व्यक्ति हत्या बन्द गर
अघिल्लो साताको मंगलबार मोरङ जिल्लाको मिक्लाजुुङ गाउँ पालिका वडा नं १ मा रहेको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको हात अगाडि बाँधिएको अवस्थामा घाँटी रेटेर हत्या गरिएको भेटियो । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका ६ जना कार्यकर्ताले उक्त दिन विहान ७ बजे उनलाई घरबाटै अपरहण गरेका थिए ६ मध्ये चारको मुखमा नकाब थियो तर दुइको मुखमा थिएन र तिनीहरु बारम्बार उनको घरमा तरकारी माग्न आइरहन्थे । आफुकहाँ निरन्तर आइरहनेहरुले आफ्नो हत्या गर्लान भन्ने शायद श्रेष्ठलाई लागको थिएन । तर हाम्रो सरलाई किन अपहरण गरको भनेर सोध्ने विद्याथीहरुलाई केही बेरमा सम्झाई बुझाइ गरेर फर्काइ दिन्छौं भनेर लगेका अपहरणकारीले करिब एक किलोमिटर पर लगेर नृशंस ढंगले हत्या गरे ।
चन्द समूहको मेची कोसी ब्युरोले हत्याको दिन साँझ विज्ञप्ति जारी गर्दै आफ्नो संगठनका नाममा सुराकी गरेको भन्दै श्रेष्ठको हत्याको जिम्मेवारी लियो । उसको दावी छ, शिक्षक श्रेष्ठको सुराकीमा कार्तिक १२ मा काशीराम घिमिरे तथा विज्ञान राई जस्ता नेताहरु समातिए ।
जिल्ला सदरमुकाम विराटनगरबाट ८६ किमि उत्तर–पूर्वको विकट गाउँमा भएको शिक्षकको हत्याले देशभरका आम नागरिकमा भयको सृजना ग¥यो । तर एउटा सहकर्मीको हत्याले न त शिक्षकका संघ÷संगठनका नेताहरुलाई छोयो न त सरकारको नेतृत्वकर्ताहरुलाई नै । सबैभन्दा दुःखद पक्ष भनेको नै यही हो ।
आफुले मागेजति चन्दा नदिएको झोंकमा सुराकीको आरोप लगाएर नरहत्या गर्ने विप्लव प्रवृत्ति जति निन्दनिय छ । एउटा सहकर्मीको हत्यामा चुप वस्ने शिक्षकका हितरक्षाका निम्ती गठन गरिएका भनिएका संघ÷संगठनको वेवास्ता पनि उत्तिकै निन्दनिय छ । श्रेष्ठको हत्याको केही दिनपछि प्रधानमन्त्री ओलीले सर्वदलिय बैठक बोलाए । आम नागरिकलाई लाग्यो,यो विषयमा पनि उक्त बैठकमा छलफल होला । तर सत्ताको झिना झम्टीमा व्यस्ता नेताहरुले त्यसलाई छलफलको विषय बनाउन आवश्यक ठानेनन् । सरकारलाई झकझक्याउने दायित्व पाएको प्रतिपक्षले पनि त्यो विषयमा आवाज उठाउन आवश्यक ठानेन ।
चन्द नै संलग्न भएको दशक लामो शसस्त्र द्वन्द्वले सिकाएको पाठ के हो भने व्यक्ति हत्या समस्यको समाधान होइन । मारकाटले समस्याको समाधान दिँदैन । तर त्यसबाट पाठ नसिकेर फेरी व्यक्ति हत्याको जुन श्रृङ्खला चन्द समूहले सुरु गर्दैछ, त्यो सबैका लागि घातक हुनेछ । यो कुनैपनि दृष्टिले न्यायिक काम होइन । म सुरक्षित छु, त्यसैले अरुका बारेमा किन बोल्ने भन्ने ढंगको शिक्षकका संघ÷संगठनको क्रियाकलाप र चन्द समूहको व्यक्ति हत्याको श्रृङ्खला तुरुन्त बन्द होस् ।