गाउँ घरमा हाम्रा हजुरबुबा तथा हजुरआमाहरु नराम्रो सपना देख्यो भने कोल्टे फेर्न, सिरानी उल्ट्याउन वा सिरानी फेर्न सुझाव दिनुहुन्छ । उहाँहरुको विश्वास छ कि कोल्टे फेर्ने, सिरानी उल्ट्याउने वा सिरानी नै फेर्ने गर्दा सपना फेरिन्छ । वास्तवमै त्यस्तो हुन्छ या हुँदैन ? दुःस्वप्न देखिरहेको एउटा मानिसले यी सबै गर्दा राम्रो सपना देख्ने गरेको छ या छैन ? यस विषयमा कसैलाई थाहा छैन । कोही आफ्ना हजुरबुबा तथा हजुरआमाको कुरामा विश्वास गरेर त्यसो गर्दा हुन् त कोही वाहियात कुरा भनेर त्यत्तिकै सुत्दा हुन् । तर कतिपय मानिसमा यो विश्वास अझै कायमै छ ।
एक महिना हुन लाग्यो, नेपालको प्रधानमन्त्रीको कुर्सीमा एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओली विराजमान छन् । यसअघि प्रधानमन्त्री भएका बखत रेल र पानी जहाजका गफ दिएर अनि भ्यूटावर बनाएर विताएका ओलीको सपना यस पटक फेरिएला कि भन्ने अपेक्षा धेरै नेपालीको
छ । अघिल्लो पटक प्रधानमन्त्री हुँदा उनको सत्ताको सिरानी माओवादी थियो । र यस पटक त्यो सिरानी बन्न आएको छ, नेपाली कांग्रेस अझ खासगरी त्यसका सभापति शेरबहादुर देउवा ।
सिरानी फेरिएको छ र जनअपेक्षा छ, ओलीका सपना पनि फेरिने छन् । भर पेट शुद्ध पानी पिउन नपाएको जनताले अब पानी जहाजको टिकट काट्न आउने हावादारी निम्तो पाउने छैनन् । कुस्मामा रेल स्टेशन बनेको र त्यहाँबाट पोखरा हुँदै राजधानी काठमाण्डौ गएको सपना बेचिने छैन ।
केही समय अगाडि युट्युवमा दिपेन्द्र के खनाल निर्देशित झण्डै दशक अगाडिको एउटा सिनेमा हेरेको थिएँ, “पशुपति प्रसाद”। मौलिक सिनेमा रहेछ । २ घण्टा १५ मिनेट ल्यापटपको स्क्रिनमा हेर्न पटक्कै अत्यास लागेन बरु समय गएको पत्तै भएन । खगेन्द्र लामिछानेकोे मुख्य भूमिकामा रहेको यो सिनेमामा उनै लामिछाने र उनका मितबाको भूमिकामा रहेका प्रकाश घिमिरे बीच मर्मस्पर्शी सम्बाद छ । सम्बाद यस्तो छ– खगेन्द्र, “मित बा मलाई २०÷३० हजार सापटी दिन सक्नुहुन्छ ?” जवाफमा प्रकाश भन्छन्, “मलाई कुबेर सम्झिस् कि क्या हो ? अहिलेसम्म जीवनमा ३ वटा हजारका नोट संगसंगै वस्न पाएका छैनन् मेरो खल्तीमा । तँ ३० हजारको कुरा गर्छस् ।”
महात्मा गान्धी भारत छोडो आन्दोलनको तयारी गर्दै
थिए । उनी देशका विभिन्न भाग घुमेर आन्दोलनमा समर्थन जुटाउने काममा लागेका थिए । सोही सन्दर्भमा उनी ग्रामिण वस्तीको एक घरमा पुगे र भित्र कोही भए बाहिर आउन आग्रह गरे । पुरानो जस्तो देखिने धोती कुर्तामा एक पुरुष निस्किए । गान्धीले परिवार सबै सदस्यसंग कुरा गर्न चाहेको बताउँदै अरुलाई पनि बाहिर बोलाउन आग्रह गरे । तर ति पुरुषले आफुहरु एकसाथ सबै बाहिर आउन नमिल्ने बताए । गान्धीको किन ? भन्ने जिज्ञासामा आफुले लगाएको धोती देखाउँदै उनले भने हामीसंग भएको यही एउटा धोती हो । यो लगाएर म बाहिर आएपछि अरु के लगाएर आउने ।
कर्णाली प्रदेशको सुख/दुःख समेटिएको आफ्नो पुस्तक “शून्यको मूल्य”मा डा. नवराज केसीले कर्णालीका विरामी र डाक्टरबीचको सम्बाद प्रस्तुत गरेका छन् । सम्बाद यस्तो छ । डाक्टरः खोकी, ज्वरो आउँदा उपचार के गर्नु हुन्छ ? जवाफमा विरामीकी अभिभावक भन्छिन्, “खोकीको के ओखती हुन्छ र ? भए बेसारपानी, नत्र तातो पानी तर खोकी निकाल्ने र खोकी फाल्ने त खोकेरै हो । जोडले खोक्ने, धेरै जोडले खोक्ने अनि आफै कम
हुन्छ । जोरो आउँदा चाहिँ कुर्ने हो । आउँछ अनि केही समयपछि आफै जान्छ ।”
यहाँ प्रस्तुत गरिएका सन्दर्भहरु चाहे सिनेमाका होउन् चाहे भारतका या कर्णालीको वास्तविकता भने आम नेपालीको हो । टाउकोमा प्रतिव्यक्ति भण्डै एक लाख ऋणको भार बोकेका नेपालीको अवस्था पशुपति प्रसादमा मित बाले भनेभन्दा भिन्न छैन । देशमा रोजगारीका अवसरहरु छैनन् । यसका कारण आम सर्वसाधारणको आम्दानीको स्रोत छैन । यस्तोमा मित बाले भने झै कुन नेपालीको खल्तीमा एकैसाथ तीनवटा हजारका नोट वस्न
पाउनु ? कोभिडको बेला अधिकांशको रोजगारी खोसियो । अर्काे रोजगारीको कुनै अवसर छैन बरु बेरोजगारी बढ्दै जाने देखिएको छ । अधिकांश नागरिक खाए मकै नखाए भोकैको अवस्थामा छन् तर हाम्रो राजनैतिक नेतृत्व यति धनाशक्त भयो कि कोभिडको ओषधी खरिदमा समेत कमिशन खोज्यो । आम मानिसका दुःखसंग उनीहरुलाई कुने सरोकार नै छैन जस्तो लाग्छ । आफ्नै दाजुभाईलाई नक्कली शरणार्थी बनाएर विदेश पठाउने र आफु कमाउने धन्दामा लाग्यो, हाम्रो नेतृत्व । एनसेल जस्ता कम्पनीले अर्वाै राजस्व नतिर्दा पनि उसको व्यवसाय बन्द भएको छैन । तर सामान्य नागरिकले त्यही कर तिर्न १÷२ दिन ढिला भयो भने पनि जरिवाना तिर्नुपर्छ नभए व्यवसाय बन्द हुन्छ । वर्षाैदेखि अर्वाै विद्युत महसुल नबुझाएका व्यापारीको लाईन काटिँदा हाम्रा नेताहरुको निद्रा हराउँछ तर सर्वसाधारणले केही दिन ढीला गर्दा जरिवाना तिर्नु पर्छ नभए उसको घरमा लाईन काटिन्छ तर कुनै नेता ति निमुखा जनताको पक्षमा बोल्ने वाला छैन । र पनि आम नेपाली क्षुब्ध छैनन् । बरु संसारकै खुसी मानिसको सूचिमा नेपाली अग्र पङ्तिमा आउँछन् । शायद आफैले मतदान गरेर पठाएको जनप्रतिनिधिले गरेको आफु प्रतिको वेवास्ता उनीहरु भुल्दा हुन ।
वास्तवमा हामीलाई खुसी हुन धेरै ठूला कुरा चाहिएकै छैन । कणालीका ति नागरिक जसको चर्चा शून्यको मूल्यमा गरिएको छ, तिनीहरु खुसी हुन ज्वरो आउँदा सिटामोल सहजै उपलब्ध भए हुन्छ । खोकीको औषधी हुन्छ भन्ने थाहा नपाएर जोडले खोकेर खोकी कम गर्ने एक मात्र उपाए जानेका उनीहरुलाई खोकी लाग्दा खाने औषधी नजिकै स्वास्थ्य संस्था स्थापना गरेर उपलब्ध गराउने हो भने उनीहरु त्यसै खुसी हुन्छन् । हामीलाई पानी जहाजको गफ चाहिएकै छैन बरु साँझ विहान शुद्ध पानी पिउन तथा नहाई धुवाइका लागि धारामा पर्याप्त पानी आउने भए पुग्छ । हिउँदभरी धुलो र वर्षा भरी हिलो भएर यात्रा गर्न असहज हुने सडक भएको हाम्रोमा रेल मार्गको सपना हामीलाई चाहिएको छैन । वस् भएका सडकहरुमा सधै यातायातका साधनहरु सहज चल्ने होउन् । घर छेउको सामुदायिक विद्यालयमा राम्रो पढाइ होस् ।
यी र यस्तै सामान्य सपना छन् हाम्रा । के भ्यूटावर, रेल, पानीजहाज आदिका सपना बेच्दै हिँडेका वर्तमान प्रधानमन्त्रीको सपना फेरिएला ? प्रश्न बाँकी नै छ । आशा गरौं , फेरिने छ ।
सिरानीसंगै फेरिएला सपना ?
previous post