व्यास नगरपालिकाले गतसाता अर्थात माघको १७ र १८ गते विद्यार्थी प्रतिभा पहिचान कार्यक्रमको आयोजना ग¥यो । निर्मल माध्यमिक विद्यलयको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा व्यास नपा भित्रका २३ विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाए ।
विद्यार्थीमा रहेका अंकगणित जिज्ञासाको समाधान दिने जिम्मा विद्यालय र शिक्षकको हो भने उनीहरुमा रहेको प्रतिभा प्रस्फुटन हुने वातावरण तयार गर्ने तथा उनीहरुमा निहित जीवन निर्वाह सिप तथा जीवन उपयोगी सिपको विकास हुने अवसर प्रदान गर्ने काम अभिभावक, विद्यालय, शिक्षक र सरकारको हो । यही तथ्यलाई मनन गर्दै व्यास नपाले विद्यार्थीमा निहित प्रतिभा प्रस्तुत गर्ने अवसरको सृजना गरेको थियो । र धेरै विद्यार्थीले त्यसलाई आफुमा निहित क्षमता निखार्ने अवसरको रुपमा प्रयोग गरे ।
माघ १७ र १८ को निर्मल मावि प्राङ्गणको वातावरण भिन्न थियो । विद्यार्थीहरु आफुले बनाएका सामाजिक, अंग्रेजी, गणित, विज्ञान तथा नेपाली विषय क्षेत्रसंग सम्बन्धित समाग्रीहरु प्रदर्शन गरिरहेका थिए । उनीहरु प्रदर्शनी हेर्न आउनेहरुलाई ती समाग्री बनाउने तरिका बताउँदै मात्र थिएनन् बरु कतिपय समाग्री बनाएरै देखाइरहेका थिए । समाग्री कसरी बनाउने, त्यसको प्रयोग कसरी गर्ने आदि विषयमा उनीहरुले दर्शकलाई सक्रियाता पूर्वक बताइरहेका देखिन्थे । कोही गुन्द्री बुन्दै त कोही चिटिक्क परेका ढकिया । कोही चकटी बुनी रहेका देखिन्थे भने कोही बाती कात्न व्यस्त अनि कोही टपरी लगाउन । जीवन निर्वाहका अनेकौं सिपको प्रदर्शन देख्दा लाग्थ्यो, कुनै न कुनै सिप नभएको विद्यार्थी कोही छैन । केवल हामीले उनीहरुलाई उपयुक्त वातावरण दिएर सिप प्रदर्शनको अवसर दिनु छ ।
व्यास नपाले यो प्रयत्न स्तुत्य प्रयत्न हो भन्न हिचकिचाउनु पर्ने छैन । भिन्न विद्यार्थीका भिन्न रुचि र क्षमता हुन्छन् भन्ने सत्यलाई स्वीकारेर भएको थालनी अत्यन्त सकारात्मक छ । आगामी दिनमा पनि यस्ता कार्यले निरन्तरता पाओस् । विद्यार्थीहरुले आफुमा निहित प्रतिभा प्रस्तुत गर्ने अवसरको सृजना नपाले गरोस् र उनीहरुलाई प्रोत्साहित गर्ने कार्यपनि जारी राखोस् । यसो भएमा रोजगारीकालागि भौँतारिने युवाको सँख्या कम हुँदै जानेछ । यसले आर्थिक तथा समाजिक क्षेत्रमा सकारात्मक सन्देश जानेछ ।
व्यासको सकारात्मक थालनी-सम्पादकीय
previous post