली आफै वा आफ्नो परिवारको सदस्य संक्रमित हुन सक्छ र त्यतिबेला मलाई कोरोना संक्रमण हुन सक्छ त्यसैले म उपचार गर्दिन भनेर कुनै चिकित्सक वा नर्सले भन्ने अवस्था अहिले हामीले उनीहरु प्रति गरिरहेको व्यवहारले नआउला भन्न सकिन्न । हामीले त्यता तर्फ किन नसोचेको ? उनीहरुलाई हौसला दिनु साटो हामी हतोत्साही तुल्याइरहेका छौं । उपचारबाट भाग्न प्रेरित गरिरहका छौं । कोरोना संक्रमण दिन दुगुना रात चौगुना बढीरहको छ । यस्तो अवस्थामा अग्रपङ्तिमा रहेर कोरोना प्रभावितको उपचार गरिरहेका स्वास्थ्यकर्मीलाई हामीले गर्ने व्यवहार के त्यस्तै हो ?
माथि उल्लेख गरिएका दोस्रो, तस्रो र चौथो घटनाक्रमलाई हरौं । सरकारको काम भ्रष्टाचार हुन नदिनु हो । वर्तमान प्रधानमन्त्री केपी ओलीको एउटै रटान हुन्छ, म भ्रष्टाचार गर्दिन र भ्रष्टाचारीको मुख पनि हेर्दिन । चीनबाट औषधी ल्याउने क्रममा भ्रष्टाचार भएको घुमाउरो तरिकाले सरकारले स्वीकारेको छ । तर प्रधानमन्त्री कसैलाई कारवाही गदैनन् । सामान्य वजारमूल्य भन्दा कयौगुणा बढीमा औषधी खरिद गरेको बील बनाएर भ्रष्टाचार गरिएको छ । रक्सौलमा पाँचहजार रुपैया पनि नपर्ने औषधी काठमाण्डौ आइपुग्दा पचास हजार पर्ने गरेको कुराले विचौलियाको प्रभाव त देखाएको छ नै सरकारको अनुगमन संयन्त्रको समेम धज्जी उडेको छ । संगै पिसिआर परिक्षण नै नगरि नेगेटिभ रिपोर्ट दिएर पैसा असुल्ने धन्दा अस्पतालहरुमा फस्टाएको खबरले पनि सरकारको नालायकी प्रष्ट पारेको छ अनि संकटलाई कमाउने अवसरको रुपमा लिनेहरुको पशुत्वलाई पनि प्रष्ट्याएको छ । यस्तो लाग्छ, हाम्रा मन्त्री र प्रशासकहरु, ओम्नीजस्ता गु्रपहरु, विचौलिया र हाम्रा अस्पताल सञ्चालकहरु आफ्नी बृद्धा आमाले आफ्ना लागि औषधी किन्न पठाउँदा कमिसन खान्छन् अनि मृत बाबुको कात्रोमा पनि कमिसन खान्छन् । यो भन्दा मानवता स्खलित भएको अवस्था कुन देख्न र सुन्न पाइएला ?
पाँच वर्ष अगाडी नै पुनः निर्माण प्राधिकरणका प्राविधिकले लिदी बस्न अयोग्य भएको भनेर वस्ती सार्न वा सुरक्षाका अन्य उपाय अपनाउन सिफारिस गरेको थियो । स्थानीयले आफुहरु जोखिममा भएको भनेर विभिन्न निकायमा निवेदन समेत गरेको थिए र पहिरोको एक हप्ता अगाडी पनि सोही प्रकृतिको निवेदन प्रमुख जिल्ला अधिकारीलाई दिएका थिए । तर उनीहरुका कुरा कसैले सुनेन । पहिरोको जोखिमबाट बच्न नजिकैको जंगलमा गएर नबसेका पनि होइनन् तर उनीहरुलाई जिल्ला वन कार्यालयले लखेट्यो । उनीहरुका लागि जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको त्रिपाल, कम्बल लगाएतका सामग्री गापाले लग्यो तर वितरण गरेन । र लिदीका १७ परिवारका ३९ जनाले ज्यान गुमाउनु प¥यो । सरकारहरु मान्छे मरिसकेपछि राहत उपलब्ध गराउन तंछाड मछाड गर्दैरहे तर लिदीमा बाँकी रहेको आफ्ना नागरिकको समस्याको दीर्घकालिन समाधन तर्फ कुनैको ध्यान गएको पाइएको छैन ।
माथि वर्णित घटनाक्रमहरुलाई हेर्ने हो भने कसको विश्वास र भरोषामा आम नागरिक जिउने भन्ने प्रश्न उब्जेको छ ।
देशमा तीन तहका सरकार छन् तर कुनैपनि सरकार आफ्ना नागरिकका प्रति उत्तरदायी छैनन् । सबैलाई म खाउँ मै लाउँ, सुख सयल वा मोज म गरुँले गाँजेको छ । मानविय संवेदना हराएको देखिएको छ । मानवताको सर्वथा अभाव देखिएको छ । यसले हाम्रो समाज, सरकार र समाजको अभिन्न अंगको रुपमा रहका हामी नागरिक संवेदनहिन बन्दै गएको देखाएको छ । यो संवेदन हिनताले अवश्य हाम्रो भलो हुनेछैन ।
हामी कता जाँदैछौं ?
previous post